धुलिखेल : जिल्ला अदालत काभ्रेले एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारजनालाई जनही २७ वर्ष कैद सजाय र एक/एक लाख रुपैयाँ जरिवाना गराउने फैसला सुनाएको छ। जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको इजालसले आइतबार किशोरीमाथि जबरजस्ती करणी गर्ने मुद्दामा पक्राउ परेका चारजनालाई उक्त सजाय सुनाएको हो। मेथिनकोट-९ का राम स्याङतान, पञ्चबहादुर तामाङ, सिपाली-३ का शंखमान मोक्तान र सिपाली-३ का ट्यापे अनिल इन्द्र भन्ने आकाश तामाङ स्याङतानलाई उक्त सजाय सुनाएको हो।
यो समूहले २०६९ चैत १३ गते राति करिब आठ बजेको समयमा पानी खाने निहुँले घरभित्र प्रवेश गरी काभ्रेको दक्षिणी भेगकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका थिए। सुरुमा पानी खाने निहुँले केही व्यक्ति घरभित्र प्रवेश गरेका थिए। माक्स लगाएका उनीहरूले किशोरीका बाबुलाई थाममा बाँधेर खुकुरी प्रहार गरी किशोरीको सामूहिक बलात्कार गरेका थिए।
यी चारजनालाई डाँका कसुरअन्तर्गतको मुद्दामा पनि सजायको फैसला गर्दै १५ हजार क्षतिपूर्ति भराउने भएको छ। उनीहरूले सामूहिक बलात्कार गर्ने क्रममा ती किशोरीको घरमा लुटपाट गरेका थिए। लुटपाटमा संलग्न शिखरआम्बोटे-८ का कुमार विक र महादेवटार-७ का कृष्ण विकलाई ६/६ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि अदालतले गरेको छ।
काभ्रेको एक किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई जनही २७ वर्ष कैद
news and entertainment
