छोरि बुहारी जोगाउन सारो पर्यो
काठमाडौं २६ माघ (ओएनएस) : निजगढ (बारा) , माघ २६ ( पत्रहटी(९ का २५ वर्षीय वृजकिशोर सहनी र भवानीपुर जितपुर माइती भएकी २० वर्षीया खुस्बु सहनीबीच २ वर्षअघि राजीखुसी वैवाहिक सम्बन्ध जोडियो ।
उनीहरू खुसी थिए । खुस्बुको माइतीबाट विवाहमा लाखौं खर्चिएको थियो । धुमधामले विवाह हुँदा छिमेक, आफन्त उत्साहित भएर जन्तीमा रमाए । तर खुस्बुले मुस्किलले २ वर्ष दाम्पत्य जीवन बिताउन पाइन् ।
उनले विवाहको २ वर्ष नपुग्दै ज्यान गुमाइन् । माइतबाट घर बनाउन पैसा नल्याएकोे निहुँमा उनी मारिइन् । हत्या आरोपमा खुस्बुकी सासू लक्ष्मिनिया देवी बिहीबार पुर्पक्षका लागि जेल चालन भएको प्रहरीले जनायो ।
उनको शव खोज्दै जाँदा मारिएको ४ दिनपछि गाउँ नजिक खोलामा गाडिएको अवस्थामा गत पुसको तेस्रो साता प्रहरी र माइती पक्षले भेटायो । घटनापछि माइतीको उजुरीका आधारमा अनुसन्धान गर्दा दाइजोको निहुँमा कर्तव्य गरी मारिएको प्रहरी अनुसन्धानले देखाएको छ । खुस्बुका भाइ दीपेन्द्र सहनीका अनुसार दिदीले घटनाको ४ दिनअघि मोबाइलमा घर बनाउन पैसा पुर्याइदेऊ नत्र मारिन्छु भनेकी थिइन् । ुफोन गरेको तेस्रो दिन मारिन्,ु उनले भने । दिदीलाई ुपैसाु का लागि केही महिनादेखि घरमा दबाब, कुटपिट र यताना दिँदै आएको उनले बताए ।
यस्तै गत वर्ष पुस ११ मै प्रस्टोका ५ की १८ वर्षीया किशोरी बिन्दु ठाकुरलाई बाबुले जलाएर मारेको घटना नसेलाउँदै सोही गाविस २ की २२ वर्षीया मोफिदुन नेसाको नागरिकता बनाइदिन भनेपछि श्रीमान् र सासूससुराबाट हत्या भयो ।
यसैगरी प्रस्टोका १, हरपुर टोलकी २३ वर्षीया नइमा खातुनलाई बच्चा नजन्माएको आरोप लगाउँदै उनका श्रीमान् अजमुदिन हक देवान, ससुरा जयतुल्लाह हक देवान र सासू सायदा खातुनले कुटपिट गरी हत्या प्रयास गरेपछि स्थानीयले उद्धार गर्दा उनको ज्यान जोगिएको थियो । यी सबै घटनाका आरोपीहरू पुर्पक्षका लागि थुनामा छन् ।
हरैया ३ की मंजु देवीलाई जलाएर हत्या गरियो । उनको शव रातारात भारत लगेर गायब गरियो । शरीरमा आगो लगाई कर्तव्य गरी मारिएकी उनको शव उपचारका नाममा एम्बुलेन्समार्फत रातारात सीमा पारी पुर्याएर दाहसंस्कार गरिएको सुराक पाएपछि प्रहरीले मन्जुका पति गगनदेव र जेठाजु सत्यनारायणलाई समात्यो ।
पछि प्रहरीले मन्जुका माइतबाट परेको उजुरीका आधारमा छानबिन गरी मुद्दा चलाउँदा अदालतले पति गगनदेवलाई सादा तारेखमा छाड्यो । जेठाजु सत्यनारणलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठायो ।
यस्तै कलैया नगरपालिका १४ विश्वम्भरपुरमा ३५ वर्षीय ललितादेवी कुसवाहालाई उनका पति शंकर कुसवाहाले माइतीबाट दाइजोस्वरूप जग्गा नलिएको आरोपमा बन्चरो प्रहार गरी हत्या गरे । मार्ने शंकर थुनामा छन् । कुडवा(३ की १९ वर्षिया संगीतादेवी साहका हकमा पनि त्यसै भयो । उनले पनि मुस्किलले एक वर्ष दाम्पत्य जीवन बिताउन पाइन् । पछि माइती र ससुरा मिलेर घटना सामसुम पारियो ।
