नयाँ संविधानलाई समाप्त गर्न खोज्नेहरुविरुद्ध लडाइँ लड्छु: उपप्रम केसी

काठमाडौँ, ३ वैशाख । संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाउन भइरहेको कुत्सित प्रयासप्रति दलित अगुवाहरुले आपत्ति जनाएका छन् ।
जातीय समता समाजले ‘संविधानमा दलित अधिकार र अवसर तथा चुनौती’ विषयमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले पशुपतिलगायत सबै हिन्दू मन्दिरमा दलित र अरु अहिन्दूलाई निर्वाध प्रवेश दिन माग गरे ।

उनीहरुले संविधानबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै धार्मिक, जातीय तथा क्षेत्रीय विभेद तथा शोषणलाई सदाका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा उप्रप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले धर्म निरपेक्षतालाई समाप्त गर्न एउटा शक्ति लागिपरेको स्वीकार्नुभयो । उहाँले ६५ वर्ष लामो सङ्घर्षपछि प्राप्त नयाँ संविधानलाई समाप्त गर्न लागिपर्नेहरुविरुद्ध अझै लडाइँ लड्न बाँकी रहेको बताउनुभयो ।
उहाँका अनुसार दलितका अधिकारलाई सुनिश्चित गर्न ३०० ऐन निर्माण गर्नुपर्नेछ । नेपाली समाजमा रहिआएको छुवाछूत प्रथालाई जरैदेखि उखेल्न निरन्तर सङ्घर्ष गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दासले दलितको समस्या समाधान गर्न आफूलाई ठूला जाति हुँ भन्ने वर्गले सोचमा परिवर्तन ल्याउनुपर्छ भन्नुभयो ।
समाजका अध्यक्ष दिलबहादुर विकले दलित र आवाजविहीनलाई संविधानले दिएको अधिकार दिलाउन सरकार तथा ठूला राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभयो । रासस
dainiknepal

,

news and entertainment