प्रचण्डलाई भट्टराईको धम्की, प्रचण्ड आक्रोशित
२९ फागुन ,काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच फेरि दूरी बढेको छ । संविधानसभा निर्वाचन परिणामपछि बढेको दूरी गत महिना बसेको केन्द्रीय समिति बैठकले केही मात्रामा हल गरेको जस्तो देखाइए पनि फेरि सतहमै देखिने गरी बल्झिएको छ ।
पछिल्लो पटक भट्टराईले गत केन्द्रीय समिति बैठकले तत्काल गर्ने भनी तय गरेको कार्यक्रम कार्यान्वयनमा उदासीनता देखाएको भन्दै दाहालसँग असन्तुष्टि जनाएपछि दुई नेताबीच विवाद बढेको हो । बुधबार अध्यक्ष दाहाललाई भेट्न लाजिम्पाट पुगेका भट्टराईले सबै विषयलाई टालटुल मात्रै गर्न खोजेर पार्टी नबन्ने भन्दै आक्रोश पोखेका छन् ।
‘तपाईंको यो शैलीले पार्टी बन्दै बन्दैन, आन्दोलन नयाँ चरणमा पुगिसक्यो, त्यसैले पार्टीलाई नयाँ संरचना, नयाँ विचार, नयाँ शक्तिमा बदल्नुको विकल्प छैन,’ दाहालसँगको भेटमा भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘टालटुल मात्र गर्न खोजेर पार्टी बन्दैन, त्यसैले नयाँ परिवेशअनुसार नयाँ शक्ति बनाएर जाने हिम्मत नगर्ने हो भने जनताले नयाँ शक्ति बनाउँछन्, खोज्छन् ।’
उनले केही समययता नयाँ शक्ति निर्माणको बहस पनि उठाउँदै आएका छन् । भट्टराईले गत केन्द्रीय समितिले तत्काल गर्ने भनी तय गरेका निर्णय कार्यान्वयनमा दाहालले अनिच्छा देखाएको बताउन थालेका छन् ।
एमाओवादीको गत केन्द्रीय समिति बैठकले संगठनात्मक अनुशासन, आर्थिक पारदर्शिता, जनवादी केन्द्रीयताको पालना, वैचारिक राजनीतिक कार्यका लागि प्रशिक्षणलाई व्यवस्थित बनाउने कार्यलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको राजधानी दैनिकले लेखेको छ।
‘गत केन्द्रीय समिति बैठकले तत्काल गर्ने भन्ने कार्यलाई अध्यक्षले कार्यान्वयनमा लैजान नचाहेको देखिएपछि कुरा उठाइएको हो,’ भट्टराईनिकट नेता देवेन्द्र पौडेलले राजधानीसँग भने, ‘यस विषयमा अब केन्द्रीय कार्यालय बैठकमा छलफल हुने कुरा भएको छ ।’ दुई नेताबीच विवाद बढेपछि केन्द्रीय कार्यालयको बैठक आज (बिहीबार) बिहान बोलाइएको छ । कार्यालयमा अध्यक्ष दाहाल, भट्टराईसहित नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् ।
बुधबार मध्याह्न १२ बजेदेखि झन्डै एक घन्टासम्म चलेको दुई नेताबीचको भेटमा भट्टराईले पार्टीलाई अझै पनि पुनःसंरचना नगरे जनताले नयाँ शक्तिको खोजी गर्ने बताएलगत्तै दाहाल भट्टराईसँग रुष्ट बनेका थिए । त्यसपछि दुवै नेताबीच भट्टराईले केही दिनअघि आफ्नै निवासमा बोलाएको आफूनिकट नेताहरूको भेलादेखि दाहालको नेकपा–माओवादी नेताहरूसँग बढेको हिमचिमका विषयसम्ममा आरोप-प्रत्यारोप चलेको स्रोतको दाबी छ । छलफलमा भट्टराईप्रति दाहालसमेत निकै आक्रोशित बनेका थिए । ‘जसरी हुन्छ, मूल नेतृत्वलाई खुइल्याउने काम बन्द गर्नास्, धम्की पनि नदिनोस्,’ आक्रोशित मुद्रामा भट्टराईसँग दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
भट्टराईले जिल्ला संयोजकहरूको बैठकका लागि काठमाडौं आएका नेताहरूलाई आफ्नै निवासमा डाकी दाहाल र उनको टिम नै रूपान्तरण हुनै नसक्ने निष्कर्ष सुनाएपछि दाहाल रुष्ट बनेका थिए । दाहालले नेकपा–माओवादीका नेतासँग बढाएको हिमचिम र आवश्यकता परे पार्टी एकताका लागि पालुङटारको जनवादी क्रान्तिलाई पूर्णतामा लैजाने जनविद्रोहको कार्यदिशामा फर्कन सक्ने संकेत देखाएपछि भट्टराई पनि दाहालसँग सशंकित छन् ।
तर, बुधबार अध्यक्षसँगको भेटमा भट्टराईले पार्टीको संगठनात्मक राष्ट्रिय सम्मेलनका विषयमा मात्रै छलफल गरेको एमाओवादी केन्द्रीय सदस्य तथा दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । ‘उहाहरूबीच करिब एक घन्टा छलफल भएको हो, पार्टीको संगठनात्मक राष्ट्रिय सम्मेलनको तयारीका विषयमा कुराकानी भएको छ, त्यस्तो विवाद भएको भन्ने होइन,’ खड्काले भने । उनले बिहीबार कार्यालयको बैठक बस्ने र सम्मेलनको तयारीका विषयमा छलफल गर्ने कुरा गरी भट्टराई बाहिरिएको जिकिर गरे ।
