किन माग्दैछन् रेखासंग आफ्ना बालबच्चा राउटेहरु?

अभिनेत्री रेखा थापाले पढाउन भनेर लगेका लोपोन्मुख जाति राउटेका बालबालिकालाई अभिभावकले फिर्ता बोलाउने भएका छन्। रेखा थापा फाउन्डेसन नामक संस्था खोलेर राउटेका बच्चालाई छोराछोरीजस्तै गरी पढाउने भनी उनले अढाई महिनाअघि काठमाडौं लगेकी थिइन्। बूढानीलकण्ठमा पढाउँछु भनेर लगेका राउटेका बालबालिकालाई अर्को विद्यालयमा भर्ना गराएको र अभिभावकलाई भेट्न नदिएको भन्दै फिर्ता ल्याउन लागेका हुन्।
raute
राउटे अगुवा दानसिंह राउटेले अभिभावकलाई भेट्न नदिएको र लानुअगाडि गरेको वाचा पूरा नगरेकाले फिर्ता गर्न रेखा थापालाई आग्रह गरेको बताए। अहिले रेखा थापाले लगेका राउटेका बालबालिकालाई आनन्दकुटी विद्याश्रममा भर्ना गरिएको छ। ‘म आफैं भेट्न गएको थिएँ। तपाईंलाई भेट्न दिन मिल्दैन। रेखा थापाले भनेपछि मात्र भेट्न दिन्छौं भन्यो’, अभिभावक दानसिंहले टेलिफोनमा भने, ‘हाम्रा छोराछोरी हामीले नै भेट्न नपाउने?’

रेखा थापा र उनको संस्थाका मान्छे पनि बालबालिका रेखदेख गर्न नगएको दानसिंहको भनाइ छ। डडेलधुरा, जोगबूढाका दानसिंहका छोरा लक्ष्मण, उनका भाइकी छोरी यशोदा र रूपाकुमारी एवं सिर्सका मञ्जु राउटेलाई रेखाले काठमाडौं लगेकी थिइन्। मञ्जुको त हात भाँचिएको समेत दानसिंहको दाबी छ।

नेपाल राउटे विकास संघका अध्यक्ष दानसिंहले अन्य अभिभावकले समेत आफूलाई गाली गरिरहेको बताए। ‘पहिले भनिएअनुसार बूढानीलकण्ठमा नहुने भए हाम्रो बच्चा फिर्ता गरिदिनुहोला’, दानसिंहले भने। बालबालिका लाँदा कुनै सम्झौता नगरेर आफूले गल्ती गरेको दानसिंहको भनाइ छ।

रेखाले लगेका राउटेका बालबालिका जंगलमा बस्ने नभई तीन दशक अघिदेखि घरबार गरी बसेका राउटेका बच्चा हुन्। सुदूरपश्चिमको जोगबूढा र सिर्स गाविसमा तीन दशकअघि नेपाल सरकारले लगभग चार सय राउटेलाई पुनर्स्थापना गरेको थियो। सो स्थानमा सरकारले राउटेका लागि विद्यालयसमेत स्थापना गरिदिएको छ। उता सुर्खेतको कटकुवाको जंगलमा अझै एक सय ४४ जना राउटे बस्दै आएका छन्।आजको अन्नपुर्ण पोष्टमा खबर छ |

,

news and entertainment