वैशाख १७, २०७३-
मेष
साता मनोरञ्जक रहनेछ । जिम्मेवारीको काम सम्पन्न गर्न ढिलाइ गर्दा परिवारका सदस्यहरू चिडिने सम्भावना छ । समयको महत्व बुझी त्यसैअनुरूप चल्न सके स्वत: उचाइमा पुगिनेछ । साताको अन्त्यमा व्यवसायले सन्तोषजनक परिणाम दिलाउनेछ । खानपानको हेलचेक्र्याइँले स्वास्थ्यमा बाधा उत्पन्न हुन सक्छ ।
वृष
मन मिल्ने साथीहरूसँग जलविहार गर्दै आनन्दमा रमाइनेछ । स–साना अवरोध, आलोचना देखा परे पनि तपार्इंको प्रखरताले सजिलै त्यसलाई निस्तेज पार्नेछ । स्वास्थ्यमा देखा परेको थोरबहुत समस्या मंगलबारपछि क्रमिक रूपमा सुधार हुनेछ । व्यवसायमार्फत सजिलै अरूको मन जित्न सकिनेछ । खर्चको मात्रा बढे पनि आर्थिक भार पर्नेछैन ।
मिथुन
अनुभव नभएको व्यवसायमा उचाइमा पुर्याउन प्रेमिकाले सहयोग गर्नेछिन् । अपरिचित व्यक्तिसँग छिटो विश्वास गर्नाले आर्थिक लेनदेनमा नोक्सानी सहनुपर्ने हुन सक्छ, ध्यान पुर्याउनुहोला । व्यवसायका क्रममा यात्रा गर्नुपर्ने छ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसर उपलब्ध हुनेछ, जसले प्रतिष्ठा दिलाउनेछ ।
कर्कट
विभिन्न सभा–सम्मेलनमा सहभागिताले आकर्षक जिम्मेवारीपन दिलाउने सम्भावना छ, जसले आफूलाई विशेष फाइदा पुग्नेछ । प्रेमी–प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न सक्छ, भावना बुझ्ने प्रयत्न गर्नुहोला । व्यवसायमा नयाँ मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यमा पारिवारिक भेटघाटमा रमाउन पाइनेछ ।
सिंह
अथक प्रयासले काममा सफलता हात पर्न सकिनेछ । सोमबारपछिका दिनहरूमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । आत्मीय मित्रहरूसँग कुराकानी गर्दा गोपनीयताप्रति सचेत रहनुपर्नेछ । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तको सहयोग मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा परे पनि जटिलताहरू क्रमश: कम भएर जानेछन् ।
कन्या
पैतृक धनको उपयोग गरी नयाँ व्यवसाय सञ्चालन गर्दा राम्रै मुनाफा आर्जन गर्न सकिनेछ । खर्च गरेअनुरूप भविष्यको जग बसिसकेको अवस्था छ । प्रेमिकाको आग्रहलाई स्वीकार गर्दै नयाँ स्थानको भ्रमण हुनेछ । घरायसी काममा खर्च गर्दा कन्जुस्याइँ गर्नु आफ्नो हितमा हुँदैन ।
तुला
विपक्षीको षड्यन्त्रलाई परास्त गर्न अभिभावकहरूको सुझाव अनुसरण गर्नुपर्नेछ । अर्काको कुरामा नलागी एकचित्त भै कार्य गरेसहजै लक्ष्यमा पुगिनेछ । मन पराउनेहरूले नयाँ व्यवसायमा लगानी गर्न आग्रह गर्नेछन् । ढिलो गरी निर्णय दिँदा आफूलाई फाइदा हुनेछ । नीला तथा सेता पहिरनले सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
वृश्चिक
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । वाणीको प्रभावले कम मेहनतमै नसोचेका कार्यहरू सम्पन्न हुँदै जानेछन् । तत्काल आर्थिक समस्या देखा परे पनि राहत प्राप्त गर्न लामो समय कुर्नुपर्ने छैन । साताको अन्त्यमा फजुल खर्चले आर्थिक संकट निम्त्याउन सक्छ, सचेत रहनुहोला ।
धनु
मन लोभ्याउने पहिरन खरिद गर्ने क्रममा बढी मूल्य तिर्नुपर्ने अवस्था आइलाग्न सक्छ । करियर बनाउन विदेशी मित्रको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । दान, पुण्य तथा परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वासमा वृद्धि हुनेछ । खानपानको फेरबदलले स्वास्थ्य प्रतिकूल हुन सक्छ ।
मकर
आफ्नो पहिचान उचाइमा पुर्याउन प्रेमी–प्रेमिका दत्तचित्त भै लागेको अवस्था छ । महत्वपूर्ण सभासम्मेलनमा सहभागी हुने अवसर जुट्न सक्छ । व्यवसाय सुरुवात गर्न परिवारजनको मत मिल्नेछ । चन्द्रमाको आराधनाले व्यवसाय सफल हुन सक्छ । साताको अन्त्यमा शारीरिक थकान महसुस हुनेछ ।
कुम्भ
साथीभाइको सुझाव मुताबिक व्यवसाय परिवर्तन हुने योग छ, जसले आम्दानीको नयाँ स्रोत दिलाउन सक्छ । आफूभित्र उत्पन्न हुने चञ्चलताप्रति संयमित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्नेछ । मनोरञ्जन गर्दा खर्चको भार आफैंले बेहोर्नुपर्नेछ ।
मीन
आफ्नो उपस्थितबेगर अर्काको विश्वासमा परी गरेको आर्थिक लगानीले नोक्सान पुर्याउनेछ । वैदेशिक यात्राको योग छ । मन पराउनेसँग प्रेमको गाँठो कसिलो भएको अवस्था छ । जीवनशैलीमा फड्को मार्न थप मेहनतको आवश्यकता देखिन्छ । साताको अन्त्यमा पुण्य आर्जनमा सरिक भइनेछ ।
ekantipur
बैशाख १७ देखि २३ गतेसम्मको राशिफल
news and entertainment
