दुइटा महाभूकम्प र तिनका हजारौं परकम्पले हल्लाए पनि उनको ज्यान गलेको छैन । तैपनि हाँसिएकै छ
भक्तपुर ब्यासीस्थित थोत्रो पालको शिविरमा भूकम्पपीडित ९० वर्षीय कमलबहादुर र उनकी श्रीमती कृष्णकुमारी सुवाल ।
वैशाख १२, २०७३- नब्बे सालमा ७ वर्षको हुनुको अर्थ अहिले ९० वर्षै पुग्नु हो । कमलबहादुर सुवालको उमेर त्यति नै भयो । दुइटा महाभूकम्प र तिनका हजारौं परकम्पले हल्लाए पनि उनको ज्यान गलेको छैन । बरु धपक्क बलेको छ । बिहीबार बिहान भक्तपुरको ब्यासीस्थित भूकम्पपीडित शिविरभित्र गफिइरहेका उनले सल्लाह दिए, ‘हाँस्नुहोस्, रोग लाग्दैन ।’
‘रोएर के गर्नु ?’ छेउमै बसेकी उनकी श्रीमती कृष्णकुमारीले सही थपिन्, ‘रुँदैमा न भत्किएको घर आउँछ, न खान–लाउन पाइन्छ । बरु हाँस्यो, शान्ति मिल्छ ।’
बेलायती राजकुमार ह्यारी गत चैत ७ गते यही शिविरमा छिरेका थिए । ठ्याक्कै कमलबहादुर–कृष्णकुमारीकै टेन्टभित्र । एसएलसीको तयारीमा रहेकी उनीहरूकी नातिनी आकृतिलाई उनले सोधे, ‘टेन्टको बसाइ कस्तो छ ? परीक्षाको तयारी कस्तो गर्दैछ्यौ ?’
आकृतिले बसाइ पीडादायी भए पनि आफूले मेहनत राम्रो गरिरहेको सुनाइन् । छेउबाट हजुरबुवा–हजुरआमाले मीठो मुस्कानको स्वागत गरे । बाहिर निस्किएर ह्यारीले भने, ‘विपत्मा पनि तपाईंहरूको मुहारमा हाँसो देख्दा म लठ्ठ भएँ । तपाईंहरूको जीवन जिउने शैलीलाई मान्नैपर्छ ।’
संयोगवश हामी पनि त्यही टेन्टमा छिरिएछ । कानमा न्हेप सिकचा अर्थात् जंकु टिसा लगाएका कमलबहादुर जोसिला देखिन्थे । यो गहना ७७ वर्ष ७ महिना ७ दिनमा भीम रथारोहण (जंकु) गर्दा लगाइदिने चलन छ ।
कृष्णकुमारीको कानमा पनि गहना चम्किइरहेका थिए । त्यसभन्दा धेरै चम्किएका थिए उनका दाँतहरू । भूकम्पको क्षण सम्झिँदा भने उनले थाम्दाथाम्दै झन्डै आँसु झारिन् । उनी काउली बारीमा थिइन् । बूढा टोलको पाटीमा त्यस्तै दौंतरीसँग गफिइरहेका । बुहारी घरमा । छोरो कता हो कुन्नि । नातिनीहरू भक्तपुर दरबार स्क्वायर घुम्न गएका ।
‘गडङडङ गर्दै भुइँचालो आयो । धूलो उड्यो । सहरै लडेको देखियो,’ उनले सुनाइन्, ‘चारतिर मरिने भइयो भनेर डर लाग्यो । भगवान्को कृपाले धन्न कसैलाई केही भएन ।’
शिविरमा उनकी बुहारी गाग्रीमा पानी लिएर आइरहेकी थिइन् । ३९ नम्बर गाग्री । टोलको ढुंगेधारा सुक्यो । पानीको हाहाकार भयो । सबै मिलेर ट्यांकरमा ल्याउने, ट्यांकीमा हाल्ने र त्यही ढुंगेधारामा खसाल्ने गर्न थाले । त्यसका लागि हरेक परिवारका एउटा–एउटा गाग्रीलाई नम्बरिङ गरे । ‘नम्बर भनेको पालो हो,’ उनले भनिन्, ‘मेरो पालो सधैं ३९ नम्बरमा आउँछ ।’
