मुम्बईको कोठीमा युवती बिक्री गरेको अभियोगमा पक्राउ
भद्रपुर। एक युवतीलाई १६ वर्षसम्म कोठीमा नारकीय जीवन बिताउन बाध्य पार्ने स्थानीय एक युवक प्रहरीको फन्दामा परेका छन्।
झापाकी एक युवतीलाई भारतको मुम्बईस्थित कोठीमा बेचेको अभियोगमा भद्रपुर–८ बस्ने ४८ वर्षीय मिनङ्गबहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतको सिलिगुडी घुम्न जाउँ भनेर ती युवतीलाई प्रलोभनमा पारी आजभन्दा सोह्र वर्षअघि झापाको पृथ्वीनगर हुँदै भारतको ठाकुरगञ्जको बाटोबाट मुम्बईमा लगेर बेचेको उनीमाथि अभियोग छ ।
कोठीमा नारकीय जीवन बिताइरहेकी पीडित युवती छ महिनाअघि त्यहाँबाट भाग्न सफल भएकी थिइन् । पीडितको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएनुसार झापा फर्केर उनले लिम्बूविरुद्ध उजुरी गरेकी हुन् ।
पक्राउमा परेका लिम्बूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी आवश्यक कारबाही थालिएको छ ।
