नेपालमा अहिलेसम्मकै ठूलो फलाम खानी, एकै ठाउँमा २० करोड टनको सम्भावना
नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्ता लागेको धौवादीमा खानी तथा भूगर्भ विभागका विज्ञहरु विस्तृत अध्ययनका लागि खटिएका छन् ।
छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार रहेको पत्ता लागेपछि विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । नपरुन् पनि किन, कोइलालगायत खनिज पदार्थ खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए ।
विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । धौवादीबाट फलाम निकल्न सकिए नेपालको वर्षौँसम्मको आवश्यकता पूर्ति हुने विभागको भनाइ छ । एकसय हेक्टर क्षेत्रफलभित्र चालु वर्षको अन्त्यसम्ममा विस्तृत सर्भे सक्ने गरी काम भइरहेको विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताउनुभयो ।
धौवादी र धौवादीकै पोखरीमा समेत फलाम उत्खननका बारेमा अध्ययन भइरहेको छ । यस कार्यमा एक सातादेखि भूगर्भविद् नारायण बास्कोटा र नरेश महर्जन खटिइनुभएको छ ।
धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खननको सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कतिको लाभदायक छ भनेर भन्न सकिने महानिर्देशक महतोले बताउनुभयो ।
सम्भावना देखिएका ठाउँहरूमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुन सकेको छैन । कमसल धाउ ९पगालेको कच्चा फलाम० सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टील, छड जस्ता सामग्री बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।
विभागले धौवादीमा उत्खननका बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दासमेत हौसिएका छन् । बोझा पोखरीका कुलबहादुर ठाडाले भन्नुभयो, “यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवन नै फेरिने थियो ।”
nepaljapan