महाभूकम्प गएको वर्ष दिन पुग्यो । अझै थोत्रा पाल र जस्ताका शिविरमा हजारौं परिवार बसिरहेका छन् । हिउँद रातभर शीतले नुहाएर बित्यो । बर्खा लाग्यो, अब पानी नथामिने अवस्था छ । केही पहिला ठूलो हावाहुरी चल्यो । शिविरमा बिचल्ली भयो । गोर्खाका हिउँ पर्ने ठाउँमा समेत खुला आकाशमा भूकम्पपीडितले दिन–रात गुजारे ।
यो बर्खाभरि यस्ता दिन कति आउलान् ।
नेपालको भूकम्पमा धेरै सहयोगी मनहरू ओइरिए । आपत्कालीन भरथेग नभएको होइन । तर, त्यसभन्दा धेरैले यसलाई गतिलो ‘खेती’ बनाए । सहयोग बटुल्ने ‘ठेक्का’ लिए । पीडितसम्म नपुर्याई आफू धनाढ्य भए । ‘क्राउड फन्डिङ’ साइट खोलेर करोडौं डलर बटुले । नेपालका नाममा माग्ने यति धेरै भए । अनेक कला प्रयोग गरेर मागे । पछि भागे ।
एनजीओ/आईएनजीओ ओइरिए । दाताहरूको लर्को लाग्यो । सहयोगको आँकडा ठूलो देखाए । कतिले शतप्रतिशत, अरूले अधिकांश अंश प्रशासनिक खर्चका नाममा आफैंले झ्वाम पारे । दुनियाँले देख्दा भूकम्पपीडितले के–के न पाए भन्ने भयो । तर, वास्तविकता ठीक उल्टो भयो । उनीहरू ह्वाङग टेन्टमा मच्छडलाई टोकाउँदै रात गुजारिरहेका छन् ।
नपत्याए राजधानीभित्र भक्तपुरकै ब्यासी वा डेकोचाका शिविरमा हेर्न जानुहोस्, जहाँ पीडितले पानीसम्म पिउन पाएका छैनन् ।
बिहीबार हामी पुग्दा डेकोचाको प्रवेशद्वार छेउको शिविरबाहिर छेउमा बैसाखी राखेर कृष्ण कुसाथा बसिरहेका थिए । घुँडाको बिराम लागेर अशक्त भएका उनी करिब १० वर्षदेखि बैसाखीको सहारामा छन् ।
गत वर्ष भूकम्प आउँदा उनी भोलाछेँस्थित घरमै थिए । एक आना तीन पैसा दुई दाममा बनेको उनको घर गल्र्यामगुर्लुम ढल्न थाल्यो । कोही बाहिरै थिए । सक्नेहरू ज्यान जोगाउन भागिगए । घस्रिएर बाहिर–भित्र गर्ने उनी भगवान् पुकार्दै बसिरहे । अरू उपाय थिएन ।
‘भगवान्ले देखेरै हुन सक्छ,’ उनले भने, ‘घर सबैतिर लड्यो । म बसेको ठाउँ मात्र लडेन । पछि अरूले आएर निकाले । भाग्यले बाँच्न पाएँ ।’
उनीजस्ताका लागि शिविरको जिन्दगी अत्यन्त दर्दनाक छ । ‘महिनाको ६ हजारको औषधि मात्र खुवाउनुपर्छ,’ उनकी श्रीमती सानुकेसरीले भनिन्, ‘ऋणऋणै भइसक्यो ।’ जसले पनि आएर सोध्ने मात्र, सहयोग र व्यवस्थापन गर्ने कोही नआउने भन्दै उनी आक्रोश पोखिरहेकी थिइन् । उनी मात्र होइन, शिविरका अरूसमेत बोल्न मानिरहेका थिएनन् । भन्थे, ‘हामीले कतिलाई जवाफ दिनु । जसले जतिपल्ट बुझे पनि हामीलाई खोइ के भयो ?’
