विष्णु बुढाथोकी
• पहिलो संविधानसभालाई फर्केर हेर्दा किन असफल भयो जस्तो लाग्छ?
नेम्वाङः संविधानसभाबाट संविधान निर्माण गर्ने कार्य आफैंमा अप्ठ्यारो हुन्छ। यसका प्रक्रिया जटिल हुन्छन्। अर्को कुरा, नेपालको संविधानसभा विश्वकै सन्दर्भमा सबभन्दा समावेशी रह्यो। दलकै उपस्थितिको हिसाबले पनि ३१ भन्दा बढी छन्। दृष्टिकोण र मान्यताको हिसाबले पञ्चायतकालीन व्यवस्थाका साथीहरूदेखि संसदीय परिपाटी र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने दल अनि सशस्त्र द्वन्द्वबाट आएका दल छन्। जनजाति, क्षेत्र, मधेसी लगायतसँग सम्बन्धित दल छन्। यो विविधताबीच संविधान बनाउने कुरा आफैंमा चुनौतीपूर्ण हो। यसले पहिलो संविधानसभामा दलहरूबीच सहमति भएर पनि अन्तिममा सहमति भत्कन पुग्यो। विगतको अनुभव र यसैपटकको विविध अनुभव संगालेर अहिले दलहरू एक ठाउँ उभिन आइपुगे। यसले संविधानसभालाई संविधान निर्माण प्रक्रियाको टुंगोमा पुर्याउन सहज भयो।
नेम्वाङ: यो वा त्यो दल म भन्दिनँ। विषयअनुसार सबै दलका आ–आफ्ना अडान रहने गर्थे। व्यक्तिहरूका पनि त्यसैअनुरुप भूमिका रहने गर्थे । संक्षेपमा भन्नुपर्दा, दलहरूबीचकै विवादले सहमति भइसकेर पनि संविधान बन्न नसकेको हो। अहिले पनि विवाद निकै लामो समय रह्यो। एकपटक त संवादहिनताको स्थितिसमेत आयो। त्यसलाई अन्ततः एकठाउँ ल्याउन सकियो र संविधान बन्यो।
• त्यतिबेला तपाईंलाई कतिखेर अब संविधान बन्दैन भन्ने लाग्यो?
नेम्वाङ: जेठ २ गते ऐतिहासिक सहमति भएपछि अब संविधान बन्छ भन्ने लाग्यो । दलहरू प्रक्रिया छोट्ट्याउन पनि तयार भए। संविधान संशोधनसम्म गरियो। तर, जेठ ४ गते बिहानै अब त्यो सहमति कायम रहेन भनेर नेताहरूले भने। त्यतिबेला नै मलाई अब संविधानसभा गयो भन्ने लाग्यो।
संविधानसभा बैठक नबोलाएर आफ्नो भूमिका सही तरिकाले निर्वाह गर्न सक्नुभएन भन्ने आरोप पनि लाग्यो नि तपाईंमाथि !
नेम्वाङ: त्यसलाई म विनम्रतापूर्वक सुन्छु र सम्मान गर्छु। त्यसमा अलिकिति पनि सत्यता छैन। वास्तवमा सबै डकुमेन्ट प्रस्ट छन्। दलहरूबीच सहमति हुन नसक्दा संवैधानिक समितिले मस्यौदा तयार गर्न सकेन। कुनै डकुमेन्ट तयार गर्न सकेन। संवैधानिक समितिले संविधानसभालाई कुनै बिजनेस नै दिन नसकेपछि संविधानसभाले के गर्न सक्छ? के का लागि बैठक राख्ने?
• अहिले दोस्रो संविधानसभा के कारणले सफल भयो?
