भारतले विज्ञप्ति निकाल्नु गलत : तीन दल


गोविन्द परियार |

काठमाडौं: प्रमुख तीन दलका शीर्ष नेताले तराईमा जारी आन्दोलनलाई लिएर भारतले नाकाबन्दी लगाउने मनशायसहित सोमबार जारी गरेको विज्ञप्ति अनुपयुक्त भएको निष्कर्ष निकालेका छन् ।

भारतको विदेश मन्त्रालयले नेपालको तराईमा जारी आन्दोलनका कारण सुरक्षा खतरा भएको भन्दै नेपाल भित्रिने मालवाहक सवारीसाधनको आवतजावत राक्ने चेतावनीसहित सोमबार विज्ञप्ति जारी गरेको थियो । सोहीअनुसार मंगलबार बिहानैदेखि सवारीसाधन नाकामा रोकिएका थिए भने अपराह्न मात्रै खुला गरिएको थियो ।

प्रधानन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकले भारतीय विज्ञप्तिको खण्डन गरेको हो । ‘


भारतले सोमबार जारी गरेको विज्ञप्ति उपयुक्त होइन भन्ने बैठकको निष्कर्ष हो,’ बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘विज्ञप्तिमा नाकाबन्दी गर्ने भनेको त होइन तर पनि उपयुक्त छैन भन्ने हाम्रो निष्कर्ष हो ।’

बैठकले नेपालमा जारी संविधानलगायतका विषयमा कूटनीतिक पहल गरेर अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने निर्णय पनि गरेको छ । कतिपय मुलुकले संविधान निर्माणमा देखाएको असहमतिलाई ध्यानमा राख्दै तीन दलले त्यस्तो निर्णय गरेका हुन् । ‘संविधान जारी भएपछिको समग्र परिस्थितिको समीक्षा गरी कूटनीतिक पहलमार्फत सबैलाई वास्तविकता जानकारी गराउने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भने ।

बैठकले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्न मधेसी दलहरूसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा मंगलबार बिहान तीन शीर्ष नेताले तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरूसँग भएको वार्ताका बारेमा पनि जानकारी गराइएको थियो ।


स्रोतका अनुसार तीन दलले छिट्टै संविधानको पहिलो संशोधन गरेर भए पनि मधेसमा जारी आन्दोलन अन्त्य गर्न तयार हुनुपर्ने निचोड निकालेका छन् । मधेसी दलहरूले प्रदेशहरूको सीमांकनमा गम्भीर असहमति राख्दै आएका छन् । सीमांकनमा देखिएको विवादका कारण मधेस केन्द्रित कुनै पनि दलले संविधानमा हस्ताक्षर नगरी आन्दोलन जारी राखेका हुन् ।

यसैबीच राष्टपति डा. रामवरण यादवले पनि तराईमा जारी आन्दोलनलाई तत्काल वार्ताबाट समाधान गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका छन् । प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न मंगलबार शीतल निवास पुगेका थिए । ‘तराईमा जारी आन्दोलन वार्तामार्फत तत्काल समाधान गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने ।

राष्टपतिले आफू निर्धक्कसँग आफ्नो घर जनकपुर जान सक्ने वातावरण बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । राष्ट्रपतिसँग भेट भएलगत्तै प्रधानमन्त्रीले मधेसी दलका नेताहरूलाई भेटेका हुन् ।annapurnapost

,

news and entertainment