बाबुरामकै कारण मुद्दा खेपेका एक कार्यकर्ता भन्छन्, ‘बाबुरामले धोका दिए’
बाबुरामले पार्टी छाडेपछि जिल्लाबासी समर्थक असन्तुष्ट
गोरखा – बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी परित्याग गरेको गोर्खा, बोर्लाङका नारायण श्रेष्ठलाई मन परेको छैन । संविधानसभाको दोस्रो निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट भट्टराईलाई जिताउन बुथ क्याप्चर गरेको आरोपमा मुद्दासमेत खेपेका श्रेष्ठ भन्छन्,‘बाबुरामले निर्वाचन क्षेत्र, गोरखा जिल्लाका लागि मात्रै नभएर देशकै लागि ठूलो धोका दिनुभयो ।’
संविधान बनेपछि जनताले खुसीयाली मनाइरहेका बेला पार्टी फुटाएर भट्टराईले आन्दोलनकारीलाई फाइदा पुग्ने काम गरेको उनले आरोप लगाए । ‘भारतले नाकाबन्दी गरेका बेला आमजनताको पक्षमा लड्नुको साटो भारतलाई सघाउन पार्टी छाडेको जस्तो देखियो,’ उनले भने,‘जनताको लागि यो अहिलेसम्मकै ठूलो धोका हो । भुलेर पनि गर्न नहुने काम भयो ।’
गोरखा नगरपालिका २ का रामबाबु श्रेष्ठले भट्टराईले पार्टी छाडेको सुनेर छक्क परेको बताए । ‘उहाँले पार्टी छाडेको खबर फेसबुकबाट थाहा पाएँ । फुटेर सफल भएको उदाहरण छैन । यो गल्ती भो ।’ श्रेष्ठ भट्टराईका समर्थक हुन् । माओवादी नेता भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेपछि उनका जिल्लाबासी समर्थक असन्तुष्ट बनेका छन् । केही त आक्रोशित नै भए । उनलाई व्यक्तिगत रुपमा राम्रो ठान्ने सर्वसाधारण, समर्थकले भट्टराईले गम्भीर गल्ती गरेर जनतालाई धोका दिएको प्रतिक्रिया दिएका छन् ।
ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ आन्दोलन चर्किरहेका बेला पार्टी फुटाउनु राम्रो नभएको बताउँछन् । उनी भट्टराईलाई कुशल राजनीतिज्ञ मान्थे । ‘समस्या आन्तरिक रुपमा समाधान गरेको भए राम्रो हुन्थ्यो । संविधान जारी भएर आन्दोलन चर्किरहेका बेला त्यति उचित भएन । यो जनताको पक्षमा देखिएन,’ उनले भने ।
एमाओवादी जिल्ला सदस्य अकुर तिमिल्सिनाले भट्टराईले कसैको उक्साहटमा पार्टी फुटाएको तर्क गरे । आजको नागरिक दैनिकमा खबर छ ।
