राजनीतिको मुटु 'मधेस' : दाहाल

निजगढ (बारा), जेष्ठ १८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ले अगामी संविधान सभाको निर्वाचनमा पार्टीको रणनीति मधेस केन्द्रीत रहने बताएका छन् । नेपाली राजनीतिको मुटु 'मधेस' भएकाले मधेस केन्द्रित चुनावी रणनीति तयार गरी संविधानसभाको चुनावमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउने उनले दाबी गरे । पार्टीको जिल्ला संगठन समितिको आयोजनामा शनिवार बाराको बरियारपुर स्थित प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिर चौरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
'विगतको संविधानसभामा मधेसबाट धोक्का खाएकाले त्यसबाट पाठ सिकेर अबको राजनीति र चुनावी
रणनीति मधेस केन्दि्रत हुन्छ,' उनले भने, 'मधेस राजनीतिको मुटु हो भन्ने बुझेको छु ।' मधेसका नेता पहाड र पहाडका नेता मधेसमा ल्याउने पार्टीको चुनावी योजना अन्तर्गत आफुलगायत पार्टीका मुख्य-मुख्य नेता मधेसबाटै चुनाव लडने उनले बताए । सेतो कुर्ता, सुरुवाल र गम्छामा सज्जिएर बारामा पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुँदै उनले भने, 'पार्टीकै कमजोरीले मधेसमा माओवादी बलियो नभएर विगतको चुनावमा सोंचे जति मत परिणाम र सिट ल्याउन सकेनौं । अब सिट र मत दुबै ल्याउन मधेका अन्य पार्टीका नेता तान्न्दैछौं ।'
मधेसमा पार्टी बलियो बनाउन यहाँको आर्थिक, सामाजिक र भौतिक विकासका लागि रणनीति तयार भइरहेको उनको भनाइ थियो । सम्बोधनको अधिकांस समय मधेसकै मुद्दामा बिताएका उनले भने, 'मधेसको मुद्दा छोड्दैनौं, किनभने मधेसी जनता बेइमान छैन् ।' मधेसको मुख्य समस्या भंसार नाका, सडक र उद्योगको कारण हुने गरेकाले त्यसैलाई व्यवस्थापन गर्नकै लागि आफ्नो चीन र भारत भ्रमण रहेको उनले बताए । सभालाई उनले चुनावी सभा नभएको भन्दै यो सभा निर्वाचनको 'टेलर' को संज्ञा दिए । 'यो सभा टेलर मात्रै हो, फिल्म बाँकी छ ।'
एक अर्को प्रसङगमा उनले भने, 'आउँदो जेठ २० गते बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट चुनावको मिति मंसिरमा तोक्न सरकारलाई सुझाउने उनले जानकारी दिए । सरकार परिवर्तनको सन्दर्भमा उनले भने, 'डा. बाबुराम भट्टराइकै नेतृत्वमा सरकार भएको भए संविधान सभाको चुनाव भई संविधान बनिसक्थ्यो ।' संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबार आएको होइन, जनताको झुपडीबाट आएको हुनाले यसलाई रक्षा गर्न जनता जागनु पर्ने उनले बताए । सभा बाहेक उनी अन्य कार्यक्रममा तीन वटा कार्यक्रममा पनि सहभागी भएका थिए ।
उक्त अवसरमा उनले समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा शाहीकालका वन मन्त्री सलिम मियाँ अन्सारी, उनकी छोरी उषाकिरण अन्सारीसहित पाँच सयलाई अविर लगाएर पार्टी प्रवेश गराए ।

news and entertainment