आफु नजिकका व्यवसायीलाई रातारात प्रधानमन्त्री ओलीले दिए ४४ करोडको उपहार
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरीद ऐन र सार्वजनिक खरीद नियवावलीको वेवास्ता गर्दै एमाले निकट व्यवसायीहरुको कम्पनीलाई ४४ करोडको उपहार दिएका छन् । रातोपाटीले यस विषयमा शुरुदेखि प्रधानमन्त्रीले गलत प्रक्रिया अपनाईरहेको विषयमा समाचार प्रकाशित गर्दै आएको थियो ।
प्रधानमन्त्री केपि ओलीले करीव ४४ करोडको सेवा गरीद गरेर आईतबार बिहान ११ बजे हिमालयन एयरलाईन्स मार्फत चीन भ्रमणमा निस्कए । तर, उनले त्यसका लागि केही पनि कानुनी प्रकृया पूरा गरेनन् । सम्पूर्ण प्रक्रिया मिचेर उनले आफ्नो पार्टी एमाले निकट व्यवसायीहरुको लगानी रहेको कम्पनीलाई ‘उपहार’ नै दिएका छन् ।
सार्वजनिक खरीद ऐन–२०६३ र सार्वजनिक खरीद नियवावली–२०६४ अनुसार कुनै पनि सार्वजनिक निकायले बस्तु वा सेवा खरीद गर्दा निश्चित ‘खरीद प्रकृया’ पूरा गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओली यहाँ चुकेका छन् ।
‘सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कुनै पनि निकायले सरकारी जुनसुकै सेवा, बस्तु, औषधी खरीद गर्दा पनि सार्वजनिक खरीद ऐन पूरा गर्नुपर्छ,’ अर्थविज्ञ डा.चन्द्रमणी अधिकारी भन्छन् ।
राष्ट्रिय ध्वजाबहाक नेपाल बायूसेवा निगमसँग भएका जहालाई बेवास्ता गरेपछि प्रधानमन्त्रीमाथि नीजि कम्पनीको अघोषित ‘ब्राण्ड एम्बास्डर’ बनेको आरोप नै लाग्यो । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि ओलीको यो कदमको विरोध गरेका छन् ।
अचआईएफ एभिएसन ईन्भेष्टमेण्ट र यति वल्र्ड ईन्भेष्टमेण्टको लगानीमा सञ्चलन भएको हिमालयन एयरलाईन्समा एमाले निकट व्यवसायीको पनि लगानी छ । सोहीकारण प्रधानमन्त्री ओलीले हिमालयलाई ४४ करोडको विजनेश दिएको आरोप लागेको छ ।
खरीद ऐन उल्लङ्घन
प्रधानमन्त्री ओलीले नीजि कम्पनीको जहाजमा चीन जाँदा सार्वजनिक खरीद ऐन पूरा गरेनन् । ‘प्रधानमन्त्रीले कानुनी प्रकृया पूरा गर्नुभयो÷ गर्नुभएन मलाई थाहा भएन, तर ऐन र नियमावली अनुसार निश्चित समय दिएर १५ दिन वा एक महिनाको सूचना जारी गरी टेण्डर आह्वान गर्नुपर्छ, प्राविधीक र वित्तीय प्रस्ताव हेरेर स्वीकृत गरेपछि मात्रै वस्तु वा सेवा खरीद गर्नुपर्छ’ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. अधिकारी भन्छन्, ‘बस्तु वा सेवाको खरीद गर्दा पूरा गर्नुपर्ने टेण्डर प्रकृया पूरा गरेको जस्तो मलाई लाग्दैन ।’
खरीद ऐनको प्रावधान छल्नका लागि भने प्रधानमन्त्रीले बठ्याईँ गरेर हिमालय एयरलाईन्सको जहाज प्रयोग गर्ने विषयमा मन्त्रीपरीषद्बाटै निर्णय गराएका छन्
नीति तथा कार्यक्रमको उल्लङघन
आर्थिक वर्ष २०७१\०७२ को सरकारको नीति तथा कार्यक्रममा सरकारी कर्मचारी, मन्त्री, प्रधानमन्त्री भ्रमणमा जाँदा सम्भव भएसम्म राष्ट्रिय ध्वजाबहाक जहाज प्रयोग गर्ने भन्ने उल्लेख भएपनि प्रधानमन्त्रीले संभव हुँदाहुँदै त्यसको उल्लंघन गरेका छन् ।
