अमेरिका-चीन वाकयुद्ध:

बेइजिङ (एएफपी), जेष्ठ १७ - चिनियाँ ह्याकरले अमेरिकी हतियार डिजाइनमा पहुँच प्राप्त गरेको पेन्टागनले दिएको प्रतिवेदनलाई बेइजिङको रक्षा मन्त्रालयले गलत निर्णय ठहर गरेको छ । चीन आफैंले हतियार निर्माण गर्न सक्ने जोड दिएको छ ।
वासिङ्टन पोस्टको समाचारलाई पुष्टि गर्दै अधिकारीहरूले अमेरिकी रक्षा ठेकेदार तथा सरकारी संस्थाविरुद्ध साइबर गुप्तचरीको यो एक भाग भएको जानकारी दिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रवक्ता जेङ यानसेङले विज्ञप्ति प्रकाशन गरी अमेरिकी दाबी गलत भएको बताए । विज्ञप्तिमा पेन्टागनको सुरक्षा र चिनियाँ जनताको क्षमतालाई कम आँकलन गरिएको जनाइएको छ । विज्ञप्तिमा चीन राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक हतियार तथा उपकरण निर्माण गर्न पूर्ण रूपमा सक्षम रहेको विज्ञप्तिमा भनिएको छ । जेङले नयाँ विमानवाहक जहाज, युद्धक जेट, मालवाहक विमान तथा स्याटेलाइट प्रणालीलाई उदाहरणका रूपमा उल्लेख गरेका छन् ।
अमेरिकी अधिकारीहरू चीनबाट हुने डिजिटल गुप्तचरीका लागि निकै चिन्तित देखिएका छन् । ह्वाइट हाउसले यस विषयमा आउँदो साता चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा राष्ट्रपति बाराक ओबामाबीच छलफल हुने बताएका छन् । वासिङ्टन पोस्टले पेन्टागनको कागजातलाई उद्धरण गरी ह्याकरहरूले प्रमुख हतियार प्रणाली, क्षेप्यास्त्र रक्षा, युद्धक विमान तथा नौसैनिक जहाजका गोप्य डिजाइनमा पहुँच प्राप्त गरेको समाचार दिएको थियो । यसअघि चिनियाँ ह्याकरहरूले अस्ट्रेलियाको गुप्तचर संस्थाको नयाँ मुख्यालयको उच्च गोप्य जानकारी चोरेको समाचार आएको थियो ।

news and entertainment