हाम्रै कारणले मुलुकको यो दुरावस्थाः कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको आर्थिक विकास र जनताको समृद्धिको लागि अहिले दिगो शान्ति ,राजनीतिक स्थायित्व,तीव्र विकास र लोकतान्त्रिक संविधान आवश्यक भएको बताएका छन।
 
प्रधानमन्त्री कोइरालाले गोरखा जिल्ला परिषद्को गणतन्त्र प्राप्ति पछिको सातौ जिल्ला परिषद्का निर्णयहरु सार्वजनिकिरण कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार सो कुरा बताएका हुन्।
 
उनले प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहदा देशले झण्डै ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गरेको बताए। “२०४८सालदेखि २०५१ सालसम्म मुलुकको विकासले गति लिएको तथ्य स्वतन्त्र अध्ययनहरुले पनि सार्वजनिक गरेका छन” प्रधानमन्त्री कोइरालाले भने।
 
उनले त्यतिबेला नेपाली कांग्रेसले अंगीकार गरेको उदारवादी आर्थिक नीतिका कारण देशमा मेडिकल, इञ्जिनियरिङ्, वाणिज्यसहित विभिन्न विधामा नयाँ कलेजहरु खुलेर नेपालमा शैक्षिक अवसर सिर्जना भएको उल्लेख गरे।
 
“पञ्चायतकालमा जम्मा २ वटा विश्वविद्यालय थिए। अहिले नौं वटा पुगे ” प्रधानमन्त्री कोइरालाले भने “यो सबै प्रजातन्त्र र उदारवादको देन हो।”
 
उनले मुलुक द्वन्द्वमा गए आजका युवा र भावी पिढींले दुःख पाउने बताउदै भने,“एउटा पुस्ताले दुःख पाइसक्यो। देश र जनतालाई बचाउनु होस। डराउने धम्क्याउने सताउने युगको अन्त भयो।” प्रधानमन्त्रीले देशमा शान्ति र अमन चयन कायम गराउन दलहरुबीचमा सौहार्द्रता, विश्वास,एकता, सहमति,सहकार्य र मेलमिलाप जरुरी भएको बताए।
 
गोरखा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्तामा सौहार्द सम्बन्ध विकसित हुन नसकेको तथ्य उल्लेख गर्दै उनले भने,“आफूले विश्वास गरेको राजनीतिक दर्शन र सिद्धान्त अंगीकार गर्ने मौलिक स्वतन्त्रता सबैलाई छ। तर मारकाट नगर्नुहोस। नेपाल थिलो थिलो भैसक्यो। अरुलाई दोष दिने कारण छैन। हाम्रो कारणले देश कमजोर भैरहेकेा छ।”
 
प्रधानमन्त्री कोइरालाले राष्ट्रलाई सबल बनाउन र जनताको शीर ठाडो हुने अवस्था सिर्जना गर्न लोकतान्त्रिक संविधान,राजनीतिक स्थायित्व र दिगो शान्ति आवश्यक पर्नेमा जोड दिएका थिए।
 
राष्ट्रिय नीति आवश्यक
 
प्रधानमन्त्री कोइरालाले विकास निर्माणका विषयमा  राजनीतिक दलहरुबीच सहमति हुनै पर्नेमा जोड दिदै स्थानीय विकास निर्माण होस कि राष्ट्रिय स्तरका आयोजनाहरु, त्यसका लागि राष्ट्रिय नीति अपरिहार्य भएको बताए।
 
“जुन सरकारका पालामा सुरु भए पनि देशको आवश्यकता र जनताको हितमा भएका आयोजनाहरुमा कसैले ब्यवधान सिर्जना गर्नु हुदैन,” उनले भने।
 
मुलुकमा स्वदेशी र विदेशी दुवै खाले लगानीकालागि दिगो शान्ति र राजनीतिक स्थायित्व अपरिहार्य भएको भनाई राख्दै शान्ति र सुरक्षा कायम गर्न सक्ने हो भने नेपालमा विदेशी लगानी ओइरिने उनले दावी गरे।
 
हालै आफू सहभागी भएको विमस्टेक सम्मेलन र त्यसका अवसरमा सहभागी राष्ट्रका सरकार प्रमुख र राष्ट्राध्यक्षहरुसंग भएको संवादको प्रसंग उल्लेख गर्दै देशमा शान्ति कायम भएमा पर्यटनबाटै आर्थिक उन्नति हासिल गर्न स किने संभावना पनि उनले औल्याएका थिए।
 
“श्रीलंका, भारत,भुटान,थाइल्याण्ड, म्यानमार सबै राष्ट्रबाट बुद्धिष्ट पर्यटक भित्र्याउन सक्ने हो भने नेपालले पर्यटनबाटै विकास गर्न सक्छ,” उलने भने।
 
प्रधानमन्त्री कोइरालाले जलस्रोतमा विश्वमा दोस्रो धनी मानिएको नेपालमा १८ घण्टा दैनिक लोडसेडिङ् भोग्नु परेको यथार्थ बताउदै “प्रविधिमा भएको विकासले जलविद्युतमा नेपालको क्षमता १ लाख मेगावाट भन्दा बढी भैसक्यो तर १०० वर्षको अवधिमा ७ सय मेगावाट पनि उत्पादन हुन सकेको छैन। पानी वगेर गैरहेको छ। त्यसबाट बिजुली उत्पादन गरेर बेचे डलर आउछ। तर हामी पैसा बग्न दिएर दुःख पायौ भनिरहेका छौ।”
 
उनले विभिन्न मुलुकका राजदूतहरुले आफूलाई नेपाल विकासका दृष्टिले “भर्जिन ल्याण्ड ”भएकोले शान्ति र राजनीति स्थायित्व कायम भएमा नेपालमा विदेशी लगानी भित्रिने आश्वासन दिएको बताए।
 
विकासकालागि प्रजान्त्र आवश्यक छ भन्ने जननायक वीपी कोइरालाको विचार अहिले सबैले आत्मसात गरेको बताउदै  उनले भनेे, “ हामीले अधिनायकवादी राणा शासन र पञ्चायत पनि हेर्‍यौ, दुवैले विकास रोके।”
 
प्रधानमन्त्री कोइरालाले स्थानीय निकायहरुले विकासमा जनताको प्रत्यक्ष सहभागिताको प्रत्याभूति गर्ने र जनसरोकारका विषयहरुको संबोधन गर्ने भएकोले तिनको परिचालनकालागि स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको दावी गरे।
 
“मुलुकमा स्थानिय निकायको चुनाव नभएको १६ बर्ष भएछ र स्थानीय निकायहरु जनप्रतिनिधि विहिन भएको १२ बर्ष भएछ,” कोइरालाले भने,“लोकतान्त्रिक अभ्यास रोकिदा मुलुकलाई भ्रष्ट्राचारले खाइसक्यो। मुलुकमा सुशासन कायम गर्नकालागि पनि स्थानीय निर्वाचन जरुरी छ।” सरकार सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको चुनाव गर्न सरकार तत्पर रहेको पनि उनले बताए।

,

news and entertainment