आन्दोलनकारीलाई भारतीय उद्योगपतिको भोज !
असोज ९ | अमित अग्रवाल
वीरगञ्ज– सीमांकन र नयाँ संविधानको विरोध गर्दै आन्दोलनमा रहेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई भारतीय उद्योगीले खाना खुवाएका छन् ।
मधेस आन्दोलनमा भारतको सहयोग रहेको भन्ने आरोप लागिरहेको बेला वीरगञ्ज– रक्सौलको दशगजा क्षेत्रको मितेरी पुलमा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुलाई रक्सौलका उद्योगी महेश अग्रवालले शनिबार खाना खुवाएका हुन् ।
नेपालमा भूकम्प आएको वेला भाारतीय सीमा सुरक्षा बलले रक्सौलमा चलाएको शिविरमै उनले आन्दोलनकारीहरुको लागि खानाको मेस चलाएका छन् । खानाका लागि रक्सौलका स्थानीयले चन्दा समेत उठाएर सहयोग गरेको बताइएको छ ।
आन्दोलनकारीको लागि खानाको तयारी गर्दै गर्दा अग्रवालले मधेस आन्दोलनप्रति सीमावर्ती भारतीय जनताको सहयोग रहेको बताए । उनले भने, ‘आन्दोलनमा हामीहरुको पूर्ण समर्थन छ ।’
सीमावर्ती क्षेत्रमा रोटीबेटीको सम्बन्ध भएको स्मरण गराउदै उनले आफूहरुले सोहि आधारमा आन्दोलनकारीको सेवा गरेको अग्रवालले बताए ।
सीमामा आन्दोलन चलेसम्म मेस चलाइराख्ने समेत अग्रवालको भनाइ रहेको थियो ।
सो मेसमा आन्दोलनकारी नेता कार्यकर्ता सबैले सँगै खाने गरेका छन् ।
यसैबीच मधेशी मोर्चाका नेता शिव पटेलले भारतसंग आफूहरुको रोटी बेटीको सम्वन्ध रहेकै आधारमा आन्दोलनलाई भारतिय व्यापारीसहितका नागरिकले समर्थन जनाउदै खानाको व्यवस्था मिलाएको बताए ।
यसैबीच वीरगंज रक्सौल नाकामा रहेको मितेरी पुल स्थित दशगजा क्षेत्रमा मधेशी दलका नेता कार्यकर्ताहरुको धर्ना आज पनि जारी रहेको छ ।
मितेरी पुल स्थित दशगजा क्षेत्रमा शनिबार नेकपा माओवादीका संयोजक मातृका यादव, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरु शुक्रबार पनि धर्नामा बसेका छन् ।
ratopati
