जनमत संग्रह कानुन विपरीत छैन– पुटिन

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियाको जनमत संग्रह अन्तार्रष्ट्रिय कानुन विपरीत नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– त्यहाँ नागरिकको आफ्नो निर्णय र उनीहरुको मताधिकारलाई कानुन विपरीत भन्न मिल्दैन ।
क्रिमियामा आइतबार भएको जनमत संग्रहले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरेको भन्ने जर्मन चान्सलर एन्गेला मार्केलको भनईप्रति उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।

क्रिमियामा भएको जनमत संग्रहले विश्वको कानुनकै अवहेलना गरेको भन्दै त्यसलाई रोक्नुपर्ने भनी हिजोमात्र मार्केलले सो भनाई राख्नुभएको थियो ।

यसैबीच रसियाली पत्रपत्रिकाहरुले क्रिमियामा भएको जनमत संग्रहको स्वागत गरेका छन् । ती पत्रपत्रिकाहरुले क्रिमिया रसियामा बिलय हुनेगरी आएको नतिजाको पनि स्वागत गरेका हुन् ।

सरकार समर्थक एक पत्रिका कोमसोम्स्का प्राभ्दाले सोमबारको आफ्नो संस्करणमा क्रिमिया रसियामा फर्किँदै छ भनेर शीर्षक राखेको छ ।

त्यस्तै अर्को एक दैनिक पत्रिका मुस्कोभ्सका कोमसोमोलेतेले भनेको छ– क्रिमियाले सोमबारै युक्रेनसँग आफ्नो सम्बन्ध विच्छेद गर्दैछ ।

त्यसैगरी रसियाको  अर्को एक दैनिक पत्रिका इज्भेस्तियाले सोमबारको संस्करणमा दिएको समाचारको शीर्षक छ– कसै कसैलाई यो मन परेको छैन तर हामीभने निकै खुशी छौं र यसलाई हामी स्वागत गर्दछौं ।

त्यस्तै रसियाको सरकारी पत्रिका रोसिस्काया गजेटाले भनेको छ– आइतबार क्रिमियाली नागरिकले हामी रसियामा जान चाहन्छौं भनेर आफ्नो इच्छा प्रकट गरेका छन् ।

यसरी सोमबारका अखबारहरुले क्रिमियाले गरेको जनमत संग्रहको निर्णयलाई स्वागत गरेर आ आफ्ना सम्पादकीय तथा प्रमुख समाचारहरु तयार पारेका छन् ।

ती समाचार र समाचारका शीर्षकहरुका बारेमा सोमबार रसियामा व्यापक मात्रामा चर्चा चलेको पनि विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले जनाएका छन् । एएफपी

,

news and entertainment