बिहेको टिकाटालो गरेर केटो भागेपछि केटी प्रहरीको शरणमा


फागुन ३०, स्याङ्जा : टिकाटालो भएको भोलिपल्टै केटाले बिहे गर्न नसक्ने बताएर केटा भागेपछि केटी कानुनी तथा सामाजिक उपचारको लागि प्रहरीमा पुगेकी छिन् ।

स्याङ्जा चिलाउनेवास ३ की बिना (नाम परिवर्तन) र पुतलीबजार नगरपालिका १० बस्ने सन्तोष (नाम परिवर्तन)का बीच गत शनिबार केटीको मामाघर फेदिखोलामा टिकाटालो भएको थियो। ब्राह्मण परिवारका दुवैजना युवा युवती शिक्षित र बिहे गर्ने उमेर पुगेका छन्। युवती सीएमए गरेर अस्पतालमा जागिरे छिन् भने युवा माध्यामिक तहमा अध्यापन गर्दै आएका थिए।

केटा केटीको देखभेट र घण्टौंको कुराकानीपछि दुबवैको मन्जुरीमा बिहे गर्ने निर्णय गरिएको पुतलीबजार नगरपालिका १२ का भवानीप्रसाद लामिछानेले बताए। केटा केटीको सहमति बमोजिम बिहे अघि गरिने टिकाटालो पनि विधिपूर्वक भएको थियो। धार्मिक संस्कार अनुसार पुजापाठ गरेर केटा र केटीले टिका र माला साटासाट गर्दै टिका लगाउने र बिहेको निम्तो दिने काम पनि पुरा गरे।

बिहेको तयारीका लागि एक साता समय राखेर फागुनको अन्तिम दिन शुक्रबारका लागि बिहेको मिति तय भएको थियो। तर टिकाटालो भएको भोलिपल्टै केटाले ती केटीसँग बिहे गर्न नसक्ने जनाउँदै मामाघरमा खबर गरेका थिए।

केटी अहिले कानुनी तथा सामाजिक उपचारको आग्रह गर्दै प्रहरीमा पुगेकी छिन्। केटा भने बिहे नगर्ने सुचना दिएर भागेका छन्। 'फरार केटाको खोजीगरी आफु किन अस्वीकृत भएँ सो बारेमा जानकारी पाउँ' भन्दै छलफलका लागि झिकाइ दिन बिनाले प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी छिन्। केटाले केटीको एउटा आँखा सानो भएको भन्दै बिहे गर्न अस्वीकार गरेको बताइएको छ।

फरार केटाको खोजतलास भइरहेको र कानुनी प्रावधान र सर्वोच्चका नजिर अनुरुप कानुनी उपचार खोजिने स्याङ्जा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए।

शिक्षित र उमेर पुगेका युवा युवतीबीच भएको यो घटनाले हाम्रो समाज कतातर्फ जाँदैछ भन्ने चिन्ता बढेको बताउछन् पुतलीबजार नगरपालिका १ निवासी भूमिजंग केसी। उनका अनुसार टिकाटालो गर्नु भनेको बिहे सरह हो। टिकाटालोपछि केटा वा केटीको मृ्त्यु भएमा पनि काजकिरिया गर्नु पर्ने हिन्दु धर्म र संस्कार रहेको छ।

मुलुकी ऐन २०२० महल १७ को विहाबारीको दफा नं. ३ मा विवाह निमित्त आफ्ना कुलको रित दस्तुर दिए लिएपछि पनि विवाह गर्न नचाहे कर लाग्दैन भनि उल्लेख गरिएको छ।
- अन्नपूर्ण पोष्ट

,

news and entertainment