प्रसाद खाएका २ को मृत्यु, १२ बिरामी

जनकपुर, फाल्गुन २९ - धनुषाको देउरी परबाहा-८ विनटोलमा पूजाको प्रसाद खाएका दुईजनाको मृत्यु भएको छ । १२ जना बिरामी परेका छन् । सिकिस्त बिरामी तीन जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गराइएको छ ।

बिनटोलीमा सोमवारयता ५५ वर्षीय सिघेश्वर मुखिया र ४५ वर्षीय  शिवशरण मुखियाको मुत्यु भएको हो । सोही वडा बस्ने पानो देवी, प्रमिला देवी, सञ्जिता देवी, लखिया देवी, सुईया देवी, पुनिता देवी, कुन्ती देवी तथा बुधो देवी मुखियालगायत बिरामी परेका छन् ।

तीमध्ये सिकिस्त रहेकी पूनम देवी मुखिया, बोधो मुखिया तथा पानो देवी मुखियालाई अञ्चल अस्पताल भर्ना गराइएको देउरी परवाहा ईलाका हेल्थ पोस्टका हेल्थ असिस्टेन्ट रामबाबू ठाकुरले जनाए । पानो देवी मुखिया भने डराएर अस्पतालबाटै भागेकी छन् । शिवशरण मुखियाको बुधवार तथा सिंहेश्वर मुखियाको सोमवार मृत्यु भएको थियो ।

५२ घरधूरीको वस्ती रहेको विनटोलमा गत सोमवार भुइँया महराज (लोक देवता) को पूजा थियो । टोलवासीले सामूहिकरुपमा पूजाको प्रसाद खाएपछि उनीहरुको पेट दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने तथा वेहोस हुने लक्षण देखिएको सोही टोलका जयकरण मुखियाले जनाए ।

अज्ञात रोग फैलिएपछि गाँउवासीहरु गाउँ छाडेर अन्त भाग्न थालेका छन् । उनीहरुमा गाउँको सिमानाबाट बाहिर जानेबित्तिकै रोग निको हुने अन्धविश्वास छ । कक्षा ८ मा अध्ययनरत १६ वर्षीय जयकरणले भने 'गाउँलेहरु अन्य गाउँमा पलायन हुन थालेका छन् । अस्पतालमा भर्ना गराइएकी एक महिलासमेत यहाँबाट भागेकी छन् ।'

वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम नायकका अनुसार बिरामीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधीसहित स्वास्थयकर्मीको टोली घटनास्थल पठाइएको छ । सामान्य प्रकृतिका रोगीहरुलाई घटनास्थलमै तथा सिकिस्तलाई अञ्चल अस्पताल ल्याइदैछ । नायकले विरामीहरुलाई स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउन आग्रह गरे ।

इलाका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट रामबाबू ठाकुरले पूजाको प्रसाद खाएर फूडप्वाइजनिङ हुनसक्ने अनुमान गरे । ईलाका स्वास्थ्य चौकीका प्रमुख डा.सुजितकुमार झासँग पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

www.ekantipur.com


,

news and entertainment