भारतीय प्रधानमन्त्री नेपाल आउने, प्रधानमन्त्री लाजिम्पाट पुगे
२६ फागुन,काठमाडौ । भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको आसन्न नेपाल भ्रमणका विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शुशिल कोईरालाबीच छलफल भएको छ । दाहाललाई भेट्न सोमबार अपरान्ह प्रधानमन्त्री कोइराला दाहाल निवास लाजिम्पाट पुगेका थिए । प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री सिंह नेपाल आउने लगभग पक्का भएको दाहाललाई जानकारी दिएका थिए ।
उनले भारतीय प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी गराएको दाहाल पुत्र प्रकाश दाहालले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले आफ्नो म्यानमार भ्रमणका समयमा भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । झण्डै एक घण्टासम्म चलेको भेटवार्तामा दाहालले सहमतिका आधारमा एक वर्ष भित्र नयाँ संविधान निर्माण गर्न र रिक्त रहेका संवैधानिक निकाय एवं राजदूतहरु नियुक्ती गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए ।
दाहाल पुत्र प्रकाशले सहमतिकै आधारमा संविधान निर्माण हुनुपर्छ, नियुक्ती प्रकृया अगाडि बढाउने बारे सकारात्मक कुराकानी भएको पनि वताए । भेटमा प्रधानमन्त्री कोइरालाले हालै सम्पन्न बिमस्टेक बैठक र त्यसमा नेपालको सहभागिता बारे पनि माओवादी अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । भारतीय प्रधानमन्त्री नेपाल आउन इच्छुक देखिएपनि भ्रमणको तिथि भने यकिन भएको छैन । प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै दुई महिनापछि कोइराला दाहाललाई भेट्न लाजिम्पाट पुगेका हुन् । यसअघि आइतबार कोइरालाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेटेका थिए ।
