जि सेभेनका नेताहरुले रुसलाई दिए युक्रेन नटुक्राउन चेतावनी
२८ फाल्गुण, एजेन्सी ।
धनी देशहरुको समूह जि सेभेनका नेताहरुले रुसलाई युक्रेनबाट क्रिमिया नटुक्राउन चेतावनी दिएका छन् । रुसले क्रिमियालाई युक्रेनबाट टुक्राउने कदम नरोके उ विरुद्ध एक्लै र सामुहिकरुपमा कदम चाल्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।
शनिबार युक्रेनबाट टुक्रिएर रुसमा गाभिने विषयमा क्रमियामा हुन लागेको जनमतबाट आउने नतिजालाई मान्यता नदिने उनीहरुको भनाइ छ ।
यसैबीच युक्रेनका सुरक्षा प्रमुखले युक्रेनको सीमा क्षेत्रमा रुसले सैन्य तैनाथी बढाएको भन्दै सतर्क रहन चेतावनी दिएका छन् ।
सम्पन्न राष्ट्रहरुको समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।
जि सेभेन र युरोपेली संघका नेताहरुले रुसले क्रिमियाको अवस्था नै परिवर्तन गर्ने कदम रोक्नु पार्ने माग गरेका छन् ।
ह्वाइट हाउसबाट जारी संयुक्त विज्ञप्तीमा युक्रेनबाट क्रिमिया टुक्राउने कदमले युक्रेनको मात्र नभई सबै राज्यको एकता र सार्वभौमिकता जोगाइ राख्ने प्रयासमा नकारात्मक प्रभाव पर्ने उल्लेख छ ।
नेताहरुले रुसले युक्रेनी भूमीबाट सेना फिर्ता गरेर अवस्था सामान्य बनाउनु पर्ने माग समेत गरेका छन् ।