‘पानी छैन । बजारका धारामा हप्तामा एकपल्ट आउँछ । माग्न जाँदा गाली खानुपर्छ,’ उमेश सिजाख्वाले भने, ‘लोडसेडिङमा ओढारमा बसेजस्तो अन्धकार हुन्छ । जस्ता तातेर हपहपी गर्मी हुन्छ । पानी पर्दा शिविरभित्र आहाल लाग्छ । कसैले फर्किएर हेरेकै छैन ।’
राजधानीकै शिविरको हालत यस्तो छ, बाहिर झन् कन्तबिजोग छ । अझै कति यही हालत हुने हो, टुंगो छैन । किनकि, भूकम्पको वर्ष दिन यसरी बित्यो-
पुनर्निर्माणमा राजनीति घुस्यो, हानथापमै समय गयो ।
आंशिक राहतबाहेक पीडितले केही पाएनन्, आस मात्रै पाए ।
कतिपय घाइतेले भरपर्दो उपचार पाएनन्, कष्टकर हालतमा छन् ।
आई/एनजीओहरू ओइरिए, आफ्नै सुविधामा रकम खर्चिए ।
नाङ्लामा जुट्यो सहायता, छरियो दुनामा ।
सरकारी नियकायहरूले विपत्तिलाई अवसर बनाए, रमाए ।
स्वास्थ्य/शिक्षालयहरू पुरिए, बाहिरै काम चलाइयो ।
हजारौंले पाल फटाए, अर्को बर्खामा पनि ओत पाएनन् ।
भवनसंहिताको कुरा गरियो, काम गरिएन ।
विश्व सम्पदाहरू ध्वस्त भए, फर्किएर हेरिएन ।
पर्यटन व्यवसाय चौपट भयो, सुधार्ने योजना देखिएन ।
चेत्यौं, बिर्सियौं, प्रविधि/पाविधिक पक्षमा बच्चै रह्यौं ।
जता हेर्यो, उतै निराशाजनक अवस्था छ । एउटै आसलाग्दो कुरा... हामी नेपालीजस्तै दु:खमा पनि हाँसिरहन्छौं । त्यसलाई पनि मनोविज्ञहरू भन्छन्, ‘हामी हाँसिदिन्छौं । नबुझ्नेले राम्रै रहेछ ठान्छ । केही गर्दैन । थोरबहुत सहयोग त्यस्तो व्यक्तिले पाउँछ, जसले नाटकीय आँसु झार्छ । हाँसेर कहिलेकाहीँ हामीले हार्नुपरेको छ ।’
पुन:निर्माण, पुन:स्थापना र अन्य व्यवस्थापनमा भएको ढिलाइ आक्रोशको मूल कारण हो । हेर्दा आलटाल देखिए पनि विधि पुर्याउन समय लागेको सरकारको भनाइ छ । ‘सरकार बनेको छ महिना भयो । तीन महिना त कानुन बनाउनै लाग्यो । लोकतान्त्रिक मुलुकमा बिनाकानुन केही गर्नै पाइँदैन । त्यसलाई पनि सहमतिमै गरौं भन्ने ठानियो । बेलामा सहमति जुट्न सकेन । फलानालाई सीईओ बनाउने गरी कानुन बनाउने भन्ने तर्क सारिए’, अर्थमन्त्री विष्णु पौडेलले भने, ‘कानुन बनाउनासाथ प्राधिकरणको सीईओ राख्यौं । यसबीच कार्यविधि निर्माण र डकुमेन्ट तयारीका काम पनि पूरा गरेका छौं ।’
उनले अघिल्लो सरकारले विश्व बैंकसँग ‘बेनिफेसरी सर्भे नगरी पुन:निर्माण नगर्ने सम्झौता’ गरेको पाएपछि थप झमेला बेहोर्नुपरेको सुनाए । ‘एकैचोटि सर्भे गर्न हजारौं जनशक्ति चाहिन्छ । नगरौं, सरकारले सम्झौता गरेको रहेछ,’ उनले थपे, ‘त्यही भएर द्रुत परिचालन गर्यौं । ११ जिल्लाको सकिइसकेको छ ।’
अर्थमन्त्री पौडेलले दुई लाख अनुदानको पुरानो निर्णयलाई परिमार्जन गरी सामूहिक जमानीमा थप ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तय गरिएको, न्यायो कपडाको कार्यक्रम ल्याएको, सुरुको १५ हजार रुपैयाँलाई अनुदानमा बदलेको जानकारी दिए ।
योजना आयोगका पूर्वउपाध्यक्ष गोबिन्द पोखरेलले पुनर्निर्माणमा सरदर ६ महिना ढिला भएको टिप्पणी गरे । ‘ढिलै भए पनि प्राधिकरण गठन भयो । त्यसले केही तत्परता देखाएकै छ । कार्यविधि बनेको छ । स्थानीयस्तरसम्मकै संयन्त्र स्थापित भएको छ,’ उनले मूल्यांकन गरे, ‘तर सरकारबाटै प्राधिकरणलाई राम्रो सहयोग भएको छैन । पर्याप्त कर्मचारी उपलब्ध गराइएको छैन ।’
पुन:निर्माणमा बरु समय नै लागोस्, तत्कालीन व्यवस्थापन र सुरक्षित अस्थायी आवास अपरिहार्य देखिएको छ । अहिलेका हालतका शिविरमा यो बर्खा बिताउन लगाउनु अमानवीय देखिन्छ । त्यसमा सरकारले हेरोस् भन्ने पीडितको चाहना छ । त्यसमा अर्थमन्त्रीको आश्वासन छ, ‘बर्खा नलाग्दै सुरक्षित आवासको व्यवस्था गर्ने तयारी भइरहेको छ ।’
त्यति भए हाँसो अझ मनैदेखि आउने थियो कि ?
ekantipur
