भारत बेचिन लगिएका ५१ महिलाको उद्धार

२४ फागुन, विराटनगर । भारततर्फ अवैध रुपमा लैजान लागेका ५१ महिलालाई विराटनगरस्थित केआई नेपालले उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको छ ।

मानव बेचबिखन तथा महिला हिंसा अन्त्यका लागि काम गर्दै आइरहेको सो संस्थाले विराटनगरबाट जोगवनी नाका हुँदै अवैधरुपमा महिलालाई भारततर्फ लैजाने क्रममा कडा निगरानी गरेपछि ५१ महिला घर फर्काइएको हो । उक्त संस्थाले विगत छ महिनाको अवधिमा ती महिलालाई उद्धार गरेको जनाएको छ ।

केआइ नेपाल विराटनगर शाखाका प्रमुख केशर विश्वकर्माले आज पत्रकार सम्मेलनको आयोजना गरी फर्काइएका महिलाहरु १५ देखि २५ वर्ष उमेरसम्मका रहेको बताउनुभयो ।

विगत छ महिनाको अवधिमा भारतको बाटो हुँदै विदेश नजान लागेकी एक हजार ४३ महिलालाई भारतको बाटो प्रयोग नगर्न परामर्श दिनुका साथै इलाका प्रहरी कार्यालय रानीमा इटहरी बस्ने अश्विनविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गराएको प्रमुख विश्वकर्माले भन्नुभयो । रासस

,

news and entertainment