एक नेपाली महिलाका कारण बेलातयी प्रधानमन्त्री तनावमा

२९ फागुन,काठमाडौं। बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अहिले आफ्नै सानो गल्तीका कारण चरम तनावमा छन्। तनावको कारण बनेकी छन्, उनको घरमा काम गर्न बसेकी नेपाली धाइआमा– काठमाडौं सिरुबारीकी गीता लामा।
गीताले प्रधानमन्त्री निवासमा रहेर कुनै गल्ती भने गरेकी छैनन्। क्यामरुन दम्पतीका सन्तान लालनपालन गर्दै आएकी उनले कानुनअनुसार बेलायती नागरिकता पनि पाइसकिन्। तर जन्मका आधारमा उनको राष्ट्रियता अहिले पनि नेपाली नै हो।

बेलायती कानुनअनुसार घरेलु कामदार राख्दा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ, सकम्भर विदेशी राख्नै हुँदैन। प्रधानमन्त्री नियुक्त भएपछि पनि गीतालाई धाइआमाको जिम्मेवारी दिइरहेका क्यामरुनको यही निहुँमा संसददेखि सडकसम्म अहिले खेदो खन्न थालिएको छ।
david cameron
प्रधानमन्त्रीले नै कानुनविपरीत विदेशी कामदारलाई प्राथमिकता दिएको भन्दै गत बिहीबार संसदमा आफ्नै दल कन्जरभेटिभ पार्टीका एक सांसदले बबन्डर मच्याएपछि क्यामरुन विवादमा तानिएका हुन्।
आप्रवासमन्त्री जेम्स ब्रोकेनसायरले संसदमा बोल्दै बढ्दो बेरोजगारीका कारण महानगरमा बस्ने धनाढ्यहरू कुलीन बन्दै गएको र उनीहरुले विदेशीलाई कामदार बनाउन थालेको आरोप लगाएका थिए। केही अघि मात्र मन्त्री नियुक्त ब्रोकेनसायरले 'कुलीनहरूले कानुनलाई धोती लगाउँदै स्वदेशीको साटो विदेशी कामदार राख्न थालेको' भन्दै आफ्नै मन्त्रिमण्डल प्रमुखतिर औंला तेर्स्याएका थिए। उनले यही कारण बेलायतमा बेरोजगारी बढेको तर्कसमेत गरेका थिए।

तत्कालै क्यामरुनकै दलका एक सांसदले प्रधानमन्त्रीको 'विदेशी कामदारमोह' बारे संसदमा होहल्ला मच्याएका थिए।
प्रधानमन्त्री क्यामरुनमाथि अहिले ढोंगीको आरोप लागेको छ। देशको कार्यकारी प्रमुखले 'कथनी र करनी' फरक गरेको भन्दै उनको आलोचना बेलायतभर चुलिएको छ।
आलोचकहरुले प्रधानमन्त्री निवासकी 'धाइआमा' ले बेलायती नागरिकता सहजै पाउनुमा समेत क्यामरुन दम्पतीको पहुँचलाई औंल्याएका छन्। लेबर दलका सचेतक फिल विल्सनले गीतासँग गरिएका सबै सम्झौता तत्काल सार्वजनिक गर्न प्रधानमन्त्री क्यामरुनलाई चुनौती दिएका छन्। 'प्रधानमन्त्रीले कानुनसम्मत काम गरेको भए गीताबारे सबै जानकारी तुरुन्तै उपलब्ध गराऊन्,' उनको चेतावनी छ।
ढिलो गरी भए पनि प्रधानमन्त्री निवासले गीताको नागरिकता फारममा रोजगारदाताका रुपमा सामन्था क्यामरुनको नाम रहेको जानकारी दिएको छ। सँगसँगै क्यामरुन दम्पतीले बेलायती नागरिकता लिन गीतालाई कुनै सिफारिस नगरेको पनि प्रस्ट्याएका छन्।
नौ वर्षअघि बेलायतमा एउटा यस्तै घटना भएको थियो जसले विवादित मन्त्रीको जागिर नै चट् पारिदिएको थियो।
तत्कालीन लेबर सरकारका गृहमन्त्री डेभिड ब्लंकेटले फिलिपिनो 'धाइआमा' को वर्क परमिट नवीकरण गरिदिएको आरोप चर्किंदै जाँदा पदबाट राजीनामा दिनुपरेको थियो। खासमा ब्लंकेटले ती फिलिपिनोको वर्क परमिट नवीकरणका लागि न कुनै सिफारिस गरेका थिए, न उनलाई त्यसबारे कुनै जानकारी नै थियो। तर उनकै कार्यालयबाट एक कर्मचारीले वर्क परमिट नवीकरणका लागि फ्याक्स पठाएकी थिइन्। मन्त्रालयकी ती महिला कर्मचारीसँग मन्त्री ब्लंकेटको 'अफेयर' थियो। त्यही फाइदा उठाएर प्रेमिकाले मन्त्री ब्लंकेटकै कार्यालयबाट अध्यागमन विभागमा फ्याक्स पठाएकी थिइन्। ब्लंकेटले त्यस्तो फ्याक्स गर्न कसैलाई अह्राएको वा उनको जानकारीमा रहेको तथ्य काण्डको छानबिनकर्ता सर एलन बडले भने फेला पारेका थिएनन्।
गीताको नागरिकताबारे उब्जेको विवादले कतै डेभिडको पद धरापमा त पर्दैन? टीकाटिप्पणी भइरहेको छ।
प्रधानमन्त्री निवासले गीताको र फिलिपिनोको मामिला उस्तै नभएको दाबी गरेको छ। ब्रोकेनसायरको आरोपले भने क्यामरुन मात्र होइन, उनको मन्त्रिमण्डलका मन्त्रीहरुको पनि टाउको दुखेको हुनसक्छ। किनकि, ब्रोकेनसायरको आरोपसँगै लेबर सांसद जोन मनले सबै मन्त्रीलाई विदेशी कामदार राखे–नराखेको जानकारी दिन संसदमै माग गरेका छन्।
साप्ताहिक एलबिसी रेडियो फोन–इन कार्यक्रममा उपप्रधानमन्त्री निक क्लेगसँग एक श्रोताले विदेशी कामदार राख्नुभएको छ कि भनेर सोधेका थिए। पहिले त क्लेगले जवाफ दिन आनाकानी गरे, पछि एकजना बेल्जियन कामदार राखेको जवाफ दिएका थिए।
ब्रोकेनसायरका पूर्ववर्ती मार्क हार्परले पनि लन्डनस्थित आफ्नो निवासमा एकजना अवैध आप्रवासी कार्यरत रहेको थाहा पाएपछि राजीनामा दिनुपरेको थियो।
नागरिक दैनिकबाट

, ,

news and entertainment