३६ किलो चरेश सहित ३ महिला पक्राउ
२४ फागुन,काठमाडौं। जिल्ला प्रहरी कार्यालय बागलुङले ग१ज ४९६७ नम्बरको जिपबाट ३६ के.जी. कालो चरेश सहित ४ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले सुराकीको आधारमा पाण्डवखानी गा.वि.स.बाट शुक्रवार राती सदरमुकाम बागलुङ नगरपालिका वडा नं. ३ बिद्युत प्राधिकरणको सडकबाट जिपमा सवार देवी श्रीस, माया श्रीस, यम कुमारी श्रीस र गाडी चालक हिमाल घर्तिलाई ३६ के.जी. चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख सुरेन्द्र गुरुङले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शनिवार पत्रकार सम्मेलान गरी लागू औषध चरेश लुकाई छिपाई ल्याएका ३ जना महिला र चरेश बोक्न प्रयोग गरेका ग१ज ४९६७ नम्बर पिकप जीप र जीप चालक समेतलाई सार्वजनिक गरेको छ ।
कालो सुन भनेर चिनिने ठुलो परिमाणको चरेश प्रहरीले सुराकीको आधारमा पक्राउ गर्न सफल भएपनि उक्त चरेश कसको हो, यसको मालिक को हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
प्रति के.जी. १ लाख भन्दा बढी मुल्य पर्ने लागू पदार्थ चरेश ३६ के.जी. अर्थात ३६ लाख बराबरको रहेको, पक्राउ पर्ने ३ जना नै भरियाको काम गर्ने व्यक्ति भएको हुँदा प्रहरीले चरेशका मालिक फेला पार्न भने सकेको छैन ।
जिल्लामा यस अघि पनि पटक पटक चरेश र चरेश बोक्ने व्यक्ति प्रहरीले पक्राउ गर्न सफल भएपनि मालिकसम्म भने पुग्न सकेको देखिंदैन ।
बागलुङ जिल्ला लागू पदार्थ चरेश बन्ने प्रमुख केन्द्र मानिन्छ, जिल्लाको दुर्गम क्षेत्रमा चरेशको कारखानानै रहेको हुनसक्ने अहिले बरामद गरेको चरेशको बनावटबाट देखिन्छ तर प्रहरीले भने अहिलेसम्म त्यसलाई पत्ता लगाउन सकेको भने छैन ।
अहिले पक्राउ परेका अभियुक्तहरुलाई लागू औषध नियन्त्रण ऐन अनुसार कानून कारवाही अघि बढाउने प्रहरीले जनाएको छ ।