शैलुन चलाएर मासिक ८० हजार कमाइ
बागलुङ। प्रायः भारतीय नागरिकले गर्ने शैलुन व्यवसायलाई कुनै समय नकारात्मक दृष्टिले हेर्ने गरिन्थ्यो। नेपालका सहरदेखि गाउँसम्म जति पनि त्यस्ता शैलुनहरू थिए अधिकाँश भारतीय नागरिकहरूबाट सञ्चालित थिए।
पछिल्लो समय शैलुन व्यवसाय विस्तार भएको छ। नेपाली युवायुवतीहरूको पनि यो पेसाप्रति आकर्षण बढ्दै गएको छ। यस्तै, एउटा उदाहरण बन्न सफल हुनुभएको छ बागलुङ नगरपालिका–२ का राजन पौडेल।
हातमा सीप र मिहिनेत गर्ने जाँगर भए घरमै बसीबसी रोजगारका अवसर सिर्जना गर्न सकिने विश्वास पौडेलको छ।
शैलुन व्यवसाय चलाएर उद्यमी बन्नुभएका पौडेलले उक्त पेसाबाट मासिक रु ८० हजारसम्म कमाइ गर्न सफल हुनुभएको छ । कक्षा ११ मा पढ्दै गर्दा साथीसँग काठमाडौँ पुग्नुभएका पौडेलले त्यहाँ सिकेको हेयर कटिङसम्बन्धी सीपलाई जन्मथलोमा फर्केर प्रयोग गर्नुभएको हो।
उहाँले बागलुङ नगरपालिका–२ पुरानो बसपार्कमा रहेको आफ्नै घरमा ‘हेयर कटिङ शैलुन’ सञ्चालन गरेर मनग्ये आम्दानी गर्न सफल हुनुभएको छ।
बागलुङ बजारमा शैलुन व्यवसाय चलाउने उहाँमात्रै एक नेपाली युवा हुनुहुन्छ। बाँकी शैलुनहरू भारतीय नागरिकले चलाएका छन्।‘सुरुमा मैले यो व्यवसाय सुरु गर्दा नराम्रो सोच्ने र हेय दृष्टिले हेर्नेहरूले पनि अहिले मेरो काम र सफलता देखेर प्रशंसा गर्न थालेका छन्,’ पौडेलले भन्नुभयो।
शैलुन सञ्चालन गर्दा पौडेललाई धेरैले गिज्याएका थिए तर अहिले सबैले माया र प्रोत्साहन प्रदान गर्ने गरेका छन्।दुई वर्षसम्म काठमाडौँमा आफ्नै साथीको हेयर ड्रेसिङ शैलुनमा काम गरेर सिकेको सीपलाई बागलुङ फर्किएर प्रयोग गरेको पौडेलले बताउनुभयो।
काम सिकिसकेपछि करिब रु पाँच लाख लगानी गरेर शैलुन खोलेको पौडेलले जानकारी दिनुभयो। पौडेलको शैलुनमा दाह्री काट्ने, कपाल काट्ने, वासिङ र कपालमा रङ्ग लगाउने जस्ता सेवा दिइन्छ।
पौडेलले आफूलाई मात्र नभएर अन्य साथीलाई पनि रोजगारी दिन सफल हुनुभएको छ। बिहान ६ देखि साँझ ६ बजेसम्म व्यस्त रहने उहाँको शैलुनमा तीन जना अरू युवाले पनि काम गर्ने अवसर पाएका छन्।
ती युवाले मासिक सातदेखि १० हजारसम्म तलब पाउने गरेका छन् । शैलुनमा बिहानदेखि बेलुकासम्म ग्राहकको भिड लाग्ने गरेको छ । ग्राहकहरू दैनिक ३० देखि ३५ जनाको कपाल र २० देखि २५ जनाको दाह्री काट्न आउन गरेको पौडेलको अनुभव छ ।
कपाल काटेको मात्रै रु ६० र कपाल काटेर वासिङ गरेको रु ७० लिने गरेको पौडेलले बताउनुभयो । दाह्री काटेको भने रु ४० रहेको छ । कपालमा लगाउने रङ्ग र वासिङको भने खर्च हेरी मूल्य लिने गरेको उहाँको भनाइ छ । पौडेलले उक्त सीप सिक्न चाहने युवालाई पनि तालिम प्रदान गर्दै आउनुभएको छ ।