नेपाल–चीन सम्झौताले भारत चिन्तित, भारतीय अखबारमा देखियो चिन्ता
काठमाडौं, चैत ९ । नेपाल र चीनबीच भएको १० बुँदे समझदारीका बारेमा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै चर्चा भइरहेको छ । भारतले नेपाल र चीनबीचका सम्झौता र त्यसबाट हुने प्रभावलाई नजिकबाट आँकलन गर्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सोमबार नेपाल र चीनबीच विभिन्न १० बुँदामा सहमति भएको थियो । मंगलबार प्रकाशित भारतीय अखबारहरुमा उक्त सम्झौताले राम्रै स्थान पाएको छ । तर नेपाल र चीनबीचको सो सम्झौतालाई भारतले ‘आफ्नो उपेक्षा’ का रुपमा हेर्न थालेको मंगलबारका केही भारतीय दैनिक पत्रिकामा प्रकाशित समाचारबाट प्रष्ट हुन्छ ।
त्यसैगरी नवभारत टाइम्सले पनि ‘नेपालसम्म चीनले रेल ल्याउने’ शीर्षकमा समाचार प्रकाशित गर्दै सोमबार नेपाल र चीनबीच भएको १० बुँदे सम्झौतालाई प्राथमिकतामा राखेको छ । समाचारमा भनिएको छ, ‘सामरिक र रणनीतिक रुपमा महत्वपूर्ण छिमेकी मुलुक नेपाल र चीनबीच निकटता बढेको छ । भारतमाथिको आफ्नो निर्भरतालाई कम गर्न र पछिल्ला दिनमा भएको आर्थिक नाकाबन्दीबाट पाठ सिक्दै नेपालले चीनसँग रेल लिंक निर्माणका लागि सम्झौता गरेको छ ।’ उक्त सम्झौतामा उल्लेखित विषय, खासगरी रेल लिंक निर्माण भारतका लागि चिन्ताको विषय बनेको पनि समाचारमा जनाइएको छ ।
त्यसैगरी दैनिक जागरणले पनि नेपाल र चीनबीच रेल सम्झौतामा हस्ताक्षर हुनु भारतका लागि चिन्ताको विषय भएको प्रष्ट पारेको छ । उसले समाचारमा भनेको छ, ‘नेपाल र चीनबीच रेल लाइन विस्तार हुनु भारतका लागि सामरिक चुनौतिको विषय हुन सक्छ ।’imagekhabar
