रुसले क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा:-

बेरुत (एएफपी), जेष्ठ १७ - सिरियाली राष्ट्रपति बसार अल-असादले लेबनानको सिया आन्दोलन हेजबोल्लाहको टेलिभिजन च्यानल अल-मनारलाई दिएको अन्तर्वार्तामा रुसले आफ्नो सरकारलाई दिने भनेको हवाई रक्षा क्षेप्यास्त्र प्राप्त भएको बताएका छन् ।
यसले त्यहाँ कुनै पनि विदेशी हस्तक्षेपलाई जटिल बनाउने अनुमान गरिएको छ ।
असादको सबैभन्दा शक्तिशाली सहयोगी मस्कोले यसै साता सिरियालाई करारअनुसार एस-३०० क्षेप्यास्त्र उपलब्ध गराउने चाहना व्यक्त गरेको थियो । विपक्षी राष्ट्रिय गठबन्धनले मध्यपश्चिमी नगर कुुसेरबाट करिब एक हजार घाइते नागरिकलाई उद्धार गरिदिन आग्रह गरेको छ । राष्ट्रपति असादका सेना तथा हेजबोल्लाह लडाकु यस नगरलाई विद्रोहीबाट प्राप्त गर्न युद्ध गरिरहेका छन् ।
अन्तर्वार्तामा असादले अप्रत्यक्ष रूपमा रुसले केही एस-३०० क्षेप्यास्त्र उपलब्ध गराइसकेको स्वीकार गरेका छन् ।
जमिनबाट आकाशमा प्रहार गरिने क्षेप्यास्त्र उपलब्ध गराइको विषयमा सोधिएको प्रश्नमा असादले 'सम्झौतालाई रुसले पालना गर्ने र त्यसको केही भाग पालना भइसकेको' बताए ।
इजरायली रक्षामन्त्री मोसे यालोनले रुसले हतियार उपलब्ध गराएमा आफ्नो मुलुकले के गर्ने भन्ने कुरा बुझ्ने बताए ।
इजरायलले यस वर्ष सिरियाभित्र हवाई आक्रमण गरिसकेको छ । उसले लेबनानको हेजबोल्ला समूहलाई पठाउन लागिएको हतियारमाथि आक्रमण गरेको उल्लेख गरेको छ । रुसी विदेश उपमन्त्री सेर्गेई र्‍याबकोवले हतियार सिरियालाई स्थिर राख्ने एक तत्त्व भएको बताए । उक्त क्षेप्यास्त्रले युद्धक विमान तथा निर्देशित क्षेप्यास्त्रमाथि प्रहार गर्न सक्छ । यो अमेरिकाको प्याटि्रयोट क्षेप्यास्त्रजस्तै हो । नेटोले यो हतियार युद्धग्रस्त सिरियाको टर्कीसँगको सीमामा तैनाथ गरेको छ ।
मे ९ मा वाल स्टि्रट जर्नलले रुसले सिरियालाई क्षेप्यास्त्र बिक्री गर्ने योजना बनाएको र यसले विदेशी हस्तक्षेपलाई जटिल बनाउने भनी इजरायलले अमेरिकालाई चेतावनी दिएको समाचार प्रकाशन गरेको थियो । सिरियाले सन् २०१० मा रुसबाट यस्ता १ सय ४४ क्षेप्यास्त्र तथा त्यसलाई प्रक्षेपण गर्ने छ प्रक्षेपक प्राप्त गर्न ९० करोड अमेरिकी डलर तिरेको इजरायलले समाचार दिएको थियो ।

news and entertainment