रातारात उडानयोग्य प्रमाणपत्र
नागरीक उड्ययन प्राधिकरणले नयाँ जहाजलाई उडानयोग्य प्रमाणपत्र दिन सामान्यतया डेढ दुईमहिना लगाउने गर्छ । तर हिमालयलाई भने नेपाल भित्रिएको दश दिनमै उडानयोग्य प्रमाणपत्र दिएको छ ।
‘गतवर्ष नेपाल बायूसेवा निगमले खरीद गरेको जहाजलाई डेढ महिनापछि मात्रै एओसी दिएको थियो’ प्राधिकरणका एक कर्मचारीले भने, ‘तर हिमालयको जहाज काठमाडौं अवतरण गरेको दश दिनमै एओसि दिन बाध्य पारियो ।’ गत शुक्रबार हिमालयले एओसी पाएको थियो । प्रधानमन्त्रीकै दवावमा राताराता प्रकृया पूरा गरेर उडान अनुमति दिईएको स्रोतको दावी छ ।
नियम मिचेर जोखिम बहन
हिमालय एयरलाइन्सले फागुन २६ मा बिमान काठमाडौं ल्याएपछि ‘हिमालय एअरलाइन्सले अप्रिल २०१६ मा अन्तर्राष्ट्रियउडान भर्ने कार्यक्रम बनाएको छ’ भन्ने विज्ञप्ती जारी गरेको थियो । तर आफैले तय गरेभन्दा २३ दिन अगाडी नै उडान शुरु गरेको छ ।
‘हिमालयले जहाजको परीक्षण उडान गरी एओसी लिएर मात्र उडान गर्ने गरी पहिला मिति सार्वजनिक गरेको थियो’ प्राधिकरण स्रोतले भन्यो ‘तर प्रधानमन्त्रीकै ईच्छा रहेपछि परीक्षण उडान पनि नगरी प्रमाणपत्र दिईएको छ ।’
प्राधिकरण स्रोतका अनुसार हिमालयनलाई छेन्दुबाट काठमाडौं आएको आधारमा नै परीक्षण उडान भनेर प्रमाणपत्र दिईएको छ । भिभिआईपिको उडानमा अनुभव र दक्षतालाई प्राथमिकता पाईलट देखि प्राविधिकसम्मको अनुभवको आधारमा उडान गराउने प्रचलन रहेपनि प्रधानमन्त्री आफैले त्यसलाई उल्लंघन गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूलाई तत्काल आफूले ईच्छाएको एयरलाईन्स भएकोले जोखिम म लिन्छु भन्ने लागेको होला । तर, यो एकपटक उडेपछि थन्किने जहाज त पक्कै हैन होला’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘परीक्षण नै नगरी लिईएको जोखिमको जिम्मेबारी भोली कसले लिने ?’
कस्तो हो हिमालयन ?
हिमालयन एयसलाईन्स नेपाल ईन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहितको लगानीको एयरलाईन्स हो । ईन्भेष्टमेण्ट प्रालिको हिमालयमा लगानी छ । उनीहरु दुवैको गरी ५१ प्रतिशत र तिब्बतको तिब्बत एयरलाईन्स प्रालिको ४९ प्रतिशत लगानी छ । ईन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेपूर्व अर्थमन्त्री रामशरण महतका सम्धी हुन् । महत आफु अर्थमन्त्री हुँदा ०७१-०७२ को बजेटमा नेपालमा ठूला विमान ल्याउदा कर छुट दिने नीति थिए । यसैका जगमा पाण्डेको समेत लगानी रहेको कम्पनीले सहुलियतमा विमान भित्राएका थियो।
तिब्बत एयरलाईन्सलाई चिनियाँ सरकारी कम्पनी एयर चाईना र तिब्बतको प्रान्तीय सरकारले सघाएका छन् । हिमालयमा २ अर्व ५० करोड रुपैयाँ लगानी छ । हिमालयन एयसलाईन्सका लगानी मध्धे केही प्रधानमन्त्री ओलीसँगै चीन भ्रमणमा गएका छन् ।
ratopati