वामदेव गौतम ‘एक नम्बर भ्रस्ट मन्त्री
काठमाडौं। राजधानीको खुलामञ्चबाट १५ वर्षअघि एमालेले ‘एक नम्बरको भ्रष्टाचारी’ घोषणा गरेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा ‘एक नम्बर मन्त्री’ को थान्कोमा पठाएको समाचार आजको अन्नपूर्णपोष्टमा माधव ढुङ्गेलले लेखेकाछन्।
पार्टी विभाजन गरी नेकपा माले बनाउने प्रमुख पहलकर्ता गौतम कालान्तरमा एमालेमै फर्किए। बितेका १५ वर्षमा उनीमाथि लागेको आरोप स्मृतिबाट नहटे पनि निरन्तर सत्ता राजनीतिको आरोह र अवरोहमा रहिरहेका छन्।
खुलामञ्चबाटै भ्रष्टाचारी ठहर भए पनि भ्रष्टाचारविरोधी कुनै सरकारी निकायले उनीमाथि छानबिन गरेको छैन। भ्रष्ट घोषणा गर्दा ताली बजाउनेहरू पनि अहिले उनकै कार्यकर्ता छन्। गौतम तेस्रोपटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका छन्। १७ वर्षबीच उही पदमा उनी तीनैपटक फरक पार्टीका प्रधानमन्त्रीसँग दोस्रो हैसियतसहित मन्त्री भएका हुन्।
संयुक्त सरकारमा पहिलोपटक २०५४ सालमा उपप्रधानमन्त्री हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए। २०६५ सालमा दोस्रोपटक सत्तासीन हुँदा एमाओवादीका पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। तेस्रोपटक सोही पदमा जाँदा अहिले कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री छन्।
वामदेव गौतमको व्यक्तित्व पनि यस्तो भइसक्यो, उनी मन्त्री भन्नेबित्तिकै स्वत: गृहमन्त्रीको तस्बिर आउने गर्छ। अहिले पनि सरकार विस्तार हुन दुई साता ढिलो हुनुको कारण गौतमलाई गृहमन्त्री दिने कि नदिने भन्ने विवाद नै हो।
अग्ला र हट्टाकट्टा गौतम धेरैका निम्ति रक्षाकवच नै बन्ने गरेका छन्। पहिलोपटक गृहमन्त्री बन्दा सबै प्रतिक्रियावादीलाई एउटै ‘खाल्डो’ मा हाल्ने धम्की दिँदाको उनको व्यक्तित्व धेरैपटक समयअनुसार फेरिएको महसुस हुन्छ।
संयुक्त सरकारमा एमालेको नेतृत्व गर्दा गौतम सधैं प्रधानमन्त्रीका रक्षाकवच बनेका थिए। चन्द सरकारमा त गौतम ‘डिफ्याक्टो’ प्रधानमन्त्रीझैं लाग्थे। दाहाल नेतृत्वको सरकारमा रहँदा गौतमलाई एमालेभित्रैको विरोधी खेमाले ‘माओवादीपरस्त’ को आरोप लगायो। अहिले भने कोइरालाको स्वभाव गौतमसँग त्यति मिल्दैन।
सरकार बन्नुअघि नै सम्बन्ध तिक्त भएको यो गठबन्धन भने गौतमका लागि पहिलेका दुई सरकारभन्दा फरक हुने अनुमान छ। प्रधानमन्त्री कोइरालाले समेत गौतमलाई गृहमन्त्री नदिन गरेको प्रयासले पनि अहिलेको सत्ता साझेदारी उनका लागि सहज हुनेछैन।
