'प्रेमको अनुभव गर्दैछु'

पहिलो प्रेम?
स्कुल पढ्दादेखि नै धेरैले मन पराउँथे । प्रेमपत्र पनि निकै आए तर मैले कसैलाई प्रेम गर्न सकिनँ । टिनएजमा राम्रो मान्छे देख्दा मन त पर्थ्यो तर सम्बन्ध बनाउन चाहिनँ । कडा परिवारमा हुर्किएकाले पढाइ र करिअरमा बढी ध्यान दिएँ। कलेजमा पनि कसैसँग प्रेमसम्बन्ध कायम हुन सकेन।



परिवारले मान्दैन भने भागौं भन्दै प्रस्ताव पनि गर्थे तर म उनीहरूलाई अहिले प्रेम गर्ने समय होइन भनेर सम्झाउँथे। त्यति बेलाका कतिपय उपहार अहिले पनि मसँग छन्। पछिल्लो एक वर्षदेखि प्रेम अनुभव गर्दैछु। कसैसँग सम्बन्धमा छु। पहिले मेरो जीवनमा आउने मान्छे कस्तो होला भन्ने लाग्थ्यो । प्रेमी नै जीवनसाथी होस् भन्ने मेरो चाहना छ।

कसरी सुरु भयो प्रेम ?
उहाँको तर्फबाट पहिले नै परिवारमा बिहेका लागि प्रस्ताव आएको थियो । पहिले एकपटक कार्यक्रममा भेट भएको रहेछ । मलाई याद थिएन । तर, परिवारमा कुरा भएपछि बिहे गर्ने योजना नभएकाले मैले भेटिनँ । विदेशमा कार्यक्रम सकेर फर्किने क्रममा कतारमा ट्रान्जिट थियो।

उहाँ पनि नेपाल फर्कंदै हुनुहुँदो रहेछ। त्यहीँ भेट भयो । उहाँले बोलाउनुभयो र आफ्नो परिचय दिनुभयो। मैले चिनिहालेँ । लामो ट्रान्जिटमा धेरै कुराकानी गर्ने मौका मिल्यो। सायद बिहेको कुरा गर्न काठमाडौंमा भेटेको भए एक घन्टामा कुरा सकिन्थ्यो होला, बुझ्नै नपाई कुरा टुंगिन्थ्यो होला । तर, कतारमा एकअर्काको कुरा धेरै सुन्ने र बुझ्ने मौका मिल्यो। त्यहीँबाट सम्बन्ध सुरु भयो।

उहाँको के कुरा मन पर्यो ?
साधारण, भीठो बोल्ने, उहाँको हरेक कुरा राम्रो लाग्यो।

प्रेमको अनुभूति कस्तो हुँदैछ ?
प्रेमले परिवर्तन र जिम्मेवार महसुस गराउँदो रहेछ। पहिले एक्लैको निर्णय चल्थ्यो भने अहिले हरेक काममा सोध्ने, सल्लाह लिने गर्छु । अलिकति बाँधिएको जस्तो पनि अनुभव भइरहेको छ।

प्रेम र विवाह एउटैसँग हुनुपर्छ?
हुँदा एकदम राम्रो तर लामो समय प्रेमसम्बन्धमा रहेर बिहे गर्नुचाहिँ त्यति राम्रो लाग्दैन । यस्तो समयमा आउनसक्ने नकारात्मक कुराले सम्बन्धलाई लामो समय टिक्न दिँदैन।

विवाह कहिले गर्ने?
यही मंसिरमा गर्ने योजना छ।

प्रेमले मात्र जीवन चल्छ?
चल्दैन, विवाह गर्ने व्यक्तिले प्रेममात्र गरेर हुँदैन। जीवन बिताउने सहारा बन्नुपर्छ, सुखदुःखमा साथ दिने र विश्वास गर्ने हुनुपर्छ। माया र शंका दुवै धेरै गर्दा पनि सम्बन्ध लामो समय टिक्दैन।

माया के हो?
माया हरेक सजीव प्राणीका लागि अत्यावश्यक कुरा हो। जिउने एउटा आधार पनि हो। प्रेमी र प्रेमिकाबीच मायामात्र भएर हुँदैन। मायाको अपेक्षा राख्ने सबैलाई माया गर्नुपर्छ। बालकदेखि वृद्ध सबै मायाको भोका हुन्छन्।
annapurnapost

,

news and entertainment