समाजसेवी बार्बराको आर्यघाटमा अन्त्येष्ठी


फोटो :अन्त्येष्ठीअघि श्रद्धाञ्जलीका लागि राखिएको बार्बराको पार्थिव शरिर । तस्बिर: अन्नपूर्ण
काठमाडौंः गत शुक्रबार निधन भएकी समाजसेवी तथा अमेरिकी पत्रकार बार्बरा एडम्सको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको छ ।

पशुपतिस्थित बिद्युतीय शवदाहगृहमा जलाउनुअघि बार्बराको पार्थिव शरिर अन्तिम श्रद्दान्जलीका लागि सोमबार मध्यान्ह प्रज्ञा भवन कमलादीमा राखिएको थियो ।

श्रद्धाञ्जली दिन पुगेका पूर्व गृहमन्त्री वामदेव गौतमले बार्बराको नागरिकताको प्रतिलिपी बार्बराको शवको शिरानीमुनी राखिदिए ।


‘अमेरिकामा जन्मिएर हुर्किएकी बार्बरा एडम्स नेपाली बन्लिन भनेर कसैले सोचेका थिएनन् । तर बार्बरा नेपाली मात्र बनिन्, एक देशभक्त सच्चा राष्ट्रवादी नेपाली बनिन् । अमर बनिरहुन् बार्बरा एडम्स । मेरी घनिष्ठ साथी रहेकी बार्बरा प्रति भावपूर्व श्रद्दाञ्जली’ पूर्वगृहमन्त्री गौतमले शोक पुस्तिकामा लेखेका छन् ।

सञ्चारमन्त्री शेरधन राई, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, पूर्व वाणिज्यमन्त्री सुनिल बहादुर थापा, बार्बराका बिदेशी साथीहरु तथा पत्रकार लगायतले बार्बरालाई अन्तिम श्रद्धाञ्जली दिए ।
मुटु रोगबाट पीडित पत्रकार एडम्सको शुक्रबार साँझ राजधानीको ग्रान्डी अस्पतालमा सघन उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको थियो ।

बार्बरा बेलायती महारानी एलिजाबेथ द्वितीयको सन् १९६१ मा भएको नेपाल भ्रमणमा इटालियन अखबारको तर्फबाट रिपोर्टिङ् गर्न पहिलोपल्ट आएकी थिइन् ।

नेपालको सौन्दर्यताबाट प्रभावित भएकी ३० वर्षे युवा पत्रकार बार्बरा त्यस यता यतै बसिन् । बार्बरा पूर्वराजा ज्ञानेन्द्रका काका बसुन्धरा शाहसँगको संबन्धमा थिइन् ।

बसुन्धराबाट बार्बराले सम्पत्तिको अंश माग्न सक्ने खतरा देख्दै शाही शाशनकालभरी दरबारले उनलाई नेपाली नागरिकता दिनबाट रोकेको उनलाई नजिकबाट चिनेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले बताए ।

‘बार्बरामा निकै राम्रो लेख्न सक्ने खुशी थियो । उनले नेपाली राजनीतिक र सामाजिक जनजीवनमा देखिएका विकृति बिरुद्द धेरै लेख लेखिन् । उनी नेपाललाई अस्याध्यै माया गर्थिन्’ श्रेष्ठले अन्नपूर्णसँग भने ।

एक निडर लेखिकाको छवि बनाएकी बार्बरालाई नेपालबाट पटक—पटक लेखेटिएको श्रेष्ठले बताए । ‘उनको चाहना नेपालमै मर्न पाऊँ भन्ने थियो जुन पुरा भयो’ श्रेष्ठले भने ।

पत्रकार श्रेष्ठले उनलाई २०६५ सालमा नेपाली नागरिकता दिलाउन महत्वपूर्ण सहयोग गरेका थिए । तत्कालीन गृहमन्त्री गौतमले २०६५ मा बार्बरालाई नेपाली नागरिकता दिलाएका थिए ।

नागरिकता पाएपछि बार्बराले संविधासभा दोश्रो निर्वाचनमा मतदान पनि गरिन् । बार्बरा नेपालमा रहँदा विवादमुक्त भने रहन सकिनन् ।

उनीमाथि राजदरबारबिरुद्ध गतिबिधि गरेको आरोप लाग्यो । गत वर्ष उनी काठमाडाँैको होटल हायातमा भएको एक कार्यक्रममा ह्रदयघात भई लडेकी थिइन् । त्यसपछि नयाँ दिल्ली र काठमाडौमा गरेको उपचारबाट उनको स्वास्थमा सुधार आउन सकेन । भूकम्पबाट बस्दै आएको वालुवाटारस्थित डेरा भत्केपछि त्यहाँबाट सरेकी थिइन् ।
annapurnapost

news and entertainment