'पाइलट पनि बाँच्ने थिए!'

नेपालगन्ज- सरकारले आर्थिक वर्ष २०६१/६२ मा सुर्खेत, वीरेन्द्रनगर–११ मा स्थानीयको ५ बिघा १५ कट्ठा जग्गा अधिग्रहण गर्योा। उद्देश्य थियो– नेपाली सेनाको हवाई बाहिनीअन्तर्गत स्टेसन राख्ने।


भारत सरकारको सहयोगमा स्थापना हुने भनिएको उक्त स्टेसनस्थलको २०६६ पुस पहिलो साता तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले अवलोकन गरिन्। तर, एक दशक बित्दासम्म पनि उक्त स्टेसन बनेन। नेपाली सेनाका अधिकारी भन्छन्, 'स्टेसन बनाउन सरकारले सहयोग गरेको भए यस क्षेत्रमा हुने हवाई तथा सडक दुर्घटना र अन्य विपत्का बेला सजिलै उद्धार गर्न सकिन्थ्यो।'

शुक्रबार काष्ठमण्डप एयरको जहाज दुर्घटनापछि उक्त स्टेसनको आवश्यकता अझ खट्कियो। दिउँसो १२ बजेर ५० मिनेट जाँदा कालिकोट, चिल्खायाँमा जहाज दुर्घटनाग्रस्त भएको हो। घटनामा चालक र सहचालकले ज्यान गुमाए। स्थानीय स्वास्थ्यकर्मीका अनुसार सहचालक सन्तोष रानाको घटनास्थलमै र चालक दिनेश न्यौपानेको करिब साढे दुई घन्टापछि उपचारक्रममा मृत्यु भएको हो। 'समयमै उहाँलाई ठाउँमा पुर्या।उन सकिएको भए बचाउन सकिन्थ्यो,' स्थानीय स्वास्थ्यचौकी इन्चार्ज किशोर श्रेष्ठले भने, 'हामीले यहाँ उपलब्ध सबै उपचार पद्धति प्रयोग गरे पनि बचाउन सकेनौं।'

उनको भनाइले सुर्खेतमा सेनाको हवाई स्टेसन प्रयोगमा आएको भए न्यौपानेलाई सजिलै बचाउन सकिने आधार दर्साउँछ। मध्यपश्चिम पृतनापति सहायक रथी शेखरसिंह बस्नेतका अनुसार घटनालगत्तै सेनाले हवाई माध्यमबाट घाइतेको उद्धार गर्न काठमाडौंमा रहेको हेलिकोप्टर पठाएको थियो। तर, उक्त हेलिकोप्टर भैरहवाको आकाश आइपुग्दा त्यसभन्दा छिटो मुगु, गमगढीस्थित श्री एयरको हेलिकोप्टर घटनास्थल पुग्न सक्यो। 'आखिर जो छिटो पुगे पनि उद्धार गर्ने काम नै त हो,' पृतनापति बस्नेतले भने, 'त्यसपछि हाम्रो हेलिकोप्टर त्यहीँबाट काठमाडौं फिर्ता हुने भयो।'

सुर्खेतमा स्टेसन तयार हुन्थ्यो त त्यहाँबाट निकै छिटो उद्धार गर्न सकिन्थ्यो।

सेनाको ११ नम्बर (हवाई) बाहिनीले विशेष गरी तत्कालीन सशस्त्र द्वन्द्वलाई ध्यानमा राखी हवाई स्टेसन राख्ने प्रक्रिया सुरु गरेको थियो। अहिले उक्त ठाउँमा वाहिनीको एउटा सानो युनिट छ, हवाई अपरेसन भने काठमाडौंबाटै हुन्छ। 'दरबन्दी स्थापना गरेर स्टेसन राख्ने प्रक्रिया केही हदसम्म अघि बढिसकेको थियो,' युनिटसँग आबद्ध एक सैनिक अधिकृतले भने, 'तर, सरकारले सहयोग नगर्दा त्यत्तिकै रोकिएको छ।' स्टेसन सञ्चालनमा आएपछि हेलिकोप्टर र आवश्यक जनशक्ति रहने भएकाले यसखाले दुर्घटना र विपत्मा निकै सहयोग मिल्ने उनले बताए।

