बलात्कारपछि बच्चा जन्माएकी महिलालाई रु १० हजार सहयोग
३० फागुन,बैतडी । यस जिल्लाको दक्षिणमा पर्ने गिरेगडा गाविसकी एक हिंसापीडित महिलालाई रु १० हजार सहयोग प्रदान गरिएको छ । बलात्कारको घटनापछि केही दिनअघि बच्चा जन्माएर अलपत्र परेकी उनलाई महिला विकास कार्यालयले रु १० हजार नगद दिएर उद्धार गरेको हो ।
महिला विकास कार्यालयकी नासु बिस्ना भण्डारीसहित चार जनाको टोलीले पीडित महिलालाई गाउँमै गएर हिंसा निवारण कोषबाट रु १० हजार उपलब्ध गराउँदै उनलाई महिला विकास कार्यालयको महिला सेवा केन्द्रमा राख्न पाटन ल्याएको छ ।

लोग्नेले छोडेपछि बलात्कारको सिकार भएकी उनले गर्भावस्थामा कहिले गोठ त कहिले सार्वजनिक ठाउँमै जीवन बिताउँदै आएकी थिइन् । यस अवधिमा उनको मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीय जनताले बताएका छन् । केही दिनअघि बच्चा जन्माएपछि उनलाई स्थानीय प्रहरी र उपस्वास्थ्य चौकीको सहयोगमा आश्रय दिइँदै आएको थियो ।
महिलाले चार÷पाँच जना पुरुषले आफूमाथि बलात्कार गरेको प्रहरीलाई बताएकी छन् । बैतडीका प्रहरी नायब उपरीक्षक होमनाथ निरौलाका अनुसार उनले धेरै जनाको नाम लिइरहेको र उजुरीसमेत नपरेका कारण प्रहरीले कुनै कदम चाल्न नसकेको बताउनुभयो । रासस