पहिलोपटक गृहमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री चन्दको मूल्यांकनमा गौतम साह्रै सजिला साझेदार हुन्। ‘प्रधानमन्त्रीले भनेपछि उहाँ कहिल्यै नाइँनास्ती गर्नुहुन्न। उहाँले पूरा सहयोग गर्नुहुन्छ। मिलेर काम गर्नुहुन्छ’, चन्दले अन्नपूर्णसँग भने, ‘चित्त नबुझे खुलेर कुरा गर्नुहुन्छ, मनाउनुहुन्छ। गर्नुहोस् भनेपछि मात्र गर्नुहुन्छ। पेल्न खोज्नुहुन्न। सरसल्लाह पनि दिनुहुन्छ।’
त्यसबेला प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले दुई आईजीपी राख्ने सल्लाह गर्दा पहिले सहमति जनाएको र पछि प्रधानमन्त्रीलाई भेटेर यस्तो निर्णय गरे रक्तपात हुने बताएपछि आफूले पनि हटाउन सहमति जनाएको खुलासा उनले गरे। चन्दले गौतम दूरदर्शी निर्णय गर्ने नेता भएको बताए।
‘गौतमले २०५४ सालमै माओवादीसँग शान्तिवार्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याउनुभएको थियो’, चन्दले सम्झे, ‘हामीले सार्वजनिक सञ्चारमाध्यमबाट माओवादीलाई शान्तिवार्ताका लागि आह्वान गर्ने, त्यसपछि माओवादीले युद्धविराम गरी शान्तिवार्ता थाल्ने भन्ने थियो। त्यसैबीच अविश्वास प्रस्ताव आयो, भ्याइएन।’
चन्द सरकारमै गौतमपछिको मर्यादामा मन्त्री भएका एमालेका पूर्वनेता राधाकृष्ण मैनालीको मूल्यांकनमा भने गौतम सत्ता-साझेदारीका लागि सजिला पात्र हैनन्।
‘उहाँमा अचानक नयाँ कुरा ल्याएर तत्कालै निर्णय गरिहाल्नुपर्ने स्वभाव छ। लामो सोचाइ नराखी निर्णय लिइहाल्नुहुन्छ। यो संयुक्त सरकारका लागि राम्रो हैन’, एमाले छाडेका वामपन्थी नेता मैनालीको मूल्यांकन छ, ‘अहिलेका प्रधानमन्त्री सुशीलजी सही निर्णय पनि ठीक समयमा गर्न नसक्ने अप्ठ्यारा हुनुहुन्छ। यो उहाँको भन्दा उल्टो स्वभाव हो।’ प्रधानमन्त्री पनि अलि हक्की हुने हो भने गौतम सबैभन्दा सहयोगी हुने मैनालीले बताए।
२०५४ सालमा एमाले ८७ सिटसहित संसद्को सबैभन्दा ठूलो पार्टी थियो। सत्ता साझेदार राप्रपाको १९ सिट थियो। २०६५ सालमा दाहाल प्रधानमन्त्री हुँदा एमाओवादीको दुई सय ३७ र एमालेको एक सय आठ सिट थियो। दुवै वामपन्थी दलको गठबन्धन गौतमका लागि सहज थियो।
मैनालीको मूल्यांकनमा गौतम फकिर नेता हुन्। उनी पार्टीका लागि जे गर्दा पनि अपराध नहुनेमा विश्वास गर्छन्। आफूसँग भएको रकम सबै बाँड्ने स्वभावका गौतमले पार्टी कोषमा चार लाख रुपैयाँ हुँदा सुरु गरेर एमाले केन्द्रीय कार्यालय भवन बनाएको मैनालीले बताए। ‘माधव, सीपीसँग हिँड्दा भोकै हिँड्नुपर्थ्यो तर वामदेवसँग हिँड्दा टन्न खाएर ठाँटले हिँडिन्थ्यो’, उनले पुराना दिन सम्झे, ‘आन्दोलनमा सडक सुनसान बनाउन सक्दा दंग पर्ने स्वभाव छ।’
गौतमको उदय
६६ वर्षअघि प्युठानमा जन्मेका गौतम एमालेका चार शीर्ष नेतामध्ये सबैभन्दा पुराना हुन्। उनी २०२१ सालका पार्टी सदस्य हुन् भने अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता ओली २०२६ सालपछिका। गौतम मदन भण्डारी, जीवराज आश्रितसँगै मुक्तिमोर्चा समूह हुँदै मालेमा प्रवेश गरेका हुन्।
