अन्ततः चीनसँग जोडिएको तातोपानी नाका खुल्यो, चिनियाँ सामग्री नेपाल आउँदै
– रामसुन्दर आचार्य
तातोपानी, १५ असोज । लामो प्रयासपछि अन्ततः चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।
भूकम्पपछिको पहिरोका कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका शुक्रबारबाट सञ्चालनमा आएको हो । सिन्धुपाल्चोकको बाह्बिसेदेखि मितेरी पुल सम्मको २९ किलोमिटर लामो कोदारी सडकमा रहेको करिब ८० प्रतिशत पहिरो हटाइएपछि नाका खुलेको हो ।
नाका खुलेपछि बाह्बिसेदेखि मितेरी पुलसम्मको यातायात सूचारु भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रामहरी पोखरेलले उक्त सडकमा हाल ठूला गाडि एकतर्फी चल्ने र साना गाडी दुईतर्फी नै चल्ने जानकारी दिनुभयो ।
फाइल तस्वीर
भन्सार कार्यालयका अनुसार शनिबार विहानैदेखि चीनले मालबाहक सवारी नेपाल पठाउने जानकारी गराएको छ । तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो ।
यस्तै, तातोपानी नाका खोल्न विहीबार मात्रै नेकपा एमालेको विद्यार्थी सँगठन अनेरास्ववियुको टोली तातोपानी आएको थियो । सय जनाको समुहमा आएका अनेरास्ववियुका विद्यार्थी टोलीको कडा श्रमदानमा तातोपानी खुलेको हो ।
तातोपानी नाका खुलेपछि विद्यार्थी आजै राति काठमाडौं फर्किएको छ । अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले तातोपानी नाका खुलाएर आफूहरु काठमाडौं फर्किएको जानकारी दिनुभयो ।
