२४ फागुन, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको बोइङ शनिबार बिहान बेपत्ता हुँदा अष्ट्रेलियाका ६१ वर्षीय वृद्धसमेत सोही विमानमा रहेको समाचार प्रसारण भयो । विमान कम्पनीले सार्वजनिक गरेको २ सय बढी यात्रुहरुको विवरणमा उनको पनि नाम थियो ।
आफ्नो नाम सार्वजनिक भएको केही घण्टापछि नै ती व्यक्ति विमानमा नभई अष्ट्रेलियामै सकुशल रहेको अष्ट्रेलियन सरकारले स्पष्ट पार्यो । विमानसँगै हराएका भनिएका व्यक्ति सकुशल फेला परेको समाचार एकैछिनमा अन्तरराष्ट्रिय समाचार संस्थाहरुमा सनसनी फैलियो ।
रहस्य चाँहि के रहेछ भने विमानमा चढेका भनिएका ती अष्ट्रेलियन नागरिकको पासपोर्ट थाइल्याण्डबाट दुई वर्षअघि नै चोरी भएको थियो । र, त्यही चोरी गरेको पासपोर्ट बोकेर अज्ञात व्यक्तिले सन् २०१२ देखि नै विमानमा यसैगरी यात्रा गर्दै आएको रहस्य विमान लापत्ता हुने क्रमसँगै खुलासा भएको छ ।
समुद्रमा तेलको धब्बा देखिएको दाबी
यसैवीच शनिबार बिहानै हराएको विमान रातिसम्म फेला पर्न सकेको छैन । तर, खोजीकार्यमा जुटेको भियतनामको विमान कम्पनीले भने दक्षिणी भियतनामको समुद्रमा तेलका ठूला धब्बाहरु फेला पारेको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यद्यपि उक्त तेलको धब्बा विमानकै हो भनेर शनिबार राति अबेरसम्म पुष्टि हुन सकेको छैन ।
शनिबार बिहान क्वालालाम्पुरबाट उडेको दुईघण्टापछि बेपत्ता भएको सो विमानमा डेढ सय चिनियाँ र १२ जना चालक दलका सदस्यसहित विभिन्न १३ देशका २ सय ३९ मानिस सवार थिए । त्यसमा दुईजना बच्चासमेत थिए ।
विमानसँगै हराएका भनिएका एक वृद्ध अष्ट्रेलिया सकुशल
news and entertainment