२०३३-३४ सालतिर केन्द्रीय कारागारमा भेट भएको स्मरण गर्दै मैनालीले सम्झे, ‘उहाँ खुलस्त कुरा गर्ने मान्छे, जेलमा त्यस्ता मान्छे पाइन्नथे। त्यसैले मित्रता बढ्यो। त्यसपछि एउटै पार्टी बनायौं।’
२०३७ सालमा जेलबाट छुटेपछि मालेको केन्द्रीय सदस्य भएका गौतम २०४८ सालको पाँचौं महाधिवेशनपछि स्थायी समिति सदस्य भए। २०५० सालमा दासढुंगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधनपछि गौतम संगठन विभाग प्रमुख भए। ‘दासढुंगा हत्याकाण्ड’ छानबिनको माग गर्दै भएको आन्दोलनका कमान्डर बनाइएपछि गौतमको उचाइ बढेको थियो।
२०५१ सालको चुनाउमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतबाट अल्पमतको सरकार बनाएर तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, महासचिव माधवकुमार नेपाल, केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत सबै मुख्य नेता मन्त्री भएपछि गौतमका लागि विधानमै नभएको उपमहासचिव पद सिर्जना गरियो। गौतमले कार्यवाहक महासचिवको हैसियतमा पार्टी हाँक्न थाले।
माथि चढ्दै, तल झर्दै
अल्पमतको सरकारविरुद्ध कोही पनि कार्यकर्तालाई बोल्न नदिई सरकार लोकप्रिय बनाउनुमा गौतमको फलामे अनुशासनले काम गरेको थियो। एमाले सरकार नौ महिनामा ढलेपछि पुन: राप्रपासँगको सत्ता समीकरण मिलाउने नेता राधाकृष्ण र गौतम थिए। २०५४ सालमा गौतम उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए। उनी गृहमन्त्री हुँदा भएको स्थानीय चुनाउमा एमालेले ठूलो सफलता पायो। त्यसपछि उनको उचाइ शिखरमा पुग्यो।
‘महाकाली सन्धि’ विवाद उत्कर्षमा पुगेपछि पार्टीभित्रका ‘स्थायी प्रतिपक्षी’ सीपी मैनालीसहित ४० प्रतिशत सभासद् लिएर गौतमले २०५४ फागुन २१ मा एमाले फुटाएर नेकपा माले गठन गरे। उनी मालेको महासचिव बने। त्यसपछि एमालेले खुलामञ्चमा सभा गरेर गौतमलाई ‘एक नम्बरको भ्रष्टाचारी’ घोषणा गर्यो।
गौतमले देशव्यापी ठूला सभा गरेर ठूलो दल हुने घोषणा गरे। २०५६ सालको स्थानीय चुनाउमा मालेले नारा दियो- ‘आगामी सरकार मालेको, देशभक्त र वामपन्थीको।’ तर चुनाउमा पार्टी ‘शून्य सिट’ भयो।
२०४८ र २०५१ सालमा बर्दियाबाट जितेका गौतम आफैं पनि काठमाडौं र बर्दिया दुई क्षेत्रबाट पराजित भए। बर्दियामा त उनी कांग्रेसकी सामान्य कार्यकर्ता काशी पौडेलसँग पराजित भए। त्यसपछि गौतमको राजनीति सबैभन्दा संकटमा परेको थियो।
माले महासचिव भएका बेला २०५८ फागुन ३ गते गौतमले आत्तिएर एमालेमा पार्टी विलय गरे। ‘सबैसँग छलफल त गर्नुभयो तर एमालेमा विलय हुने निर्णयचाहिँ एक्लै गर्नुभयो’, त्यसबेला मालेका स्थायी समिति सदस्य राधाकृष्ण मैनाली सम्झन्छन्।
