४ जना नक्कली परिचय पत्र बोकेको अज्ञातधारी बिमानमा चढेकाले आतंकारीले अपहरण गरेको आशांका
काठमाडौ : २ सय ३९ जना चढेको मलेसिया एयरलाइन्सको बोइङ विमान एमएच ३७० हराएको २४ घण्टा नाघिसक्दा पनि भेटिएको छैन। विमान समुद्रमा खसेको अनुमान गरिए पनि भग्नावशेषको कुनै संकेत अहिलेसम्म पाउन सकिएको छैन।
अँध्यारो भएका कारण बन्द गरिएको हवाई खोज अभियान आइतबार उज्यालो हुने बित्तिकै थालिएको थियो। समुद्री खोज अभियान भने रातभर पनि जारी थियो।
यसैबीच हराइरहेको सो विमानमा नक्कली परिचय पत्र बोकेका चार जना चढेको जानकारी पनि आएकोले आतंकवादको संभावना पनि नकार्न नसकिने वासिङटन पोस्टले जनाएको छ।
युरोपेली अधिकारीहरुले शनिबार विमानमा रहेका भनिएका दुई जनाको राहदानी थाइल्यान्डमा चोरी भएको खुलासा गरेका थिए। मलेसियाका यातायात मन्त्री हिशामुद्दिन हुसेनले मलेसियाली खुफिया अधिकारीहरुले अरु दुई जना यात्रुको बारेमा पनि सोधखोज गरिरहेको एपीले जनाएको छ।
मलेसियाको नागरिक उड्डयन विभागले भने गलत पासपोर्टसहित चढेका दुई जनामात्रै रहेको र सिसिटिभीको फुटेजबाट उनीहरुबारे अनुसन्धान गरिरहेको बतायो।
शुक्रबार राति अबेर मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको बोइङ शनिबार बिहान चीनको राजधानी बेइजिङमा अवतरण गर्नुपर्ने थियो। तर भियतनामको आकाशमा पुग्दा यसको सम्पर्क टुटेको थियो।
बोइङ ७७७-२२० मा २२७ यात्रु थिए जसमा दुई नाबालक समेत छन्। १३ देशका यात्रु त्यसमा रहेको मलेसिया एयरलाइन्सले जनाएको छ।
विमानमा नेपाली यात्रु छैनन्। सबैभन्दा धेरै यात्रु चीनका छन्। भारतका पाँच यात्रु पनि रहेको विमानमा मलेसियाका ३८ यात्रु छन्।