नेम्वाङ: मैले यसपालि सुरुदेखि नै मुख्य चुनौती दलहरूको विवाद नै हो भन्दै आएको थिएँ। एउटा समयमा आएर त साह्रै कडा रूपमा दलहरूको ध्यानाकर्षण गराएँ। तपाईंहरू सक्नुहुन्न भने मलाई अधिकार दिनुहोस्, म कालकुट विष पिउन तयार छु, जसरी पनि १० दिनभित्र मस्यौदा प्रस्तुत गर्छुसम्म भनेँ। अन्ततः महाभूकम्पपछिको अवस्थामा दलहरूले सहमतिको विकल्प नभएको महसुस गरे। जब दलहरू सहमतिमा आए, संविधान बन्न सहज भयो।
• यसपालि संविधान बन्छ भनेर कहिलेदेखि ढुक्क हुनुभयो?
नेम्वाङ: मलाई त पहिलेदेखि नै दोस्रो संविधानसभाले संविधान बनाउँछ भन्ने आशा र विश्वास थियो। तर, बढी विश्वास महाभूकम्पपछि भयो। भूकम्पछिको समयमा सबै दलका साथीहरूलाई भनेँ, यो विपत्ति हामीलाई स्तब्ध बनाउने घटनाका रूपमा आयो, तर यसलाई सदुपयोग गर्न सकिन्छ । यो बेला एकदमै लचिलो भएर समझदारी गर्नुभयो भने तपाईंहरूलाई कार्यकर्ताले पनि केही भन्दैनन्, जनता पनि खुसी हुन्छन्। यसपालि तपाईंहरूले संविधान दिनुभयो भने भूकम्पले आहत देश र जनतालाई सबभन्दा ठूलो मल्हम त्यही हुनेछ। मेरो यो प्रस्तावलाई दलहरूले सकारात्मक रूपमा लिए। उहाँहरू पहिलेभन्दा गम्भीरतापूर्वक सहमतिको प्रयासमा लाग्नुभयो। त्यसपछि मलाई लाग्यो, अब देश संविधान निर्माणको टुंगोमा पुग्ने दिशातर्फ लाग्यो।
• संविधान निर्माण प्रक्रियालाई सफल बनाउन व्यक्तिगत रूपमा क–कसले महत्वपूर्ण भूमिका खेले?
नेम्वाङ: यसपटक सबै दलले बढी जिम्मेवारी देखाए। मेरो यति मात्र आग्रह छ, अब त्यही जिम्मेवारीबोधका साथ उहाँहरूले असन्तुष्ट दलहरूसँग संवाद अघि बढाउनुपर्छ र सबै पक्षलाई प्रक्रियामा सामेल गराउन भूमिका खेल्नुपर्छ। अहिले उहाँहरू जसरी एकताबद्ध भएर संविधानको काममा आउनुभयो र संविधान निर्माणलाई सहज बनाउन भूमिका खेल्नुभयो, उहाँहरूको यो एकता आउने दिनमा पनि कायम रहनुपर्छ। संविधानलगत्तै अर्को चुनौती हाम्रो अगाडि आइसकेको छ– सहज र सफल कार्यान्वयन।
• यहाँहरूका अनेक प्रयासका बाबजूद केही सभासद र दल बाहिर हुनुहुन्छ। उहाँहरूलाई समावेश गर्न के कारणले असफल भइयो?
नेम्वाङ: उहाँहरूसँग धेरै छलफल चलेको हो। धेरै प्रयास पनि भएका हुन्। साँच्चै भन्ने हो भने प्रक्रियामा आउँदा आउँदै उहाँहरू फेरि बाहिरिन पुग्नुभएको हो। हामीलाई सम्झना छ, एकपटक एमाओवादी लगायत धेरै राजनीतिक दल संवादहिनताको स्थितिमा पुग्नुभएको थियो। पछि उहाँहरू सबै प्रक्रियामा आउनुभयो। त्यतिबेला उहाँहरूलाई ल्याउन संविधानसभाको बैठक सूचनाबेगर अनिश्चितकालका लागि मैले स्थगित गरेँ। त्यसबाट संवादहिनताको स्थिति समाप्त भयो। तर, दुःख केमा लागेको छ भने केही साथी फेरि पनि प्रक्रियाबाट बाहिर जानुभयो। त्यही भएर मैले पारित भएको दिनमा भनेको छु, यो संविधान संविधानसभामा रहेका र बाहिर गएका सबै दलको प्रयासको परिणाम हो। हिजो उहाँहरू संविधानसभामा क्रियाशील हुनुहुन्थ्यो। त्यतिबेलै बनाएका कतिपय आधारमा खडा भएर हामीले यो संविधानसभाबाट संविधान बनाएका छौं। त्यसकारण उहाँहरूले आफ्नो संघर्ष र प्रयासको परिणाम हो भनी यसलाई ग्रहण गर्नुपर्छ। यसको जगमा उभिएर केही नमिलेका कुरा मिलाउन उहाँहरू प्रयासरत रहनुपर्छ।
• मिलाउन सकिन्छ त?