एकतापछि गौतम एमाले स्थायी समिति सदस्य भए। ‘माघ १९’ को शाही कदमपछि गौतम लामो समय थुनामा परे। २०६४ सालको संविधानसभा चुनाउमा पनि उनी बर्दियाबाट माओवादीकी सरला रेग्मीसँग पराजित भए। २०६५ फागुनमा भएको बुटवल महाधिवेशनमा गौतम एमाले उपाध्यक्ष भए। त्यसपछि फेरि उनको उत्थान सुरु भयो।
माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनको राजीनामा मागेपछि पार्टीभित्र गौतम सबैभन्दा आलोचित बनेका थिए। राजीनामा माग्दै उनीसहित ६० जनाको ज्ञापनपत्र बुझ्न अध्यक्ष खनालले अस्वीकार गरेपछि इमेलबाट पठाए। त्यसपछि खनालले समेत उनलाई कार्यवाहकको जिम्मा नदिई अर्का उपाध्यक्ष अशोक राईलाई दिन थाले।
गत मंसिरको संविधानसभा चुनाउमा बर्दिया र प्युठान दुई ठाउँबाट जितेपछि गौतम २०५४ सालकै उचाइमा फर्केका छन्। उनी सिंगो पश्चिमका एमालेका सबैभन्दा ठूला नेता हुन्। सबैभन्दा बढी कम्युनिस्ट महासचिव जन्माउने जिल्ला प्युठानमा पहिलोपल्ट एमालेले जित्यो- त्यो पनि दुवै सिट।
चुनाउमा उनी पक्षका ३० भन्दा बढी सभासद् जितेर आएपछि संसदीय दलमा उनी निर्णायक बने। अनुमानविपरीत केपी ओलीसँग गठबन्धन गरी ओलीलाई संसदीय दलको नेता बनाएपछि गौतम चर्चाको शिखरमा पुगे।
कि शून्य, कि सय
गौतम कुनै विषयमा कि शून्य डिग्रीमा हुन्छन् कि सयमा। उनी बीचमा रहँदैनन्। ‘उहाँ निर्णय लिन सक्ने मान्छे हो। जोखिम मोल्ने आँट पनि प्रशस्त छ तर त्यति सावधानीचाहिँ अपनाउनुहुन्न’, गौतमनिकट एमाले युवानेता रवीन्द्र अधिकारीको मूल्यांकन छ, ‘उहाँका धेरैजसो निर्णय सही नै साबित भएका छन्। राम्रो योजना बनाउने र मिलेर काम गर्ने खुबी पनि छ।’
करिब ३० वर्ष गौतमसँग एकै समितिमा रहेर काम गरेका त्रिलोचन ढकाल निर्णयमा नअडिने स्वभावबाहेक उनमा खासै दुर्गुण देख्दैनन्। ‘हक्की स्वभाव, प्रस्ट वक्ता, भावपूर्ण आवाज छ। अध्ययन, लेखन र व्याख्याविश्लेषण गर्ने क्षमता पनि छ’, हाल पार्टीमा निष्क्रिय ढकालले भने, ‘निर्णय गरिहाल्नुहुन्छ तर छिट्टै फेरिहाल्नुहुन्छ। अस्थिर स्वभावमात्र नभएको भए उहाँ एमालेको सबैभन्दा अब्बल नेता हो।’
वाम बुद्धिजीवी हरि रोकाको मूल्यांकनमा गौतम ‘जुन गतिमा अगाडि कुद्छन्, नफर्की त्यत्तिकै पछि दौडनसक्ने’ व्यक्ति हुन्। ‘गौतम शतप्रतिशत प्रगतिशील छन्। कहिलेकहीं त्यत्तिकै प्रतिगामी पनि भैदिन्छन्’, रोकाले भने, ‘मन्त्री क्वार्टरमा एउटा दिमाग बनाएका हुन्छन्, गाडी चढ्ने बेलामा कसैले केही भनिदिए भने उसैको भनाइमा लाग्न सक्छन्। थापाथलीको जाममा पर्दा अर्कै विचार आउनसक्छ। सिंहदरबारको गेटमा पस्दासम्म उनको दिमागले एक सय ८० डिग्री फन्को मार्नसक्छ।’
www.hamrakura.com