पछिल्ला केही वर्ष जिल्लामा जग्गामा स्वामित्व, यौन हिंसा, प्रेमसम्बन्ध, दाइजोलगायत सामाजिक कुरीतिका आवरणमा छोरी, बुहारी हिंसामा परिरहेका छन् । यस्ता हिंसा र परम्पराका कारण कतिपय मारिएका छन् । कतिपय हिंसा सहेर मृत्युबाट जोगिएका छन् । नागरिकतासहित सम्पत्तिमा हक खोज्दा र सन्तान जन्माउन नसक्दासमेत छोरीबुहारी मारिने गरेका छन । यिनै कारण शृंखलाबद्ध तरिकाले छोरीबुहारी परिवारबाट मारिने क्रम बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।
यस्ता घटनामा घरेलु धारिला हतियार, लट्ठी, बाँसका चिर्पट, आगो प्रयोग गरिएको देखिन्छ । यस्ता घटनाले छोरीबुहारी जोगाउन मुस्किल पर्दै गएको जानकार बताउँछन् । प्रहरीको तथ्यांककमा विगत २ वर्ष अवधिमा कम्तीमा ११ जना छोरीबुहारी मारिएको घटना दर्ता छन् ।
महिला हिंसाको उच्च जोखिममा रहेको ठाउँमा अझै कति घटना सार्वजनिक नभएर सामसुम पारिएकाले प्रहरीमा दर्ता छैन । उजागर भएपछि घटना अझ बढी हुने सम्भावना देखिन्छ । प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरे भन्छन्, ुकतिपय अवस्थामा अस्पतालबाट पोस्टमार्टम रिपोर्ट स्पष्ट नआउँदा मुद्दा चलाएर छानबिनको दायरामा ल्याउन सकिँदैन । पोस्टमार्टम रिपोर्ट अस्पष्ट भएपछि अनुसन्धान बढ्ने अवस्था हुँदैन् ।ु समाजबाट यस्ता घटनाको ढाकछोप हुँदा यस्तो प्रवृत्ति बढेर गएको उनको बुझाइ छ । यस्ता घटना आवेश र चेतना अभावले हुने गरेको उनी बताउँछन् ।
'छोरीबुहारीलाई हिंसाबाट जोगाउनै मुस्किल छ, सानो कारणले ज्यान जोखिममा परिरहेको छ, महिला अधिकार सन्जाल अध्यक्ष निभा सिंहले भनिन्, 'छोरीबुहारीलाई परनिर्भर सम्भिmने प्रवृत्ति र पुरुषको नियन्त्रणमा रहनुपर्ने बाध्यताले भविष्य भयावह छ ।' विवाह गर्ने उमेर पुगेकी किशोरी र बुहारीको भविष्य उस्तै रहेको उनी बताउँछिन् । यहाँ यस्ता किशोरी दाम्पत्य जीवन बिताउन पाउँदैनन् । पितृसत्तात्मक सोचमा परिवर्तनं, शिक्षाको विकास र समाजमा अन्याय पच्न नदिने वातावरण बने घटनामा कमी आउने उनले बताइन् ।
यस्ताखाले हिंसा रोक्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट चेतनामूलक अभियान चलाउँदासमेत रोकिएको छैन । गत वर्ष जिविसले लाखौं खर्च गरी यस्ता घटना हुने सम्भावित गाविस पिप्राढी, भोडाहा, हरैया, बरियारपुर, गन्जभवानीपुर, दहियार, मटिअर्वा, बसतपुर, पिपरपाती जब्दी, इनर्वासिरा र कलैया नगरपालिकामा अभियान चलाएको थियो । अर्कातिर घटनालाई रोक्न दातृ निकाय ुएडीबीु ले प्रहरीमार्फत ठूलो लगानी गरेको छ । महिला विकास कार्यालयले हिंसाविरुद्ध गाउँगाउँमा पारालिगल कमिटीमार्फत चेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर अवस्था फेरिएको छैन ।कन्तिपुरबाट