नेम्वाङ: एउटाले बनाएको संविधान अर्कोले कुनै नाममा बहिष्कार गर्दै जाने हो भने संविधान बन्नै सक्दैन। संविधान बन्न सबैभन्दा बढी लोकतान्त्रिक प्रक्रिया नै यही हो। हामी सबैले स्विकार गरेको प्रक्रियाबाट संविधान बनाउने ठाउँमा पुगेपछि मेरो विमति रह्यो भनेर संविधान नै अस्विकार गर्ने कुरा ठिक हो भन्ने मलाई लाग्दैन।
• संविधानमा जनताले खुसी मान्नुपर्ने कुरा के के छन्? के के कमजोरी छन्?
नेम्वाङ: २००७ सालदेखिको जनताको चाहना र भावनाले मूर्तरूप लिएको छ। जनताले संविधानसभामार्फत संविधान बनाउन चाहेका थिए। यसअघि ०४७ सालको संविधान धेरै राम्रो संविधान हो भनी विज्ञहरू टिप्पणी गर्छन्। तर, त्यो जनताको सहभागितामा जनताका प्रतिनिधिले बनाएको संविधान थिएन। यो जनताद्वारा निर्वाचित संस्थाले बनाएको संविधान हो। यसको सबभन्दा ठूलो विशेषतै यही हो।
जहासँम्म विषयवस्तुका कुरा छन्, हामीले नेपालको इतिहासमा पहिलोपटक गणतन्त्र संस्थागत गर्यौं। संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई संस्थागत गर्यौं। अर्को कुरा, यो संविधान लचिलो छ। जनताको भावना समेट्दै परिमार्जन गरेर अगाडि बढ्न सकिन्छ। यो नेपालको संवैधानिक इतिहासकै प्रगतिशील र प्रजातान्त्रिक संविधान हो।
• यसको कार्यान्वयन चुनौतीलाई कसरी हेर्नुभएको छ?
नेम्वाङ: मैले ठट्टामा भन्ने गरेको छु, संविधानले अधिकार, कर्तव्य, बाँडफाँट, परिभाषा, राज्यसञ्चालनको व्यवस्था सबै गर्छ तर बुद्धि, विवेक र क्षमता बाँड्दैन। दलहरूले यति दुःखका साथ संविधान बनाउन भूमिका खेलिसकेपछि अब कार्यान्वयनमा भूमिका खेल्न सक्नुपर्छ। हैन भने राम्रो संविधानको अर्थ हुँदैन।
• अबको दिनमा तपाईंको राजनीतिक र सामाजिक भूमिका के रहन्छ?
नेम्वाङ: मेरो लागि राजनीति भनेको पेसा वा व्यवसाय होइन। यो कमाइ खाने भाँडो बन्नु हुँदैन। मेरो आफ्नो पेसा वकालत हो। यही व्यवसायमा लागेर पार्टी, देश र जनताको हितमा निरन्तर काम गर्ने इच्छा हो। अब दलले के भन्छ, दलहरूले के भन्छन्, जनताले के भन्छन् त्यो आफ्नो ठाउँमा छ।
प्रकाशित मिति: आइतबार, आश्विन ३, २०७२ १९:४०:५४
