११ दिनमा १११ किलोमिटर सडक कालोपत्र गर्न निर्देशन !
काठमाडौँ उपत्यकाभित्र जारी सडक विस्तार अभियानमा ढिलाइ भएकोमा सर्वत्र आक्रोश छ । यस्तोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार १५ गते दिएको निर्देशन बमोजिम प्रधानमन्त्री कार्यालयले निर्माण व्यवसायीलाई असार मसान्तभित्र काम पूरा गर्न आग्रह गरेको हो ।
सो कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा नेतृत्वको टोलीले आज स्थलगत अनुगमन गर्दै जनताको अपेक्षा, विभिन्न सरोकारवाला निकायको निर्देशनअनुसार काम सम्पन्न गर्न आग्रह गरेको हो ।
काठमाडौँ उपत्यकामा हालसम्म सडक विभागबाट ६५ किलोमिटर, काठमाडौँ महानगरपालिकाबाट १७ किलोमिटर र अधिकार सम्पन्न वागमती सभ्यता कार्यक्रमबाट चार किलोमिटर गरी ८६ किलोमिटर सडक कालोपत्र भएको छ ।
अनुगमनको क्रममा उहाँले असार मसान्तसम्म थप २५ किलोमिटर सडक कालोपत्र गर्न निर्देशन दिनुभएको हो ।
सचिव बाँस्कोटा नेतृत्वको अनुगमन टोलीले माइतीघर मण्डलादेखि तीनकुने कोटेश्वरसम्मको सडक अनुगमन गरेको थियो । सो सडकको काम यही असार मसान्तभित्र सम्पन्न गर्न, सार्वजनिक स्थलमा निर्माण सामग्री राखी व्यक्तिगत घर निर्माण गर्न नदिन, हरियालीका लागि वृक्षरोपण गर्न र बिजुली बजार एवम् तीनकुने नजिक पुल निर्माणको काम सुरु गर्न आग्रह गर्नुभएको थियो ।
अनुगमन टोलीले सिनामङ्गल हुँदै बागबजारसम्मको विस्तारित सडक अनुगमन गरेको थियो । सो सडकको काम आगामी चार महिनाभित्र सम्पन्न हुने डिभिजन इन्जिनियर श्याम खरेलले जानकारी दिनुभयो ।
सो सडकखण्डमा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम भइरहेको छ । लाजिम्पाट खानी विभागदेखि बुढानीलकण्ठसम्मको चारवटा खण्डमध्ये महाराजगन्ज चोकदेखि गल्फुटारसम्मको खण्डको काम ढिलाइ भएको अनुगमनको क्रममा देखिएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौँ जिल्ला आयुक्तको कार्यालयबाट चालु आर्थिक वर्षमा थप ४० किलोमिटर, ललितपुरबाट सात किलोमिटर र भक्तपुरबाट तीन किलोमिटर सडक विस्तार गरिएको छ ।
प्रत्येक महिना स्थलगत रुपमै अनुगमन गर्नुका साथै प्रत्येक महिना प्रधानमन्त्री कार्यालयमा समीक्षासमेत गर्ने गरिएकाले सडक निर्माणको कामले हालको प्रगति हासिल गर्न सफलता प्राप्त भएको हो ।
अनुगमनको क्रममा सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलालगायतको सहभागिता रहेको थियो ।
