समाजमा बहिष्कृत कार्यकर्तामाझ सधैँ लोकप्रिय
दाङः २०७० साल असोज २३ गते खुमबहादुर खड्का १३ महिनाको जेल सजाय भुक्तान गरेर बाहिर निस्किँदै थिए । अघिल्लो दिन नै उनको गृहजिल्ला दाङबाट २२ वटा बसमा खचाखच कार्यकर्ता काठमाडौं गुडे, उनलाई स्वागत गर्न ।
अहिले पनि उनी जिल्लामा आउँदा चारपाँचवटा गाडीमा सशस्त्र अनि नेपाल प्रहरीले ‘स्कर्टिङ’ गर्नुपर्छ । उनी चढेको गाडी अघिपछि चारपाँच मोटरसाइकलमा युवाहरु हुँइकिनुपर्छ । प्रधानमन्त्री आउँदा पनि त्यत्तिधेरै प्रहरी देखिँदैनन्, यहाँ ।
‘नत्र दाइले गाली गर्नुहुन्छ’, उनीनिकट एक कांग्रेस कार्यकर्ता भन्छन् ‘गाडीमा चढेको बेला पनि उहाँले उठेर अघिपछि हेर्नुहुन्छ कति मान्छे छन् भनेर ।’ सत्तामा होस् वा बाहिर । राजनीतिमा होस्, या भ्रष्टाचारको आरोपमा जेल परेका बेला उनलाई कहिल्यै कार्यकर्ताले छोडेनन् । १३ महिना जेल बसेका उनलाई एक लाख २३ हजार कार्यकर्ताले भेटेका थिए ।
भ्रष्टाचारको आरोपमा १३ महिना जेल सजाय भोगिसकेका खुमबहादुर खड्का कांग्रेसको तेह्रौं महाधिवेशनबाट उनी धेरै मत पाउनेमध्ये दोस्रोमा छन् । पहिलो नम्बरमा केन्द्रीय सदस्य जितेका शेखर कोइरालासँग उनको मतको निकै ‘टक्कर’ पनि देखियो । अनि सामाजिक सञ्जालहरुमा टिप्पणीका ओइरो लागे ‘गगनहरुलाई हराएर, खुमबहादुरलाई जिताउने कांग्रेसीजनबाट जनताले के आशा गर्ने ?’
उनका कार्यकर्ता मान्दैनन् । न उनीमाथि लागेको भ्रष्टाचारको आरोपलाई कार्यकर्ताले स्विकार गरे न त उनलाई मान्न नै छोडे । उनीनिकट कार्यकर्ताहरु खड्का जस्तोसुकै अवस्थामा हुँदा पनि पछि हटेनन् ।
‘उहाँजस्तो नेता त अब दाङले त जन्माउनै सक्दैन, कांग्रेसमात्रै होइन, कुनै पनि दलका नेता अब खुमबहादुर हुनसक्दैनन्’ उनी निकट कार्यकर्ता दाङ क्षेत्र नं.३ का सभापति भूपबहादुर डाँगी भन्छन् ‘उहाँले भ्रष्टाचार गर्नुभएको होइन, हरेक विकास निर्माणका कामबाट स्वतः आउने कमिशनले कार्यकर्तालाई पाल्नुभएको हो ।’
उनीजस्ता धेरै कार्यकर्ताहरुको अहिले एउटै भनाई छ, ‘खुमबहादुरले भ्रष्टाचार गरेका होइन, सबै कार्यकर्ताको संरक्षणमा पैसा सकेका हुन् ।’ र, उनीहरुको ‘बुझाई छ अब कांग्रेसमा धेरै उदाई सकेका नेतालाई कसरी पछाडि पार्ने भनेर कांग्रेसभित्रैबाट षड्यन्त्र भएर उनलाई भ्रष्टाचारको आरोप लगाइएको हो ।’ खड्का धेरै पटक मन्त्री भए । गृहमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री जस्ता धेरै शक्तिशाली पदमा पनि पुगे ।
र, त्यही बेला जिल्लामा धेरै विकास पनि गरे । जिल्लाको सबैभन्दा बिकट गाविस मानिने गोल्टाकुरीमा उनी भएकै बेलामा बिजुली बल्यो । तर, सुगम बस्तीहरु अझैँसम्म अँध्यारै छन् । जिल्लामा धेरै ठूला पुल–पुलेसा अनि बाटोघाटो पनि उनकै पालामा बनेका छन् ।
र त, उनका कार्यकर्ताको बुझाई छ ‘उहाँले दाङमा मात्रै होइन, आफूमन्त्री हुँदा देशका धेरै ठाउँमा धेरै विकास गर्नुभयो’ अझ डाँगी त भन्छन् ‘त्यो बेला जस्तो षड्यन्त्र गरेर उहाँलाई फसाइएपनि त्यो झुटो थियो, र अहिले उहाँलाई कार्यकर्ताले फेरि सम्मान फर्काएका छन् भन्ने कुरा उहाँको जित अनि लोकप्रियताले पनि देखाएको छ ।’
राजनीतिमा प्रवेश गर्दा नै खुमबहादुर धेरै चतुर पनि थिए । यताउता गर्दै उनी विषेश्वरप्रसाद कोइरालाका निकट पनि भए । कांग्रेसले सशस्त्र क्रान्ति थाल्दा त उनी बिपीका ‘अंगरक्षक’कै रुपमा थिए । भारतबाट मेलमिलापको नीति लिएर नेपाल फर्किने बेलामा उनी पनि बिपीसँगै आएका थिए ।
कुनै बेला नेपाली राजनीति, नेपाली कांग्रेसमा ‘खुमबहादुर खड्का’ नामै पर्याप्त थियो । पार्टी र राष्ट्रिय राजनीतिमा उनले त्यत्तिकै प्रभाव राख्थे । राजा ज्ञानेन्द्रको शासनकालमा भ्रष्टाचार मुद्दा लागेपछि भने उनको राजनीतिक ‘क्रेज’ सामाजिकरुपमा घट्दै गयो ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भएपछि उनी अझ सेलाए । त्यो बेला दाङको देउखुरीमा उनलाई स्कर्टिङ गर्न लागेको सशस्त्र प्रहरीले गोली हानेपछि ६ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । त्यसको आरोप पनि उनैलाई थियो । त्यसैदिन उनले उमेदवारी फिर्ता लिएको घोषणा गरे । तर, पनि चुनाव भयो । उनको हार भयो ।
अनि २०६९ सालमा सर्वाेच्चले भ्रष्टाचार गरेको ठहर गरी उनलाई जेल सजाय सुनाएपछि त पार्टीमा पनि उनको हैसियत लगभग सकिइसकेको थियो । कानुनी प्रावधानले उनी आम चुनावसमेत लड्न नपाउने भए ।
यसरी राजनीतिक अनि सामाजिकरुपमा उनी पछि परे । भ्रष्टाचारको आरोपमा करिब १३ महिना जेल बसेर निस्किएपछि उनले ‘हिन्दु राष्ट्र घोषणाको अभियान’ चलाएर फेरि कार्यकर्ता संगठित गरे । अहिले कांग्रेसभित्र देउवाको ‘क्याम्प’ मा शक्तिशाली मानिने उनले १३ औं महाधिवेशनमा पनि लोकप्रिय मतका साथ केन्द्रीय सदस्य जिते ।
annapurnapost
भ्रष्टाचारले ओरालो झरेका खुमबहादुर फेरि उकालोमा
news and entertainment
