एमाले र एमाओवादीवीच पार्टी एकताको सम्भावना छ : झलनाथ

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्ध एउटा कारखानाका मालिक र मजदुरको जस्तै रहेको बताएका छन् । एमाओवादीसँग भने एमालेको पार्टी एकता हुन सक्ने खनालको भनाइ छ ।
‘म एउटा कुरा भन्न चाहन्छु, नेपाली कांग्रेस नेपालका पुँजीपति वर्गको पार्टी हो । नेकपा एमाले नेपालको श्रमिक वर्गको पार्टी हो, अनलाइनखबरसँगको कुराकानीका क्रममा अध्यक्ष खनालले भने-’अहिलेको अवस्थामा हामी दुईवटै शक्तिहरु एक अर्कामा प्रतिस्पर्धी पनि छौं र सहकारी पनि छौं ।’
कुनै नयाँ कारखाना स्थापना गर्दा मालिक र मजदुर सँगसँगै जन्मने बताउँदै अध्यक्ष खनालले कारखानामा मालिक र मजदुरवीच अन्तरविरोध भए पनि दुबैको सहकार्यमा मात्रै कारखाना चल्ने बताएका छन् । ‘एउटा नयाँ कारखाना बन्यो भने एकैचोटि पुँजीपति र श्रमिकहरु जन्मन्छन्, एमालेको वस्तुगत ग्राउन्ड पनि एकैचोटि जन्मियो, कांग्रेसको वस्तुगत ग्राउन्ड पनि एकैचोटि जन्मियो ।’ खनालले अनलाइनखबरसँग भने ।
‘नेपाली श्रमिक वर्ग र पुँजीपति वर्गका वीचमा अन्तरविरोध पनि छ, सहकार्य पनि छ । यो मुलकबाट सामन्तवादलाई उच्छेद गर्न, साम्राज्यवादलाई यहाँ प्रवेश गर्न नदिन र मुलुकको आर्थिक अग्रगति, औद्योगीकरण आदि गर्ने कुराहरुमा हाम्रा साझा धारणाहरु छन्,’ अध्यक्ष खनालले कांग्रेस एमालेको तुलनात्मक विश्लेषण गर्दै भने, ‘हामी जन्मँदैदेखि प्रतिस्पर्धी र जन्मँदैदेखि सहकारी । जुन दिन नेपाली कांग्रेसले सहकार्य तोड्छ, त्यतिबेला पनि हामी यो सहकार्यलाई अघि बढाउन ऐतिहासिक आवश्यकता छ भन्छौं ।’
कांग्रेस र एमालेको सम्बन्ध पुँजीपति र मजदुरको जस्तो भए पनि दुबैवीच मित्रवत अन्तरविरोध रहेको अध्यक्ष खनालको विश्लेषण छ । ‘कांग्रेस र एमालेको वीचमा जुन अन्तरविरोध छ, आधारभूत रुपमा मिलाउन नसक्ने अन्तरविरोध हो कि भन्नेजस्तो लाग्छ । तर, आधारभूत अन्तरविरोध भए पनि तिनीहरु मैत्रीपूर्ण हुने गर्छन्, खनालले आफ्नै निवासमा अनलाइनखबरका पत्रकारसँग भने ।

‘एमाओवादीसँग एमालेको पार्टी एकता हुन सक्छ’

एमाले अध्यक्ष खनालले एमाओवादी सच्चिएर आए एमालेसँग पार्टी एकता हुनसक्ने बताएका छन् । ‘एनेकपा माओवादीसँगको हाम्रो सम्बन्ध मूलतः वैचारिक संगठनात्मक सम्बन्ध हो, कांग्रेससँग हामी राजनीतिक संघर्ष र सहकार्य गर्छौं, माओवादीसँग चाँहि हाम्रा वैचारिक सैद्धान्तिक भिन्नताहरु छन्’ खनालले भने- ‘यी भिन्नतालाई मेट्दै जाने क्रममा भोलि एउटै पार्टी बनाउने सम्भावना पनि हुन्छ । तर, कांग्रेससँग त एउटै पार्टीको कुनै सम्भावना नै छैन ।’
खनालले एमाओवादीबारे थप व्याख्या गर्दै भने – ‘एनेकपा माओवादी कम्युनिष्ट आन्दोलनको अभिन्न अंग हो । कम्युनिष्ट आन्दोलनलाई हामीले एकतावद्ध बनाउनुपर्छ । नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । मूल प्रवाह होइन कि भन्ने विगतमा केही मान्छेलाई लाग्न खोजेको थियो, तर, इतिहासले के प्रष्ट पारेको छ भने एमाले नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । त्यसैले अब उग्रवामपन्थी प्रभाव र भ्रममा रहेका धेरै मान्छेहरु भ्रम मुक्त भएर अगाडि बढ्ने स्थिति आएको छ । यही वीचमा नेकपा एमालेमा विभिन्न पङ्तीहरु आउने क्रम जारी छ । म त के ठान्छु भने एनेकपा माओवादीको पङ्तीमात्र होइन नेतृत्व नै सुधि्रयोस् । उहाँहरुले कतिपय वैचारिक सैद्धान्तिक कुराहरुमा पुनर्विचार गर्नुभयो र सुधार्नुभयो भने पार्टी एकताको सम्भावना रहन्छ । भएन भने हामी कार्यगत एकता गरेर पनि अगाडि बढ्न सक्छौं । यो स्थिति सिर्जना गर्नेतिर लाग्न उहाँहरुलाई मेरो आग्रह छ ।’

,

news and entertainment