एमाओवादीको केन्द्रीय समितिमा पेस गरिने एजेण्डा तय

काठमाडौँ, २५ जेठ। एकीकृत नेकपा (माओवादी)को पदाधिकारी र सङ्गठन विभागको संयुक्त बैठकले आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाहरुको टुङ्गो लगाएको छ। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा समसामयिक विषयका एजेण्डाहरु तय गरिएको सो पार्टीका महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव बोगटीले केन्द्रीय समितिमा थप गर्ने केन्द्रीय सदस्यहरु, पार्टीको स्थायी समिति, पोलिटब्युरो तथा विभिन्न विभागको गठनसम्बन्धी एजेण्डा टुङ्ग्याइएको जानकारी दिनुभयो। “पार्टीलाई व्यवस्थित बनाउने गरी राजनीतिक कार्यक्रमहरु अगाडि सार्ने गत माघमा सम्पन्न पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने गरी छलफल भयो, भोलि बिहान बस्ने सङ्गठन विभागको बैठकले थप विषयहरु टुङ्गो लगाउँछ”, महासचिव बोगटीले भन्नुभयो । यसैगरी उत्पादन, निर्माण तथा व्यवस्थापन विभागको गठन र सो विभागको सम्बन्धमा कार्यदलले तयार गरेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल भएको थियो।

एमाओवादीले गत माघमा सम्पन्न सातौँ महाधिवेशनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक उन्नतिको प्रक्रियालाई अगाडि बढाउने योजना अगाडि सारेको थियो। त्यस्तै बैठकमा नेकपा (एमाले) लगायतका राजनीतिक दलबाट एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल तथा अरु नेता तथा कार्यकर्ताहरुलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भएको महासचिव बोगटीको भनाइ छ।

उहाँले भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकले संविधानसभाको निर्वाचनलगायत पार्टीलाई व्यवस्थित बनाउने खालको योजना अगाडि सार्ने गरी पदाधिकारीको बैठकले एजेण्डा तयार पारेको र बाँकी रहेका विषयलाई भोलि बिहान बस्ने सङ्गठन विभागको बैठकले टुङ्गो लगाउने जानकारी पनि दिनुभयो।

फरक एक प्रसङ्गमा महासचिव बोगटीले राजनीतिक दलहरुकाबीच विवादित निर्वाचन कानुनलगायतका विषयमा पनि छलफल जारी रहेको र तत्कालै सहमति गर्नुपर्छ भन्नेमा एकमत रहेको जानकारी दिनुभयो।“दलहरुका बीच आ–आफ्नै अडान भने कायम छ, तर पनि अडानकै बीचबाट पनि सहमति खोज्नुपर्दछ भनेर पहल भइराखेको छ, महासचिव बोगटीले भन्नुभयो– “मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग आज बिहान भएको छलफल पनि त्यसैमा केन्द्रित रह्यो ।”एमाओवादीले आजका लागि तय गरेको केन्द्रीय समितिको बैठक तयारी नपुगेको भन्दै भोलिका लागि तय गरेको छ।

news and entertainment