गायिका मौसमी गुरुङ आइसियुमा

काठमाडौं– गायिका मौसमी गुरुङको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ। एक्कासी रिँगटा लागेर गत फागुन २१ मा बाँसबारीस्थित न्युरो अस्पताल भर्ना गरिएकी उनको ब्रेन ट्युमरको शल्यक्रिया भएको पति रेशम गुरुङले जनाएका छन्। सोमबार उपेन्द्र देवकोटाले उनको शल्यक्रिया गरेका थिए।

‘बेलाबेला टाउको दुख्यो भन्ने गर्थिन्। फागुन १९ मा जचाउन न्युरो आएका थियौं। एमआरआई गरेपछि ब्रेन ट्युमर भएको पत्ता लागेपछि अस्पतालमा भर्ना गरेका हौं,' पति गुरुङले भने। तत्काल आइसियुमा राखिएकी उनको अवस्थामा सुधार आइरहेको उनले बताए।
अस्पतालमा ड्युटीमा रहेका चिकित्सकले पनि मौसमीलाई आइसियुमा राखेको जानकारी दिए। शल्यक्रिया जटिल खालको भएकोले आइसियुमा भेन्टिलेटर प्रयोग गरिएर राखिएको प्रष्ट पारे। ‘फेरि ट्युमर बढ्न नदिन शल्यक्रिया गरेपछि निकालिएको ट्युमर विदेशमा अध्ययनका लागि पठाएका छौं। रिर्पोट नआएसम्म के भएको हो थाहा हुन्न।'
एक दशकभन्दा बढी नेपाली संगीतमा बिताइसकेकी गायिका गुरुङको शल्यक्रियासम्म तीन लाख खर्च भइसकेको रेशमले जानकारी गराए।
गुरुङका ‘अनफर्गेटेबल', ‘पल' र ‘महसुस' नामक एकल एल्बम सार्वजनिक भएका छन्। ‘वुमन इन कर्न्सट'मा सहभागी हुने तयारीमा रहेकै अवस्थामा उनी अस्पताल भर्ना भएकी थिइन्।
उनको ‘चोरेर लग्यो', ‘च्याङ्बा है च्याङ्बा', ‘परेलीमै', ‘माया', ‘शीतल शीतल' र ‘आज तिमी' लगायतका गीत चर्चित छन्। 

,

news and entertainment