कतारको मजरामा कैदी झैं जीवन काट्दै नेपाली
सुनिल न्यौपाने/उज्यालो ।
माघ २६ – उसै पनि उराठलाग्दो मरभूमिले मन एकतमासको बनाइदिन्छ । आँखाले देखुञ्जेल बलौटे भूमि बाहेक केहि छैन । कक्रक्क परेर लस्करै ठिङ्ग उभिएका खजुरका बोट कुनै कारखाना अघिल्तिरको रुखो चौकीदार झै लाग्छन् । यसो आक्कलझुक्कल घुमफिर गर्न आउने नेपालीसँगको भेटघाटले नै हो नेपालको तिर्सना मेटाउने ।
असरल्ल परेको कपाललाई ऊनीको टोपीले छोपछाप पारेका दिपकलाई यतिबेला झण्डै एकहात लामो पालुङ्गोको साग र हरियो धनियाँ मुठो पारी क्रेटमा हाल्न भ्याईनभ्याई छ । केहि बेरमै साग लिन गाडी आइपुग्छ । त्यसअघि नै उनले क्रेटहरुको थाक तयार पारिसक्नु छ । नत्र मुदिर(म्यानेजर) को खप्की खानुपर्छ । साग बोकेर गाडी बजारतिर लागेपछि मात्रै केहि बेरलाई होलो खुकुलो हुन्छ कामको ।
फेब्रुअरीको महिना हल्का चिसो छ । त्यसैले यतिबेला त दिनभरी काम गर्दा पनि उति सास्ती हुन्न । बिहान ६ बजेदेखि सुरु भएको काम बेलुका ६ बजेसम्म नै चलिरहन्छ । बीचमा दुई घण्टाको छुट्टी पाउँछन् । छुट्टी पनि के भन्ने र ? झुपडीमा फर्केर भात र कुखुराको मासुमा झोल हालेर खाइ सक्दा नसक्दै खेतमा फर्किने बेला भइहाल्छ । दिन र महिना मात्रै होइन उनका यौवनका थुप्रै बर्षहरु यसरी नै सुलुलु चिप्लिरहेछन् समालको मरभूमिमा ।
मामाले बोलाएर बिदेशी काम गर्न हिंडेका दिपकका मामा भाञ्जालाई उतै छोडेर उहिल्यै घर फिरिसके । मामाले भिराइदिएको जडौरी यो कामले उनलाई वाक्कै लाईसक्यो । कहिलेकाहिं त लाग्छ यहि मरभूमिमै परान(प्राण) जाने पो हो की ? सम्झिल्याउँदा पनि आतेस लाग्छ ।
बिदेशी काम दिपकलाई मात्रै होइन उनलाई पर्खेर उदयपुरको एउटा गाउँमा बसेकी उनकी बुढी आमालाई पनि पुगिसक्यो । फोन गरेपिच्छे आमाले घर आइज भनेर कराइरहन्छिन् । आखिर घर फर्केर बिहे पनि त गर्नुछ ।
दिपकलाई पनि मन नभएको कहाँ हो र ? कपिल(मालिक) ले फर्किन दिए पो ? विदेशमा काम गर्न पुगेकाहरुका लागि पासपोर्ट चराको पखेंटा जस्तै हो । कपिलले राखेको पासपोर्ट फिर्ता नदिएसम्म उनी नेपाल फर्किन पाउँदैनन् । आखिर मालिकको हात परेको त्यहि पासपोर्ट नै उनका लागि लगाम बनेको छ बाध्यताको कामको ।
गाउँबाट बाटो लाग्दा उनी दुईतीन बर्षलाई भनेर हिंडेका थिए रे । ८० हजार खर्च गरेर कतार पुगेका उनी सिधै समालको मरभूमिको बीचमा रहेको त्यो मजरामा पुगे । साँझ ढल्किंदै जाँदा ८० किलोमिटर टाढाको राजधानी दोहामा हुने झिलिमिलि उनले देखेका पनि छैनन् । उनले देखे त केवल उनीजस्तै केहि हजार कमाउने सपनामा कतार पुगेका नेपाली र बंगलादेशी कामदारको पसिनाले हरेक सिजनमा हरियो पारेको मरभूमिबीचको त्यहि मजरा र आँखाले देखुञ्जेलको अत्यासलाग्दो मरभूमि ।
घर फिर्ने मन गरेको पनि निक्कै भइसक्यो । मुदिरलाई भन्यो कपिललाई देखाइदिन्छ । अनी कपिलले अर्को बर्ष वा दुईचार महिना पछि भन्दै धकेलिरहेछ उनको नेपाल फर्किने मितिलाई । अव तीन महिनामा त कसो घर फर्किन नपाइएला र ? उनको मनले यहि भन्दैछ । जाँदा लिएको ऋण पनि त निखनिसके उनले । कमाई सम्झेर ल्याउँदा बिरक्ति अझै बढ्छ रे । ६ सय रियाल सुख्खा तलव । खानेकुरा सवै आफैंले किन्नु पर्छ । हरेक बर्षको ईदमा कपिलले दिने एकबोरा चामलले महिना दिन पनि पुग्दैन । जति फारुतिनो गर्दा पनि डेढसय रियाल त खानामै खर्च भइहाल्छ । त्यसैले चार देखि साढे चारसय रियाल मात्रै हो महिनाको कमाई । नेरुमा हिसाव गर्दा १२ हजारको हाराहारी हुँदो रै’छ ।
कहिलेकाहिं मजरामा आउने नेपालीलाई आफैंले पालेका हाँस, कुखुरा काटेर पकाइ तुल्याई गरेर खुवाउँदा खुसीले उनीहरुले दिने एकदुई सय रियाल नै हो ओभरटाइम आम्दानी । यति कमाईका लागि बित्थामा आएँछु भन्ने त लागिरहन्छ । तर कपिलले राखेको पासपोर्ट फिर्ता नदिएसम्म कसरी घर फिर्ने र ? तर पनि अव चैं तीन महिनाको भाखा राखेको छ रे कपिलले । त्यहि आशमा फर्किने जहाजको टिकट काट्ने पैसाको पनि जोहो गरेर बसेका छन् दिपक ।
के अव फेरी उनी कतार फर्केलान् त ? ‘अहँ ज्यान गए पनि आइन्न अव त यो ठाउँमा, के खोज्न आउनु र ?’ उनले गरेको निधो यहि हो । त्यहि कतारको बालुवा खेलाउँदै उनले नेपाल फर्केपछिको जीवन गुजाराको मेलोको योजना समेत बुनिसकेका छन् । ‘याँ(यहाँ) बालुवामा खेती गर्दा त कमाई नै हुँदो रै’छ र त हामीजस्तालाई ल्याउँदो हो, नेपालमै खेती गरे पनि कमाइ हुन्न होला र ?’ अर्थात दिपक अव नेपाल फर्केर बिहे गरी आफ्नै माटोमा पौरख गर्ने निश्कर्षमा पुगेका छन् । सायद अरु धेरै नेपालीले बिदेशमा सिकेको कुरा पनि यहि हो, गरे आफ्नै देशमा के हुन्न र ?
http://ujyaaloonline.com/

.jpg)