मन्त्री फकाउन हाकिम साबले दिए गाडी

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले पदमा टिकीरहन वनमन्त्री महेश आचार्यलाई दरिलै शुभलाभ गराएका छन् । आचार्यलाई खुशी पार्न उनले एउटा कार नै उपहार दिएका छन् । खिलराज सरकारका पालामा एमाले कोटाबाट मन्त्री बनेका कृषि तथा बनमन्त्री टेकबहादुर घर्तीले गत कार्तिकमा नियुक्तमा नियुक्त गरेका गोविन्द अब काँग्रेस नेता महेश बनमन्त्री भएपछि छटपटाएका छन् । गत सोमबार मन्त्रीले खुमलटारस्थित कोषको कार्यालयको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा सदस्य सचिव गोविन्दले भनेका थिए, ‘हजुरलाई के पर्छ भन्नुस, म टक्रयाउन हाजीर छु ।’ त्यसको ठिक भोलीपल्ट कोषबाट चालक अरुण केसी र कर्मचारी सुरज बम मल्लले बा ५ च ८२५० नम्बरको कार मन्त्रीलाई बुझाए । त्यसको चावी र कागजात पनि मन्त्रालयमा बुझाइयो । मन्त्रीको सचिवालयका लागि भन्दै रातो प्लेटको सुजुकी जेन कार उपहार दिइएको हो । कोषका सदस्य सचिवले कोषका अध्यक्ष अर्थात मन्त्रीलाई रिझाउन यस्ता उपहार विगतदेखि नै दिने गर्छन् । गाडीको इन्धन, स्वदेश विदेश भ्रमण र निजी खर्च समेत कोषले ब्यहोर्ने गरेको बताइन्छ । मन्त्री महेश आचार्यलाई काँग्रेस बृत्तमा ‘मौन भ्रष्टाचार’ अर्थात् साइलेन्ट करप्सन गर्ने व्यक्तिका रुपमा लिने गरिन्छ । ‘खुमबहादुर खडका, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्लेजस्तो हाकाहाकी भ्रष्टाचार गर्ने र कार्यकर्तालाई पैसा बाँडनेमा महेश पर्दैनन्’, एक काँग्रेस नेता भन्छन् । २०४८ सालमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको पालामा कलिलै उमेरमा अर्थमन्त्री बनेका महेशले त्यसबेला बाँसबारी छालाजुत्ता कारखाना र भृकुटी कागज कारखानालगायतका सरकारी कलकारखाना करोडौं कमीसन खाएर निजिकरण mahesh-acharyaगरेको आरोप उनीमाथि लाग्ने गरेको छ । केही समययता चुरे बन विनाशले तीब्रता लिएको छ । नेपाली बन जंगलका जडीबुटी धमाधम भारततर्फ तस्करी भइरहेका छन् । यसतर्फ बनमन्त्री कानमा तेल हालेर बसेका छन् । तर, बनमन्त्रीलाई कार दिएको विषयमा गजुरेलसँग रातोपाटीले जिज्ञासा राख्दा उनले गाडी मन्त्रीलाई दिएको भन्ने कुरा शतप्रतिशत निराधार भएको दावी गरे । गजुरेलले गाडी कार्यालयमै भएको प्रतिक्रिया दिँदै भने,‘मन्त्रीलाई दिइएको भनिएको गाडी कार्यालय परिसरमै छ, तपाइँले अहिले पनि त्यसलाई यही देख्न सक्नु हुन्छ, कार्यालयमै भएको गाडी मन्त्रीलाई दियो भनेर कसरी भन्न मिल्छ ?’ गजुरेलले कार्यालयको गाडी भएकाले कहिलेकाहीँ काम बिशेषले मन्त्रालय जाँदा भने गाडी त्यहाँ पुग्ने भन्दै ठट्यौली पारामा गाडी दिएको विषयको खण्डन गरे । गजुरेलले तत्काल गाडी उपलव्ध नगराए पनि मन्त्रीलाई आवश्यक पर्दा जुनसुकै बेला गाडी दिनु पर्ने प्रावधान भएकाले गाडी दिने विषयमा विवाद गर्नुको कुनै तुक नभएको दावी गरे । ‘वनमन्त्री प्रकृति संरक्षण कोषको अध्यक्ष हुने प्रावधान छ, मन्त्रीज्यूको यहाँ कार्यालय पनि छ । उहाँले आवश्यक भयो भन्नुभयो भने हामीले उहाँलाई गाडी पनि दिनुपर्छ । तर त्यसरी गाडी दिने काम कहिले हुन्छ म अहिले यसै भन्न सक्दिन् । केही दिन लाग्न पनि सक्छ, २–४ महिना लाग्न पनि सक्छ’उनले गाडी दिन सकिने सम्भावनातर्फ संकेत गर्दै खुलस्त भने ।
www.ratopati.com

,

news and entertainment