मध्यपश्चिमको हवाई क्षेत्रमा निकै अनुभवी मानिने सिमि्रक एयरका कर्मचारी कमल गौतम पनि पश्चिम भेगमा हुने दुर्घटना तथा विपत्लाई ध्यानमा राखी सुर्खेतस्थित नेपाली सेनाको स्टेसन कार्यान्वयनमा ल्याउनु जरुरी ठान्छन्। उनका अनुसार सुर्खेतमा यस्तो स्टेसन रहेको भए शुक्रबारको दुर्घटनामा ढिलोमा एक घन्टामै घाइतेको उद्धार गर्न सकिन्थ्यो। 'हेलिकोप्टर काठमाडौंबाट यहाँ आउनै करिब दुई घन्टा लाग्छ,' उनले भने, 'यहीँ हेलिकोप्टर भइदिए त्यो समय बचत हुन्थ्यो।'

भाग्यले साथ दिएन

समयमै उद्धार भइदिएको भए शुक्रबारको दुर्घटनामा घाइते पाइलटको ज्यान जोगिने सम्भावना थियो। श्री एयरको हेलिकोप्टर दुई दिनदेखि मुगु (ताल्चा विमानस्थल) मा रहेकाले तत्काल करिब १५ मिनेट दुरीको कालिकोट, चिलखायाँ पठाउन सकिन्थ्यो। तर, दुर्भाग्य! उनी राराताल घुम्न गएका रहेछन्। 'उनीहरूलाई खबर गरेर हेलिकोप्टर राखिएको ताल्चा विमानस्थल पुग्दासम्म निकै ढिलो भइसकेको थियो, यहीँनेर दुर्भाग्य भइदियो,' उद्धारमा खटिएका एक उडान कर्मचारीले भने, 'सेना र प्रहरी पनि श्री एयर हेलिकोप्टरको भर पर्दा यस्तो अवस्था आयो।'

घटनास्थलमा सुरक्षाकर्मी पनि निकै ढिलो पुगे। कालिकोट, पादमबाघाट प्रहरीचौकीबाट तीन घन्टापछि सईको कमान्डमा प्रहरी पुग्यो, त्यसको एक घन्टापछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर तेज जोराको टोली पुग्यो। त्यति बेलासम्म घाइते पाइलटको निधन भइसकेको थियो। 'हामी सकेजति छिटो आएका हौं,' इन्स्पेक्टर जोराले नागरिकसँग भने, 'हेलिकोप्टर नै ढिलो आएपछि समस्या भयो।'

असुरक्षित सिंगल इन्जिन जहाज!

एयर काष्ठमण्डपको जहाज दुर्घटनापछि सिंगल इन्जिनवाला जहाजमाथि गम्भीर प्रश्न उठेको छ। शुक्रबार पश्चिम क्षेत्रको मौसम सफा रहेकाले दुर्घटनाको कारण इन्जिनमा खराबी (प्राविधिक) हुन सक्ने अड्कल हवाई क्षेत्रसँग सम्बन्धितले गरेका छन्।

घाइतेका अनुसार उडिरहेको जहाजमा एक्कासि खराबी आएपछि यात्रुबीच रुवाबासी चलेको थियो। तर, पाइलट न्यौपानेले 'नआत्तिनुस्, म बचाउँछु' भन्दै सान्त्वना दिएका थिए। सोही क्रममा न्यौपानेले सुरक्षित अवतरणका लागि चिलखायाँको खेत भएको समथर ठाउँमा 'फोर्स ल्यान्डिङ' गराएका थिए। यस क्षेत्रसँग जानकारका अनुसार डबल इन्जिनवाला जहाजमा एउटा इन्जिनमा खराबी आए पनि अर्कोको सहायतामा अवतरण गराउन सकिन्छ। तर, सिंगल इन्जिनवालामा यस्तो विकल्प हुँदैन। 'चालक दलले खराबी आउनेबित्तिकै आपत्कालीन अवस्थामा गर्नुपर्ने सबै उपाय अवलम्बन गरेको देखिन्छ,' एयर काष्ठमण्डपका एक कर्मचारीले भने, 'तर, भूगोल प्रतिकूल हुँदा यात्रुलाई बचाए पनि आफू बाँच्न सक्नुभएन।'

नेपालगन्ज र सुर्खेतबाट गोमा, मकालु र एयर काष्ठमण्डपका सिंगल इन्जिन जहाज कर्णालीमा उडान भर्छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै सिंगल इन्जिन भएका जहाजलाई यात्रु बोक्न रोक लगाएको थियो। तर, यी तीनवटै कम्पनीका जहाजले निर्धक्कसँग यात्रु बोकिरहेका छन्।
nagariknews

,

news and entertainment