साउदीमा मृत्यु भएका युवाको ६ महिना बित्दासम्म शव नेपाल आएन

१९ फागुन, प्युठान । साउदीमा मृत्यु भएका प्युठानका एक युवाको छ महिना बित्न लाग्दासमेत शव नेपाल ल्याइएको छैन ।
अर्खा-४ निवासी खिमे सुनार चन्द्रमा ओभरसिज काठमाडौबाट चाइनिज कम्पनीमा कामका लागि जानुभएको थियो । गाउँबाट पैसा कमाउन भनी जानुभएका ३२ वर्षीय सुनारको गएको भदौ २२ गते मृत्यु भएको खबर घर परिवारले पाएका थिए ।
पैसा कमाउने रहरमा विदेश गएको छोरोको मृत्यु भएको खबरले चिन्तामा परेका परिवारको आँखा अझै ओभाएको छैन । तिजको अघिल्लो दिन मृत्यु भएको जानकारी पाएका उनीहरुले त्यसपछि दिन आँसु झारेरै बिताएका छन् । ‘धन कमाउन गएका श्रीमान्को पैसा त आएन नै’, उनकी श्रीमती अमृताले भनिन्, “मरेको लास पनि आज, भोलि आउलाभन्दा भन्दै छ महिना बित्नै लाग्यो ।”
सुनारको घरमा वृद्ध आमा र बुबासहित दुई छोरा र एक छोरी रहेका छन् । आर्थिकरुपमा विपन्न उहाँहरुको परिवार मृत्यु भएका सुनारसँगै आश्रति थियो । सुनार सुरुमा २०६५ सालमा पहिलोपटक साउदी जानुभएको थियो । त्यहाँ गएको दुई वर्षपछि ४५ दिनको बिदामा घर आएका उहाँसँगको भेट नै सुनार परिवारको अन्तिम भेट बन्न पुग्यो ।
विदेश पठाउने म्यानपावरमा गई पीडितका परिवारले सोधपुछ गर्दा बेवास्ता गरेको पीडित परिवारको दुःखेसो छ । छोरा मरेको पक्का भए पनि काजक्रिर्या गर्न नपाउँदा आफूहरु समस्यामा रहेको मृतकका बुबा ज्ञानबहादुरले बताए । रासस

,

news and entertainment