कटवालले पद थमौतिको लागि गरेका चाकडी र हर्कतको पर्दाफास
काठमाडौं । पूर्व प्रधानसेनातपति रुकमांगद कटवालको प्रधानसेनापति पद थमौतिको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेको इतिहास छ । उनै कटवालपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङले कटवालको के के भन्ने सबै विषय आफ्नो प्रकाशोन्मुख पुस्तकमा उतारेका छन् । उनले कटवालको फरक रवैयाबारे लेखेका छन्, ‘राष्ट्रपतिबाट प्रधानसेनापतिमा कटवालको थमौतिपछि मलाई बलाधिकृतको अलावा रथी कूलबहादुरको बलाध्यक्षको जिम्मेवारी पनि थपि दिइएको थियो । कूलबहादुरलाई कुनै जिम्मेवारी दिइएको थिएन । १० बजे कार्यालय आउथे, ५ बजे फर्किन्थे । अवकाशपछि लिनुपर्ने घरबिदासम्म लिएनन् । असार ६ गते अवकाश भएपछि घर बसे ।
जवाफमा महारथी कटवालले भन्नुभएछ ‘एभ्रिबडी वान्टस टु मी कन्टिन्यु, ह्वाट क्यान आइ डु ?’ (सबैजना मेरो निरन्तरता चाहन्छन् त म के गरुँ )
मैले कटवालको आशय बुझिहालें । पदावधि बढाउन उहाँले राष्ट्रपति डा. रामवरण यादवलाई व्यापक जोड गर्नुभएको रहेछ । राष्ट्रपतिले जवाफ दिनुभएछ– ‘यस्तो कल्पनै नगर्नुस् । सिस्टम अनुसार चल्नुपर्छ । सिस्टम अनुसार आउँछन् जान्छन् ।’ प्रधानमन्त्री माधव नेपाललाई पनि यस विषयमा व्यापक दबाब दिनुभएको छर नमानेको जानकारी मैंले पाएँ । आफूकहाँ यो कुरा आउँदा रक्षामन्त्री विद्या भण्डारीले कटवाललाई भन्नुभएछ, ‘तपाई एक दिन पहिला अवकाश हुन पनि पर्दैन, एक दिन बढी बस्न पनि मिल्दैन ।’
यही बेला नेकपा एमालेका नेता केपी ओली अचानक दिल्ली जानुभयो । यहाँ हल्ला चल्यो– उहाँ कटवालको पदावधि बढाउनेबारे भनसुन गर्न, लबिङ गर्न त्यता जानुभएको हो । केही दिनमा फर्किनुभयो । मैंले एकजना परिचित पत्रकारलाई यसबारेमा सोध्न भनें । उनले सोध्दा जवाफ पाएछन्, ‘नेपाली सेना वृद्धाश्रम होइन ।’
आजको कान्तिपुर कोशेलीबाट ।
