८ इन्स्टिच्युटमा प्रहरी छापा

काठमाडौ, जेष्ठ २२ - नक्कली कागजपत्र बनाएर बिद्यार्थी भिसामा विदेश पठाउने ८ इन्स्टिच्युटमा प्रहरीले छापा मारेर त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बागजबजार पुतलीसडक, कंलकी र भक्तपुरमा रहेका कन्सल्टेन्सी र जापनिज भाषा पढाउने इन्स्टिच्युटमा छापमा मारेको हो ।
ब्युरोका अनुसार गत जेठ २ गते नक्कली कागजपत्र लिएर सिंगापुर हुदै जापान जान लागेका कास्की माझस्थानका यामबहादुर गुरुङलाई अध्यागमन बिभागले पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा राजधानीका अधिकासं कन्सल्टेन्सीले नक्कली कागजपत्र बनाएर मोटो रकम असुली विदेश पठाउने गरेको तथ्य खुलेको हो । त्यसरी विदेश पठाउँदा कन्सल्टेन्सीले जापान पुगेपछि होस्टल खर्च, प्लेन खर्च, कलेज र कन्सल्टेन्सीले गरेको मदत बापत पैसा लिएर विदेश पठाउने गरेको जनाएको छ । त्यसरी विदेश पठाउने पुतलीसडकको किमिनो जापनिज ल्याङग्वेज स्कुल, बागबजारको मिनिचि जापनिज ल्याङग्वेज स्कुल, अप्सन एजुकेसन कन्सल्टेन्सी पुतली सडक, नेपालरु इन्स्टिच्युट पुतलीसडक, इबिसु एजुकेसन इन्स्टिच्युट कंलकी, भक्तपुर जापनिज ल्याङगवेज स्कुल, युनाइटेड स्टडी सेन्टर बागबजारले पठाउने गरेको प्रहरीले जनाएको छ । त्यसरी बिद्यार्थी पठाउने कन्सल्टेन्सीका सञ्चालक र अन्य मतियारलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बस्नेतले गुरुङलाई शिक्षा मन्त्रालयको 'नो अब्जेक्सन लेटर', प्लस टु प्रमाणपत्र र ट्रान्सक्रिप्ट नक्कली बनाएर विदेश उडाउन लागेको जनाएको छ । यो गिरोहमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेश जान लागेका गुरुङ, कन्सल्टेन्सी सञ्चालक बस्नेत, अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका नवलपरासीका बिजय पाण्डे, किरण काफ्ले, आर आर क्याम्पस अखिल क्रान्तीकारीको इकाई सदस्य सरदराज पाठक छन् । यिनीहरुले गुरुङलाई नक्कली कागजपत्र बनाएर दिएका थिए । त्यसबापत १० लाख ८० हजार रुपैंया गुरुङले बस्नेतलाई दिएका थिए ।
यस्तै नुवाकोट राउतेवेसीकी २१ बषिर्य माया तामाङलाई जापान पठाउने मिनिचि जापनिज ल्याङग्वेज सेन्टरले नक्कली कागजपत्र बनाएर पठाएको प्रहरीले जनाएको छ । त्यसका सञ्चालक ईन्द्रकुमार लामा फरार छन् । तामाङलाई त्रिभुवन बिश्वबिद्यालयका नक्कली प्रमाणपत्र बनाएर पठाउन लागेको जनाएको छ । त्यसबापत तामाङले कन्सल्टेन्सी सञ्चालकलाई ९ लाख ५५ हजार रुपैंया बुझाएकी थिईन् ।
नेपाल कमर्स क्याम्पसको बिबिएस चारित्रिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट लगायतका अन्य कागजपत्र नक्कली बनाएर चितवनका प्रमोद भण्डारीलाई सिंगापुर हुदै जापान पठाउने अप्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक नबिन गौतम समातिएका छन् । चितवनकै उनले प्रमोदबाट ९ लाख ७५ हजार रुपैंया लिएको प्रहरीले जनाएको छ ।
यस्तै नेपारु इन्स्टिच्युट पुतलीसडकबाट नक्कली कागजपत्र बनाएर कास्कीका केशबचन्द्र सापकोटालाई विदेश पठाउने त्यसका सञ्चालक दिपेन्द्र अधिकारी फरार छन् । उनले सापकोटाबाट ९ लाख ६ हजार रुपैंया लिएको ब्युरोले जनाएको  छ । सिन्धुपाल्चोका राजु योञ्जनलाई जापान पठाउने भक्तपुर ल्याङग्वेज इन्स्टिच्युटका अमिर लिबीलाई प्रहरीले पक्राउ गरेको छ । उनले विदेश पठाएका योञ्जनको शिक्षा मन्त्रालयको 'नो अब्जेक्सन' लेटर लगायतका अन्य कागजपत्र नक्कली रहेको जनाएको छ । त्यसबापत ५ लाख ३२ हजार रुपैंया दिएको जनाएको छ । यस्तै २१ बर्षकी सञ्जु तामाङलाई नक्कली कागजपत्र बनाएर जापान पठाउने इबिसु एजुकेसन इन्स्टिच्युटका सञ्चालक रमेश तामाङको खोजी भइरहेको जनाएको छ । तामाङले ४ लाख ६० हजार रुपैंया लिएर उनलाई जापान पठाउन लागेका थिए ।
यस्तै नक्कली कागजपत्र नै बनाएर सिंगापुर हुदै जापान जान लागेका बाग्लुङका जीवन श्रीष समातिएका छन् । उनलाई टोकियो एजुकेसन फाउण्डेसनका सञ्चालक रमेश क्षेत्रीले ८ लाख २ हजार रुपैंया तिरेका थिए । युनाईटेड स्टडी सेन्टरले दुई जनालाई त्यसरी नै विदेश पठाएको पाइएको छ । उसले गुल्मीका रबि न्यौपानेलाई नक्कली कागजपत्र बनाएर १० लाख रुपैंया लिई विदेश उडाउन लागेको थियो । यस्तै डोटी छपालीका प्रकाशबहादुर सिंहलाई १० लाख लिएर विदेश पठाउन लागेका थियो । त्यसका सञ्चालक बिष्णु गिरी फरार रहेको प्रहरीले जनाएको छ ।

news and entertainment