‘म प्रधानमन्त्री रहुन्जेल कोही नेपाली भोकै मर्दैनन्’


एमाले अध्यक्ष समेत रहेका ओलीले शुक्रबार धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै कोही नेपालीले त्यस्तो समस्या भोग्नुपरेको छ भने तत्काल सरकारलाई सूचना दिन आग्रह गरे ।


प्रधानमन्त्री ओलीले भूकम्पमा नेपालका विभिन्न जिल्लामा आठ लाख घर तथा नौ हजार सरकारी कार्यालय तथा विद्यालय र ऐतिहासिक धरोहर लगायतको भौतिक संरचना ध्वस्त भएको स्मरण गरे । उनले गरिब अशक्त र विपन्न समुदायका लागि सामूहिक घर बनाउने योजना रहेको र ती चाँडै निर्माण गरी आगामी असारभित्र त्यस्ता परिवारलाई ओतमुनि ल्याइसकिने जानकारी दिएका छन् ।

उनले एमालेले पनि भूकम्प प्रभावितका घर बनाउन विशेष तालिमप्राप्त स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए ।

उनले मधेसकेन्द्रित दलमध्ये तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भूकम्प प्रभावित क्षेत्रमा तराईका युवालाई स्वयम्सेवकका रुपमा खटाउन अनुरोध गरिएको जानकारी दिए ।

उनले सरकारले यस वर्ष ल्याउने बजेटमा गरिबी निवारणका लागि आउने कार्यक्रमको खाका देखेर विपक्षीहरु अहिले नै तिलमिलाइसकेको विचार व्यक्त गरे  ।

प्रधानमन्त्री ओलीले कोसी राजमार्गको जोगबनी–किमाथाङ्का जोड्ने सडक दुई लेनको हुने र त्यो दुई वर्षभित्र निर्माण गरिसक्ने सरकारको योजना रहेको जानकारी दिँदै धरानको पूर्वपट्टि सेउती खोलाका किनारबाट ‘बाइपास’ भएर त्यो सडक जाने पनि बताए ।

उनले सोही अवसरमा धरान–चतरा–उदयपुर भएर हेटौँडा जोड्ने सडक पनि निर्माण हुने तथा हेटौँडा–काठमाडौँ जोड्ने सडकसँगै मेचीदेखि पश्चिम कञ्चनपुरसम्मको रेलमार्ग बनाइने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले धरानको बहुजातीय सङ्ग्रहालय निर्माण गर्न सरकार प्रतिबद्ध छ भन्दै जमिन कमी रहेकाले त्यसको व्यवस्थापन गरेर धरानवासीले चाहेअनुरुपको बनाउन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले हरेक सहरमा खेल मैदान लगायत भौतिक पूर्वाधार निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको स्मरण गराए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले आफ्नो भविष्य सुन्दर बनाउनका लागि नयाँ संंविधान निर्माण गरेका हुन्, यो संसारकै उत्कृष्ट छ र परिवर्तनीय छ ।’

संविधानमा केही छैन भनेर चित्त नबुझाउने सबैलाई सरकारका तर्फबाट सहमति र छलफलबाट समस्याको समाधान निकाल्न आह्वान भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले शनिबार त्यही विषयमा छलफल हुने भएकाले सबै असन्तुष्ट दललाई बैठकमा भाग लिन आह्वान गरे ।

एमाले धरान नगर कमिटीका अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा धरान जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी राजेशकाजी शाक्य, कवि लक्ष्मी राई, सङ्गीतकार सुरेश गन्धर्व, साहित्यकार पूर्णबहादुर गुरुङ, रङ्गमञ्चकर्मी प्रेम सुब्बा, टेकबहादुर राई र राधा गुरुङलाई सम्मान गरिएको थियो।

अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव भीम आचार्य, कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, क्षेत्रीय अध्यक्ष इन्द्र राई, जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र नारायण सुवेदी लगायतले विचार राखे ।

बन्द सत्रमा ३९३ प्रतिनिधिले भाग लिने बताइएको छ । शनिबार नयाँ कार्यसमितिको चयन हुनेछ । रासस
annapurnapost

,

news and entertainment