प्रचण्डले टुँडिखेलबाट भारतलाई भने, हामी मित्र हौं तर गुलाम हुन सक्दैनौं
२०७२ आस्विन ४ सोमबार
काठमाडौ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको अभिन्न मित्र भए पनि नेपाल भारतको गुलाम (एसमेन) हुन नसक्ने बताएका छन् ।
नयाँ संविधान जारी भएपछि टुँडिखेलमा आयोजित विजयसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हामी भारतको सच्चा मित्र हौं तर मित्र हुँदैमा उसको एसमेन हुनसक्दैनौं । उनले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताउँदै भने, हामी मित्रका जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं तर उसले पनि हाम्रा जायज चासो, चिन्ता र आवश्यकतालाई सहयोग गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।
तराई मधेसका अधिकांश माग र मुद्दाहरु सम्बोधन भइसकेकोले अब आन्दोलन छोडेर असन्तुष्टहरु वार्तामा आउनुपर्ने बताए । अधिकांश सम्बोधन नयाँ संविधान नेपालको राजनीतिक इतिहासकै सर्वाधिक महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् । उनले भने, तराई मधेसमा उठेका नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका धेरै माग सम्बोधन भइसकेका छन् । सिमांकनमा केही समस्या भए वार्तामा बसेर सम्बोधन गर्न तयार रहेको प्रतिवद्धता तीन दलबाट लिखित रुपमा आइसकेको छ । त्यसैले अब आन्दोलन आवश्यक छैन ।
उनले नेपाली जनताको निकै लामो संघर्ष, महान् बलिदानी र संघर्षपछि संविधान संभव भएको बताए उनले उन्नत लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी प्रतिनिधित्वको प्रणाली नै नयाँ संविधानको विशेषता रहेको उल्लेख गर्दै भने, हामीले नमूना संविधान बनाएका छौं। हामी सबैले गर्व गर्नुपर्दछ । उनले नेपाली स्वाभिमान र आत्मसम्मानको शानदार विजय भएको बताउँदै भने, यो शानलाई जोगाउन हामी सबै जुट्नुपर्छ ।
उनले तीन प्रमुख दल एक ठाउँमा आएपछि संविधान निर्माण सफल भएको बताउँदै भने, कुनै दल विशेषको चाहना, एजेन्डाअनुसार संविधान आएको होइन। सम्झौता र समझदारीमा यो संविधान आएको छ ।
annapurnapost
