नेपालमा मधेस छैन्, भारतबाट आएकाले मधेसको नाम उचाले: चुरे भावर

इटहरी, १४ वैशाख । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले देश विखण्डन गर्नेविरुद्ध सशक्त आन्दोलनको तयारीमा आफ्नो पार्टी सक्रिय भएर लागेको दाबी गर्नुभएको छ ।
उहाँले त्यसका लागि सशक्त आन्दोलन र प्रतिकारका लागि दस्ता तयार भएको र त्यो दस्ता चाहिएको दिन बाहिर आउने बताउनु भएको छ । प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्रसमेत बुझाएर चुरेभावर क्षेत्र घोषणाका लागि आवश्यक जनशक्ति र पार्टी क्रियाशीलताका लागि विभिन्न जिल्लामा घुम्नेक्रममा इटहरी आइपुगेको पार्टी अध्यक्ष सहितको टोलीले पत्रकारसम्मेलन गरी आज सो जानकारी दिएको हो ।

यसअघि भएका विभिन्न बुँदे सहमति र सम्झौता कार्यान्वयन गराउन विभाजित अवस्थामा रहेको चुरेभावरलाई एकतामा बाँधेर अघि बढ्ने अन्तिम तयारी पनि भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । आफ्नो स्थापना नै कथित मधेस आन्दोलनको नाममा देशलाई विखण्डनतिर धकेल्ने प्रयास वा षडयन्त्रको पर्दाफास गर्ने भावनाले स्थापित भएको उल्लेख गर्नुहुँदै अध्यक्ष न्यौपानेले नेपालमा हिमाल, पहाड र तराई मात्र रहेको तथा भारतको मध्य प्रदेशबाट आएकाले मात्र नेपालमा मधेसको नाम उछाली रहेको दावी पनि गर्नुभयो ।
अध्यक्ष न्यौपानेले पत्रकारसम्मेलनमार्फत अवका दिनमा अङ्गीकृत नागरिकतालाई पूरै खारेज गर्दै जन्मसिद्ध र वंशजका आधारमा मात्र नेपाली नागरिकता दिनुपर्ने तथा अङ्गीकृत नागरिकता लिएर नेपालमा बसेकालाई गाउँतहदेखि कुनै पनि निकायमा सिफारिस वा निर्वाचित गर्ने कार्य पूर्णरुपले बन्द गरिनुपर्ने कुरालाई पनि चुरेभावर राष्ट्रिय एकता पार्टीको मुख्य अभियान रहनेमा पनि उहाँले जोड दिनुभएको छ ।
मधेस आन्दोलनका क्रममा वितरण गरिएका सबै नागरिकतालाई उच्चस्तरीय छानबिन समिति गठन गरेर राज्यले गैरनागरिकले प्राप्त गरेको नागरिकता खारेज गर्न पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेको पनि अध्यक्ष न्यौपानेले सार्वजनिक गर्नुभएको छ ।
हरेक सदरमुकाम आम जिल्लावासीलाई सुविधा हुने स्थानमा राखिनुपर्ने, नेपाली सेनालाई लोकतान्त्रीकरण गरिनुपर्ने, जातीय सङ्घ सङ्गठन खारेज गरिनुपर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, मातृभाषालाई सम्मान र जगेर्ना गर्दै नेपाली भाषालाई सरकारी कामकाजी भाषा तोकिनुपर्ने, चुरे संरक्षणमा विशेष ध्यान दिनुपर्ने लगायतका मागलाई पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको बताएको छ । रासस
dainiknepal

news and entertainment