ओली सरकारको एउटै निर्णयबाट चीन खुसी !
काठमाडौं, ११ वैशाख । नेपाल सरकारले गरेको एउटा महत्वपूर्ण निर्णयमा चीनले खुसी व्यक्त गरेको छ ।
हाल बेइजिङमा रहेका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले दिएको जानकारी अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूत सिफारिस गरेपछि चीनले खुसी व्यक्त गरेको हो ।
गत सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले मन्त्री भइसकेका पाण्डेलाई मर्यादाक्रम समेत दाउमा लगाएर चीनका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
विश्वका अन्य मुलुकले पनि चीनमा उच्चस्तरको व्यक्तिलाई राजदूत पठाउने गरेको तथ्य देखाउँदै राजदूत मास्केले भने– ‘नेपालबाट पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे राजदूत सिफारिस हुँदा चीन अत्यन्त खुसी देखिएको छ ।’
परराष्ट्रलाई राम्ररी बुझेको र नेपालको राजनीतिमा लामो अनुभव भएका व्यक्ति राजदूत सिफारिस हुँदा चीनमा नेपालको राम्रो सन्देश गएको उनको भनाई छ । चीनमा पूर्वमन्त्री राजदूत पठाउँदा विश्वका अन्य भारत, अमेरिका, बेलायत, जापानको तुलनामा नेपालले चीनलाई बढी प्राथमिकता दिएको जस्तो पनि देखिएको मास्केको धारणा छ ।
dainiknepal
